राजनीति


आज नयाँ मन्त्रीको सपथअघि अध्यक्षको कार्यविभाजन?

आज नयाँ मन्त्रीको सपथअघि अध्यक्षको कार्यविभाजन?

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १७:१०,

मन्त्रीपरिषद हेरफेरको चर्चा चलेको केही महिनापछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार चारदेखि छ जना मन्त्री हेरफेर गर्ने भएका छन्।

मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकमा ओलीले अहिलेका मन्त्रीहरूलाई धन्यवाद दिँदै भोली नयाँ मन्त्रीहरूको सपथ गराउने जानकारी दिएका हुन्।

‘सानो संख्यामा मन्त्रीहरूको हेरफेर गर्छु, सार्वजनिक कार्यक्रम नराख्नु होला’, बैठकमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक जना मन्त्रीले भने, ‘अहिलेसम्म गरेको सहयोगका लागि तपाईंहरूलाई धन्यवाद।’

प्रधानमन्त्री ओलीले बैठकमा को को मन्त्री हटाउन लागेको र को को थप्न लागेको खुलाएनन्। उनले कति जना मन्त्री हेरफेर हुन लागेको सुइँको पनि मन्त्रीहरूलाई दिएनन्।

बैठकमा हट्ने सूचीमा रहेका उद्योगमन्त्री मातृका यादव लगायतका केही मन्त्री सहभागी थिएनन्।

‘अयोग्य भएकाले मात्रै हेरफेर गर्न लागेको होइन, बाहिर रहेका सक्षम साथीहरूलाई पनि अवसर दिनुपर्छ’, ती मन्त्रीका अनुसार ओलीले यति मात्रै भने।

केही दिनअघि प्रधानमन्त्रीले आफ्नो सचिवालयका सबैलाई राजिनामा दिन लगाएको र त्यही शैलीमा सबै मन्त्रीहरूलाई पनि राजिनामा दिन लगाएर मन्त्रीपरिषद हेरफेरलाई सहज बनाउन लागिएको चर्चा भएको थियो।

प्रधानमन्त्रीले यसरी सबै मन्त्रीको राजिनामा मागेर सबैलाई असक्षम सावित गर्न खोजेको भन्दै आलोचना भएको थियो। त्यसरी राजिनामा गर्न लगाए फेरि बोलाए पनि नजाने सोच केही मन्त्रीले बनाएका थिए।

मन्त्रीहरू हेरफेर गर्ने हल्ला धेरै गरेको भन्दै सार्वजनिक रुपमा प्रधानमन्त्री ओलीको आलोचना पनि हुन थालेको थियो।

मन्त्रीपरिषद हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीको भएपनि पार्टीमा अध्यक्षद्वयको कार्यविभाजन नमिल्दा सहमती जुट्न सकेको थिएन। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग प्याकेजमा सहमती जुटाउन प्रयास गरिरहेका बुझिन्थ्यो।

दुई अध्यक्षको कार्यविभाजन हुनु पर्ने र यसअघि भएको सहमती अनुसार आफुलाई पार्टीको कार्यकारी अध्यक्षको अधिकार दिएर ओलीले सरकारको नेतृत्वलाई निरन्तरता दिनुपर्ने अडान प्रचण्डले राख्दै आएका थिए।

‘कम्तिमा पछिल्लो दुई दिन अध्यक्षको कार्यविभाजनकै विषयमा छलफल हुँदा मन्त्रीपरिषद हेरफेर सर्दै आएको हो’, एक जना प्रभावशाली मन्त्रीले भने, ‘संभवतः बुधबार बिहान बस्ने पार्टीको सचिवालय बैठकमा अध्यक्षको कार्यविभाजनबारे पनि निर्णय हुनेछ।’

ती मन्त्रीका अनुसार प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाउने सुनिश्चित भएपछि मात्रै मन्त्रीपरिषद हेरफेरमा प्रधानमन्त्रीसँग सहमती जनाएका हुन्।

आठदेखि दश जना मन्त्री हेरफेर गर्ने चर्चा चल्दै आएपनि मंगलबार साँझसम्म ओलीले चारदेखि छ जना मन्त्री मात्रै हेरफेर गर्ने तयारी गरेको उच्च स्रोतहरूले जनाएका छन्। पूर्व माओवादीबाट उद्योगमन्त्री मात्रिका यादव र कृषिमन्त्री चक्रपाणि खनाल तथा पूर्व एमालेबाट महिला बालबालिका मन्त्री थममाया थापा र खेलकुदमन्त्री जगत विश्वकर्मालाई हटाउने करिब निश्चित भएको छ।

छ जना हटाउँदा अन्य दुई मन्त्री को हुन सक्छन् भन्ने सुइँको ओलीले दिएका छैनन्। न त थपिने मन्त्रीहरूको नाम नै संकेत गरेका छन्। स्रोतका अनुसार ओलीले बुधबार बिहान बस्ने भनिएको सचिवालय बैठकमा हटाउने र थप्ने मन्त्रीहरूको सूची पेश गर्नेछन्।

मन्त्रीपरिषदमा यो सानो हेरफेरसँगै केही मन्त्रीहरूको मन्त्रालय हेरफेर गर्ने तयारी पनि छ। तर गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन भने अहिलेकै मन्त्रालयमा रहने करिब निश्चित भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .