ad ad

राजनीति


सुदूरपश्चिममा सत्ता गठबन्धनविरुद्ध विप्लव र दुई राप्रपाको साथ खोज्दै एमाले

कार्यदल नै बनाएर संवाद थालियो
सुदूरपश्चिममा सत्ता गठबन्धनविरुद्ध विप्लव र दुई राप्रपाको साथ खोज्दै एमाले

फाइल तस्बिर


केशव सावद
चैत २३, २०७८ बुधबार १९:०, काठमाडौँ

सत्ता गठबन्धनले चुनावी तालमेल गरेर स्थानीय तह निर्वाचनमा जाने तयारी गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले सुदूरपश्चिममा राप्रपा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साथ खोजिरहेको छ।

पाँच दलीय गठबन्धनले सरकारमा रहेका साझेदारबाहेक दलहरूसँगको चुनावी तालमेलको ढोका बन्द गरेपछि एमालेले सुदूरपश्चिममा राप्रपा र विप्लव नेतृत्वको नेकपासँग चुनावी गठबन्धन पहल गरिरहेको छ। 

एमालेले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेर राप्रपा र विप्लव नेतृत्वको नेकपाको साथ खोजिरहेको छ। 

भण्डारी संयोजकत्वको कार्यदलमा उपाध्यक्ष कमल तिमल्सिना, सचिव धर्मराज पाठक र उपसचिवद्वय बलदेव रेग्मी तथा भागरथी विष्ट सदस्य छन्। 

केही दिनअघि सुदूरपश्चिमको अस्थायी सदरमुकाम धनगढीमा सम्पन्न एमालेको प्रदेश कमिटी बैठकले भण्डारीको संयोजकत्वमा चुनावी गठबन्धनका लागि कार्यदल गठन गरेको थियो। 

उक्त कार्यदलले सोमबार मात्रै विप्लव नेतृत्वको नेकपासँग गठबन्धनका विषयमा छलफल गरेको छ। कार्यदलले नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनसहितका नेताहरुसँग चुनावी गठबन्धनका बारेमा छलफल गरेको हो। 

नेता पुनले नेपालखबरसँगको टेलिफोन कुराकानीमा एमालेको प्रदेश कमिटी नेतृत्व आफूहरुसँग सहकार्यको प्रस्ताव लिएर छलफलमा आएको प्रतिक्रिया दिए।

‘चुनावमा जानेबारे हाम्रो धारणा सोध्नुभयो। सहकार्य गरौँ भनेर प्रस्ताव राख्नुभयो,’ उनले भने, ‘सुदूरपश्चिमको राजनीतिका बारेमा पनि हामीबीच छलफल भयो।’

नेकपाले जनमत संग्रह, वैज्ञानिक समाजवाद र प्रगतिशील संयुक्त सरकारको पक्षमा जनमत सिर्जना गर्ने, एमसीसी र दलाल पूँजीवादका विरुद्ध भण्डाफोर अभियान चलाउने, अमेरिकी सहायता परियोजना एमसीसीका पक्षधरलाई ‘नो भोट’ का लागि जनतासँग अपिल गर्ने र जनपक्षीय तथा प्रगतिशील उम्मेदवारलाई सहयोग गर्ने नीति अवलम्बन गर्ने पुनले बताए।

उनले गत सोमबार नै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले गठन गरेको कार्यदलसँग भएको छलफलको तस्बिर साझा गरेका थिए। 

एमाले र विप्लव नेतृत्वको नेकपा नेताहरुबीच भएको वार्ताका सहभागीहरु

‘समसामयिक राजनीति र आगामी स्थानीय चुनावको बारेमा नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश कमिटीबीच पहिलो चरणको छलफल धनगढीमा सम्पन्न भयो,’ भेटवार्तापछि पुनले लेखका छन्, ‘छलफलमा सौहार्दपूर्ण रुपले एक–अर्काबीच विचार आदान–प्रदान गर्ने काम भयो।’

एमालेका नेताहरूसँगको भेटमा सहभागी नेकपा बझाङका इन्चार्ज विष्णु उपाध्यायले पनि स्थानीय तह निर्वाचनलगायतका विषयमा छलफल भएको जानकारी दिए। 

‘त्यस्तो खासै होइन, समसामयिक राजनीतिक विषयमा छलफल भएको हो,’ उनले नेपालखबरसँग भने, ‘चुनावमा सकभर सघाउनुस् भन्ने प्रस्ताव उहाँहरुको थियो।’

एमाले सुदूरपश्चिमका सचिव पाठकले प्रदेश कमिटीले गठन गरेको कार्यदलले विप्लव नेतृत्वको नेकपासँग छलफल गरेको बताए। 

‘छलफलले आकार ग्रहण गरिसकेको छैन,’ उनले नेपालखबरसँग भने, ‘सहमति भएर निष्कर्षमा पुगिसकेका छैनौँ।’

प्रदेश कमिटी सचिव पाठकले सत्तारुढ पाँच दलीय गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा दिँदै एमालेको नेतृत्वमा प्रगतिशील देशभक्तहरूको गठबन्धन आवश्यक रहेको पनि बताए। 

आफ्नै क्षमतामा एक्लै जनताको विश्वास र माया लिएर स्थानीय तह निर्वाचन लड्ने एमालेको केन्द्रीय कमिटी बैठकले ‘पोलिसी’ तय गरेको भन्दै उनले भने, ‘तर, प्रदेश, जिल्लालगायतका तल्ला कमिटीहरुले मुद्दा, एजेन्डा मिल्ने दलहरूसँग आवश्यकताअनुसार सहकार्य, तालमेल गर्ने भनिएको छ। अपवित्र गठबन्धनविरुद्ध गठबन्धन बनाउने बाटो खुला छ।’ 

उनले सत्ता गठबन्धनमा नरहेका अन्य दलहरूसँग चुनावी सहकार्यका लागि आफूहरुले छलफल गर्ने पनि बताए। 

‘हामी अन्य दलहरूसँग पनि विस्तारै छलफल गर्छौँ,’ सचिव पाठकले भने, ‘एमालेको नेतृत्वमा प्रगतिशील देशभक्तहरूको गठबन्धन हुन जरुरी छ।’

राप्रपाका केन्द्रीय सदस्य पूर्णबहादुर चन्दले भने एमालेसँग पार्टीको आधिकारिक रुपमा चुनावी गठबन्धनबारे छलफल नचलेको प्रतिक्रिया दिए। 

‘आधिकारिक रुपमा कुनै पनि दलसँग यसबारे छलफल सुरु भइसकेको छैन,’ चुनावी अभियानका क्रममा बैतडीमा रहेका चन्दले भने, ‘केन्द्रले आवश्यकता देखिए गठबन्धन गर्न सक्ने अधिकार तलका समितिहरुलाई दिएको छ।’  

उनले पूर्व अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला बैतडीमा राप्रपा चुनावी गठबन्धन नगरेरै स्थानीय तह निर्वाचनमा जानेसमेत बताए। 

‘बैतडीमा जे जस्तो भए पनि सिंगल नै लड्न पर्ने भन्ने छ,’ केन्द्रीय सदस्य चन्दले भने, ‘यहाँ हामी एक्लै लड्छौँ।’

एमाले विभाजनको सबैभन्दा बढी असर सुदूरपश्चिममा परेको छ। एमाले विभाजनपछि प्रदेशसभाका २५ मध्ये १४ जना प्रदेश सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन्। 

एमाले सुदूरपश्चिममा राप्रपा, विप्लव नेतृत्वको नेकपालगायतका दलहरूसँग चुनावी गठबन्धन गरेर पार्टी विभाजनको क्षतिपूर्ति गर्न चाहिरहेको छ। तर, प्रदेश कमिटी सचिव पाठक एमाले सुदूरपश्चिममा कमजोर नभएको दाबी गर्छन।

उनले ‘समृद्ध सुदूरपश्चिमको आधार, तीनै तहमा एमालेको सरकार’ भन्ने चुनावी नारा तय गरेर एमाले एक्लै चुनावमा जाने पनि जिकिर गरे। 

‘आफ्नै पहलमा तीनवटै तहमा एमाले नेतृत्वको सरकार गठन गर्न सक्षम छौँ,’ पाठकले भने, ‘समृद्ध सुदूरपश्चिमको आधार, तीनै तहमा एमालेको सरकार’ चुनावी नारा तय गरेका छौँ। एमाले एक्लै पनि चुनावमा जान्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .