राजनीति


काठमाडौं महानगर : केशव स्थापितलाई ओलीको ‘ग्रिन सिग्नल’

काठमाडौं महानगर : केशव स्थापितलाई ओलीको ‘ग्रिन सिग्नल’

काठमाडौँ महानगरको मेयरको टिकटमा एमाले अध्यक्ष केपी ओलीले ‘ग्रिन सिग्नल’ दिएपछि केव स्थापित तयारीमा जुटेका छन् (तस्बिरः विजय सिंह)


यज्ञराज जोशी
चैत १८, २०७८ शुक्रबार ८:३०, काठमाडौँ

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयर पदमा केशव स्थापितलाई उठाउने गरी छलफल थालेको छ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि स्थापितलाई मेयरको टिकटका लागि ग्रिन सिग्नल दिएको दाबी उनीनिकटहरुले गरेका छन्। 

एमालेले आगामी दुई साताभित्र मेयरको उम्मेदवार टुंग्याउने छ। काठमाडौं महानगरमा एमालेबाट आफूले मेयरको टिकट पाउने निश्चित जस्तै भएको बिफ्रिङ स्थापितले आफूनिकटहरुलाई गरेका छन् 

‘उम्मेदवार पक्का नभई बाहिर कराउँदै हिँड्नुभएन। तर टिकट लगभग मिल्ने जस्तै छ,’ स्थापितको भनाई उद्धृत गर्दै उनका एक निकट नेताले नेपालखबरलाई भने, ‘बीचमा परिस्थिति नबिग्रिए उहाँ मेयरमा उठ्ने सम्भावना बलियो भएको छ।’

काठमाडौंका पूर्व मेयर समेत रहेका स्थापितले अघिल्लो चुनावमा पनि आकांक्षा व्यक्त गरेका थिए। तर २०७४ मा उनले विद्यासुन्दर शाक्यलाई काँध हाले। त्यसबेला ओली उनको पक्षमा थिएनन्।

अहिले बागमती प्रदेशसभा सदस्य रहेका उनी मन्त्री समेत भए। उनलाई एमालेले केन्द्रीय कमिटी सदस्य बनाएको छ। अहिलेका मेयर शाक्यले नै फेरि दोहोरिन खोजेपनि  उनले चुनाव जित्न कठिन रहेको आकलन ओलीले पनि गरिसकेकाले स्थापितको पल्ला भारी हुँदै गएको हो। 

वर्तमान मेयर शाक्यको छवि काठमाडौंको भित्री भागमा राम्रो भए पनि आमजनमानसले देख्ने काम नगरेको भन्दै आलोचना भएको छ। आफैंले तयार पारेर दिएका १०१ बुँदा कार्यान्वयनमा असफल भएका शाक्यले जित्न नसक्ने भन्दै स्थापितले ओलीलाई कन्भिन्स गरेका हुन्।

‘मेयर शाक्यले भित्री शहरका गुठीहरूमा सहयोग गरेको दाबी गर्छन्। तर भित्री शहरका ७० हजार भोटरमध्ये १५ हजारभन्दा बढी बाहिर छन्,’ स्थापित निकट ती नेताले भने, ‘बाँकी ५५ हजारमध्ये ४० हजार खस्दा एमालेले ५० प्रतिशतमात्रै ल्याए पनि २५ हजार भोट आउँछ। तर त्यो मात्रै जितका लागि पर्याप्त छैन।’

बाहिरी शहरको २६ नम्बर वडाबाट ३० हजार भोट हुँदा कांग्रेसकै धेरै आयो। वडा नम्बर १६ र १० मा पनि शाक्यले भोट ल्याउन नसकेको भन्दै स्थापितले ओलीलाई कन्भिन्स गरेका हुन्।

ओली अध्यक्ष हुँदा स्थापित महासचिव थिए 
ओली ०४७ सालमा एमालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष रहेका बेला स्थापित महासचिव थिए। ओलीपछि स्थापित नै युवा संघको दोस्रो अध्यक्ष बनेका थिए। 

युवासंघको अध्यक्ष भएकै बेला ०५१ सालमा उनी राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव बने। सदस्यसचिव भएका बेला खेलकुद पूर्वाधार विकासमा भूमिका खेलेको भन्दै अहिले पनि उनलाई स्मरण गर्ने गरिन्छ। 

खेलकुदबाट राम्रो छवि बनाउनुको फाइदा स्थापितलाई २०५४ सालमा भयो। त्यसबेला भएको स्थानीय निर्वाचनमा उनले मेयरको टिकट पाए र निर्वाचित भए। 

स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’ भन्ने नारा ल्याएका थिए। उनी मेयर भएकै बेला पशुपति क्षेत्र, माइतीघर, तीनकुने जस्ता ठाउँका अव्यवस्थित घर–टहरा भत्काइयो। ती ठाउँलाई सर्वसाधारणका लागि खुला क्षेत्र बनाएपछि उनी ‘विकास प्रेमी’ मेयरका रुपमा चिनिन थाले। यस्तै उनले कालिमाटी–कुलेश्वर सडकखण्ड विस्तारमा पनि अग्रसरता देखाए।

राजा ज्ञानेन्द्रले मनोनित गरेका मेयर
मेयरबाट राजनीतिक छवि स्थापित गरेका स्थापितले त्यसयता पटक पटक राजनीतिक धार परिवर्तन गरे। सयही क्रममा कुनै बेला राजावादी कित्तामा पनि पुगे। तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६० सालमा स्थापितलाई काठमाडौं महानगरपालिकाको मेयरमा मनोनित गरेका थिए। त्यसबेला सूर्यबहादुर थापा प्रधानमन्त्री थिए। 

तर माओवादीसँग साँठगाँठ गरेको आरोपमा उनलाई मेयरबाट हटाइयो। लगत्तै उनले प्रजा परिषद पार्टीको पुनर्गठन गरे। पछि बाबुराम भट्टराईले आफू प्रधानमन्त्री भएका बेला स्थापितलाई काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख बनाए। तर अपेक्षित काम नगरेको भन्दै उनलाई बर्खास्त गरियो।

२०७० सालको चुनावमा उनले काठमाडौं ६ बाट टिकटको अपेक्षा राखेका थिए। तर, योगेश भट्टराई उठेपछि उनी संघीय समाजवादी फोरमबाट उम्मेदवार बने। र, भट्टराईलाई चुनाव हराउन भूमिका खेले।

विद्यासुन्दरलाई काँधमा बोके, पछि शून्य नम्बर दिए  
अनेक राजनीति फेरबदलबीच ओलीले स्थापितलाई एमालेमा फर्काउँदै २०७४ मै काठमाडौंको मेयरमा उठाउन चाहेका थिए। तर, काठमाडौं एमालेका तत्कालीन अध्यक्षलगायत नेताहरुले विरोध गरेपछि ओली पछि हटे।

मेयर नबने पनि स्थापित काठमाडौं प्रदेश ३ मा टिकट लिएर चुनाव लडे, जिते पनि। त्यसपछि स्थापित बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री भए। तर मुख्यमन्त्री डोरमणि पौडेलसँग भनाभन र विवाद बढेपछि बर्खास्तीमा परे।

स्थापितले अघिल्लो निर्वाचनमा मेयरमा आकांक्षा राखे पनि पार्टीले शाक्यलाई सहयोग गर्न भनेपछि आफू पछि हटेको उनको भनाइ छ। यसपटक पार्टीले जिम्मेवारी दिए आफू तयार रहेको उनले बताएका छन्।

‘पहिलेको निर्वाचनमा पनि अन्तिमसम्म आकांक्षा राखेको थिएँ। पार्टीले अर्को जिम्मेवारी लिनुपर्छ भनेपछि मैले विद्यासुन्दरलाई काँधमा बोकेको हो,’ स्थापितले भने, ‘पार्टीले अवसर नै अवसर दिएको मान्छे, यसपालि पनि भनेमा म उम्मेदवार हो।’

उनले आफू अहिले परामर्शमै रहेको बताए।

‘मान्छेहरुले मलाई अहिलेसम्म किन दाबी नगरेको भन्छन्। यसबीच मैले सयौं समूहसँग छलफल गरेको छु’, उनले भने, ‘उदास, स्थापित, मानन्धर, ओमकार समाज, गाँजा अभियान, सामाजिक समूहसँग छलफल गर्दै उनीहरुको आकांक्षा बुझिरहेको छु।’ 

अहिलेका मेयर विद्यासुन्दरले सार्वजनिक गरेको घोषणापत्रका १०१ बुँदाको ड्राफ्ट समेत आफूले गरेको उनी बताउँछन्। 

तर उक्त घोषणापत्र अनुसार शाक्य उभिन नसकेको आरोप उनले सार्वजनिक रुपमै लगाउँदै आएका छन। एकपटक उनले शाक्यलाई सयमा शून्य नम्बर दिने बताएका थिए। 

‘मैले विद्याजीलाई कार्यशैली फेर्नुपर्छ भनेको हो। मैले पिनले घोचेपछि झल्याँस्स ब्यूँझिएर गतिविधि देखाऊन् भनेर भनेको हो,’ उनी भन्छन्, ‘जनताका कयौँ आग्रह र अपेक्षा छन्। अहिलेसम्म सभा–सम्मेलनमा जाँदा मेयरले केही नगरेको प्रतिक्रिया आइरहेका छन्। मेरो भोगाइ अनुसार त्यसलाई जिम्मेवार भएर महसुस गर्नुस् भनेको हो मैले।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .