राजनीति


विवेकशील साझामा उथलपुथल : रवीन्द्र मिश्रलाई अध्यक्षबाट हटाउने प्रक्रिया सुरु

निर्वाचन आयोग पुग्यो असन्तुष्ट समूह
विवेकशील साझामा उथलपुथल : रवीन्द्र मिश्रलाई अध्यक्षबाट हटाउने प्रक्रिया सुरु

यज्ञराज जोशी
चैत १४, २०७८ सोमबार १४:४१, काठमाडौँ

विवेकशील साझा पार्टीका असन्तुष्ट केन्द्रीय सदस्यहरुले अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएका छन्। ​

त्यसका लागि आज बिहान बसेको असन्तुष्ट समूहको बैठकले अध्यक्ष मिश्रलाई स्पष्टीकरण माग्ने निर्णय गरेको छ।

असन्तुष्ट समुहको नेतृत्व गरिरहेका संगठन विभाग प्रमुख निर्देश सिलवालले ९० भन्दा बढी सदस्य मिश्रलाई स्पष्टीकरण माग्नुपर्ने पक्षमा रहेकाे दाबी गरे। 

‘हामीले बोलाएको बैठकमा ९० जनाभन्दा बढीको उपस्थित थियो। ४० जना भौतिक र ५० जना अनलाइनमार्फत जोडिनुभएको थियो,’ बैठकपछि साेमबार दिउँसाे सिलवालले नेपालखबरसँग भने, ‘बैठकले आइतबार रवीन्द्र मिश्रले एकलौटी ढंगबाट गरेको निर्णय खारेज गर्ने र उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।’

यो पनि: साझाको असन्तुष्ट पक्षले रवीन्द्र मिश्रलाई सोध्यो स्पष्टीकरण, बैठकको अध्यक्षता गर्न रोक

असन्तुष्ट समूहको बैठकको निर्णय लिएर सिलवालसहितको टोली अहिले निर्वाचन आयोग पुगेको छ। निर्वाचन आयोगमा उनीहरुले आफूहरुले पार्टीको आधिकारिक केन्द्रीय कमिटीबाट उक्त निर्णय गरेकाले सदर गरिदिन माग गरेका छन्। 

आइतबार भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पार्टी एकता गर्ने कुराे स्पष्ट नपारेको र प्रदेशका संयोजकहरु एकलौटी रुपमा तोकेको भन्दै अधिकतर केन्द्रीय सदस्यले विरोध गरेका थिए। 

त्यसैको प्रतिक्रियास्वरुप उनीहरुकाे समूहले सोमबार बिहान छुट्टै बैठक राखेको हाे। १५३ केन्द्रीय सदस्यमध्ये ९० जनाभन्दा बढी मिश्रका विपक्षमा उभिएको उनीहरुको दाबी छ। 

विवादका बीच आइतबार केन्द्रीय समितिको बैठकमा अध्यक्ष मिश्रले प्रदेश २ मा धनपति महतो, बागमती प्रदेशमा सञ्जीवल्लभ भट्टराई, गण्डकीमा सुशीला केसी अधिकारी र अन्तर्राष्ट्रिय सद्भाव समितिमा एसके श्रेष्ठलाई संयोजक तोक्ने निर्णय सुनाएका थिए। उक्त नामहरुप्रति नै अधिकतर केन्द्रीय सदस्यकाे असहमति छ। 

आइतबार केन्द्रीय समितिकाे बैठकमा सदस्यहरु गेहेन्द्र दाहाल, सञ्जीववल्लभ भट्टराई, निर्देश सिलवाल, प्रदीप थापा, रमण सुवेदी, जमुना शर्मा, भीम अधिकारी, एसपी शाह सारथी, अमलेश कर्णलगायतले राप्रपासँग पार्टी एकीकरण गर्ने भन्ने कुरा प्रस्ट्याउनुपर्ने माग राखेर अवरोधसमेत गरेका थिए। 

तर अध्यक्ष मिश्रले याे बैठककाे एजेन्डा नै नभएको भन्दै उक्त विषयलाई पन्छाएर प्रदेश संयोजकहरु तोक्दै आकस्मिक रुपमा बैठक अन्त्य गरेका थिए। मिश्रले स्वेच्छाचारी रुपमा निर्णय गरेको भन्दै असन्तुष्ट सदस्यहरु कारबाहीको माग गर्दै निर्वाचन आयोग पुगेका हुन्। 

बागमती प्रदेश संयोजकमा नवनियुक्त सञ्जीववल्लभ भट्टराईले मिश्रलाई पदच्युत गराइने दाबी गरे। 

‘अध्यक्षज्यूको मनोमानी र राप्रपासँग एकीकरणको विषयलाई लिएर लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धता जाहेर नभएपछिको नयाँ परिघटना हो’, नेपालखबरसँग उनले भने, ‘अध्यक्षको स्वेच्छाचारिताविरुद्ध सबैजना उपस्थित गराएपछि अध्यक्षलाई पदच्युत गराउने नै कुरा हुन्छ।’

सञ्जीवले रवीन्द्र मिश्रले गरेको नियुक्तिलाई अस्वीकार गरिसकेका छन। यस्तै मिश्रको व्यवहारप्रति असहमति जनाउँदै प्रदेश १ का तारा काफ्लेले पनि राजीनामा दिएका छन्।

विवेकशील साझा पार्टीका प्रदेश सांसदसमेत रहेका विराजभक्त श्रेष्ठले अध्यक्ष मिश्रलाई सुरुमा स्पष्टीकरण मागिने र चित्तबुझ्दाे जवाफ नआए उनलाई अध्यक्षबाट बर्खास्त गर्ने बाटोमा अघि बढ्ने बताए। 

‘सुरुमा स्पष्टीकरण सोध्ने हुन्छ। त्यसपछिको अर्को स्टेप पदच्युत हो’, श्रेष्ठले भने, ‘अहिले साथीहरुले निर्वाचन आयोगका आयुक्तहरुसँग छलफल गरिरहनुभएको छ। उक्त छलफलपछि कसरी अगाडि बढ्ने निश्चित हुनेछ।’

मिश्रले तत्कालिन संयोजक मिलन पाण्डे समूहका २६ जना सदस्यहरुलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको विषयमा पनि यस समूहले असन्तुष्टि जाहेर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .