राजनीति


राप्रपासँग एकीकरणको विषयलाई लिएर साझाको केन्द्रीय समितिमा तीब्र विवाद

राप्रपासँग एकीकरणको विषयलाई लिएर साझाको केन्द्रीय समितिमा तीब्र विवाद

फाइल फाेटाे


यज्ञराज जोशी
चैत १३, २०७८ आइतबार १९:२६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)सँगको एकताको विषयलाई लिएर विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकमा तीब्र विवाद देखिएको छ। 

आइतबार बसेको विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकमा राप्रपासँगको एकता एजेन्डा नै थिएन। तर पछिल्लो समय एकीकरणबारे आइरहेका खबरहरूबारे प्रष्ट्याउन भन्दै संगठन विभाग प्रमुख निर्देश सिलवाललगायतले विरोध जनाएपछि बैठक नै अवरोध भएको थियो। 

अध्यक्ष रवीन्द्र मिश्रले एजेन्डा नै नरहेको विषयलाई औपचारिक रुपमा बहसमा ल्याउन नचाएको बताएपनि अधिकांश केन्द्रीय समिति सदस्यहरुले धेरैको चासो भएकाले उक्त विषय उपर छलफल हुनुपर्ने बताएका थिए। 

‘राप्रपासँगको एकताको आजको मिटिङको एजेन्डा नै थिएन। तर अधिकांश सदस्यहरुले यो सामयिक महत्वको विषय हो। यसलाई वारपार नै गर्नुपर्छ भन्ने बहस भयो,’ एक केन्द्रीय समिति सदस्यले भने, ‘अध्यक्षले उक्त कुरामा केही पनि कुरा नभएकाले औपचारिक रुपमा बहसमा ल्याउँदैन भन्दै एकतर्फी रुपमा निर्णय सुनाएर आकस्मिक बैठक अन्त्य गर्नुभयो।’

विवादका अध्यक्ष मिश्रले प्रदेशमा २ धनपति महतो, बागमती प्रदेशमा सन्जीवबल्लभ भट्टराई, गण्डकीमा सुशीला केसी अधिकारी र अन्तर्राष्ट्रिय सद्भाव समितिमा एसके श्रेष्ठलाई संयोजक तोक्ने निर्णय सुनाएका थिए। 

उक्त नामहरूप्रति पनि पार्टीमा चर्को विरोध हुँदै आएको थियो। संगठन विभाग प्रमुख निर्देश सिलवालले आफूले एकीकरणको कुरामा नोट अफ डिसेन्ट राख्ने तयारी गरेपनि मिश्रले आकस्मिक बैठक अन्त्य गरेका कारण नोट अफ डिसेन्ट राख्न नपाएको बताए। 

‘प्रदेशका संयोजक चुन्ने विषय लगायतमा कार्य सम्पादन समितिमा विवादित भएका कुराहरु केन्द्रीय समितिमा नलाने भनेर रोकिएको थियो। त्यस्तो कुरा पनि उहाँ(मिश्र)ले केन्द्रीय समितिमा ल्याएर आउनुभयो,’ सिलवालले भने, ‘आज उपस्थित भएका बहुमत केन्द्रीय सदस्यहरुको आपत्ति हुँदाहुँदै एकलौटी रुपमा निर्णय गर्नुभएको छ।’ 

केन्द्रीय सदस्यहरु गेहेन्द्र दाहाल, सन्जीवबल्लभ भट्टराई, निर्देष सिलवा, प्रदीप थापा, रमण सुवेदी, जमुना शर्मा, भीम अधिकारी, एसपी शाह सारथी, अमलेश कर्णलगायतले राप्रपासँगको एकीकरणबारे प्रष्टाउनुपर्ने माग राखेका थिए। 

अध्यक्ष मिश्रले विवाद बढ्दै गएपछि बैठक आकस्मिक अन्त्य गरेपछि विरोध जनाउनेहरूले हस्ताक्षर संकलन अभियान समेत थालेका छन्। राप्रपासँग एकता गर्ने विपक्षमा रहेका केन्द्रीय सदस्यहरुले हस्ताक्षर अभियान समेत थालेका छन्। 

‘केन्द्रीय समितिमा राप्रपासँग एकीकरण गर्नुहुँदैन भन्नेमा बहुमत छ। पार्टी लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध छ भन्नेमा हामी प्रष्ट छौं,’ सिलवालले थपे, ‘तर अध्यक्षले त्यतैतिर (राप्रपासँग एकीकरण) जान लागेको संकेत गरिरहनुभएको छ। त्यो अनुकूलको निर्णयहरु गरिरहनुभएको छ। त्यसमा बहुमतको आपत्ति हुँदाहुँदै उहाँले आफूले बोलेर बैठक अन्त्य गरिदिनुभयो।’

यस्ता छन् आइतबारकाे केन्द्रीय समितिका निर्णयहरु:

१. केन्द्रीय कार्यसम्पादन समितिको पुस २१ गते बसेको १३ औँ बैठकले तीनवटा प्रदेश र विदेशमा संयोजक चयनबारे गरेको निर्णय विधानको धारा २२.३.१ अनुसार केन्द्रीय समितिलाई "जानकारी" गराउँदै कार्यान्वयनमा गएको छ। सो निर्णय अनुसार, प्रदेश नं २ को संयोजकमा धनपति महतो, बागमती प्रदेशमा सञ्जीव वल्लभ भट्टराई, गण्डकी प्रदेशमा सुशीला अधिकारी केसी र सद्भाव समूहहरूको अन्तर्राष्ट्रिय समितिको संयोजकमा एसके श्रेष्ठलाई चयन गरिएकाे छ।

२. पार्टीको महाधिवेशन स्थानीय चुनावपछि गर्ने निर्णय गरियो।

३. केन्द्रीय कार्य सम्पादन समितिले गरेको २६ जना केन्द्रीय समितिका सदस्यहरूको जिम्मेवारी परिवर्तन, र दुईजना केन्द्रीय सदस्य (गोपी हमाल र शान्ति ढुंगाना) को राजीनामा स्वीकृतीबारे जानकारी गराइयो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .