ad ad

राजनीति


सत्ता गठबन्धन : धमाधम तालमेल निर्णय, १५ जिल्लामा पुग्यो संयुक्त संयन्त्र

सत्ता गठबन्धन : धमाधम तालमेल निर्णय, १५ जिल्लामा पुग्यो संयुक्त संयन्त्र

फाइल तस्बिर


केशव सावद
चैत २२, २०७८ मंगलबार १७:२९, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनका दलहरुले आसन्न स्थानीय तह निर्वाचनका लागि अहिलेसम्म विभिन्न १५ जिल्लामा तालमेल निर्णय गरेका छन्।

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि अहिलेसम्म विभिन्न १५ जिल्लाहरुमा तालमेल निर्णय भएको हो।

गठबन्धन दलका जिल्ला नेतृत्वहरुको बैठकको सहमतिअनुसार ललितपुर, भक्तपुर, चितवन, कास्की, तनहुँ, सिन्धुपाल्चोक, बागलुङ, अर्घाखाँची, उदयपुर, रोल्पा, धनकुटा, तेह्रथुम, कञ्चनपुर, अछाम र लमजुङमा तालमेल हुने निश्चित भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला चितवनका पाँच राजनीतिक दलहरुले सातवटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। 

कांग्रेसको नेतृत्वमा सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठकले जिल्लाका सातै स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेलबारे निर्णय गरेको हो। 

कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘गठबन्धन सहभागी दलहरुबीच गठबन्धनको मर्म र भावनाअनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरियो।’ 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा सत्ता गठबन्धनमा रहेका चार दलले चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन्। 

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले केन्द्रमा रहेको सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि गरेको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेका हुन्।

वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय गरिएको कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले जानकारी दिए। 

‘संघीयता, लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन र संस्थागत रुपमा अघि बढाउन तालमेल गरेर जाने निर्णय गरेका छौँ,’ उनले नेपालखबरसँग भने। 

प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता भीम रावलको गृहजिल्ला अछाममा पनि कांग्रेस र माओवादीसहितका तीन दलले गठबन्धन गर्ने निर्णय गरेका छन्। 

आइतवार बसेको कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरुको संयुक्त बैठकले सबै स्थानीय तहमा गठबन्धन गरेर जाने निर्णय गरेको हो। 

‘केन्द्रीय गठबन्धनलाई आत्मसाथ गर्दै आगामी स्थानीय तह निर्वाचनमा १० वटै स्थानीय तह र ९१ वटै वडाहरूमा गठबन्धन अघि बढाउन हामी सहमत छौ,ँ’ उनीहरुले भनेका छन्, ‘स्थानीय तहका कमिटी र कार्यसमितिलाई गठबन्धनको मम र भावना अनुसार अघि बढ्न हामी सार्वजनिक अनुरोध गर्दछौँ।’

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले बागलुङमा पनि मिलेर जाने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति जीत शेरचनले जानकारी दिए।
माओवादी केन्द्रको सबैभन्दा बलियो पकड मानिने रोल्पामा पनि पाँच दलीय गठबन्धन सक्रिय भएको छ। 

गत आइतवार माओवादी केन्द्रका अध्यक्ष सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा कांग्रेस रोल्पाको कार्यालयमा बसेको बैठकले केन्द्रीय संयन्त्रको निर्णयलाई स्वागत गर्दै पालिकास्तरमा पनि त्यही अनुसार संयन्त्र बनाई तोकिए कार्य गर्न निर्देशन गरेको छ।  

कञ्चनपुरमा सोमबार कांग्रेसको पार्टी कार्यालयमा बसेको कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको बैठकले निर्वाचनमा सहकार्य गर्ने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए।

बैठकमा पाँच दलबीच गठबन्धन गरेर जाने केन्द्रको निर्णयलाई स्वागत गर्दै कञ्चनपुरमा पनि निर्वाचनमा सहकार्य गर्ने निर्णय गरिएको अध्यक्ष कार्कीले बताए।

पाल्पाका चार दलले स्थानीय तह निर्वाचनमा जिल्लाका ८ वटै पालिका र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेका छन्। 

चुनावी तालमेलबारे जानकारी दिन मंगलबार जारी प्रेस विज्ञप्तिमा गठबन्धन दलहरूका बीचमा गठबन्धनको मर्म र भावनाविपरीत आरोप–प्रत्यारोप नगर्न, सामाजिक सञ्जाललगायतका सञ्चार माध्यमबाट गालीगलौज नगर्न आ–आफ्ना दलका नेता–कार्यकर्तालाई अपिल गर्ने निर्णय गरिएको उल्लेख छ। 

चार दलले आपसी सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा निर्वाचनमा सहभागी हुन पनि निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .