बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानी एलिजाबेथ द्वितियसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्।
बेलायती राष्ट्रपतीको निवास तथा कार्यालय रहेको बकिङ्घम प्यालेसमा आयोजित समारोहमा राजदूत आचार्यले ओहदाको प्रमाणपत्र पेस गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।
ओहदाको प्रमाणपत्र पेस गरेपछि आचार्यले महारानीसमक्ष संक्षिप्त कुराकानी गरे।
त्यस क्रममा बेलायती महारानीले आफूले गरेका दुई पटकका ऐतिहासिक भ्रमण स्मरण गरिन्। उनले नेपाल र बेलायतबीच मित्रतापूर्ण तथा दुवैलाई सन्तोष हुने सम्बन्ध विकास हुन सकेको भन्दै खुसी व्यक्त गरिन्।
राजदूत आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले महरानीको सुस्वास्थ्य र खुसी तथा बेलायती जनताको समद्धि र प्रगतिको कामना गर्दै पठाएको सन्देश सुनाए। महारानीले आचार्यको सफल कार्यकालको कामना पनि गरिन्।
राजदूत आचार्यले नेपाल र बेलायतबीच सम्बन्ध विस्तार गर्न आफूले सक्दो प्रयास गर्ने बताए। उनले बेलायतले नेपालको सामाजिक तथा आर्थिक विकास एवं कोरोना महमारीका बेला दिएको सहयोगका लागि धन्यवाद दिए।
भिडिओ लिंकका माध्यमबाट आचार्यले बेलायती महारानीलाई ओहदाको प्रमाणपत्र बुझाएका हुन्।
Shares
प्रतिक्रिया