ad ad

राजनीति


देउवाकै गृहप्रदेशमा चुनावी तालमेलको विपक्षमा कांग्रेस

भागबण्डा नहुँदै धमाधम उम्मेदवार घोषणा
देउवाकै गृहप्रदेशमा चुनावी तालमेलको विपक्षमा कांग्रेस

फाइल तस्बिर


गोकुल जोशी
चैत २४, २०७८ बिहिबार १६:४६, कञ्चनपुर

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेशमै सत्ता गठबन्धनको चुनावी तालमेल पेचिलो बनेको छ। 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले स्थानीय आवश्यकअनुसार सत्ता साझेदार दलहरूसँग चुनावी गठबन्धन गर्ने निर्णय गरेको थियो। 

तर, सुदूरपश्चिममा कांग्रेसका स्थानीय कार्यसमिति नै तालमेलको विपक्षमा देखिएका छन्। 

अन्यत्र केन्द्रको निर्णयका आधारमा कांग्रेसका जिल्ला कार्य समितिले सत्ता गठबन्धनका दलहरूसँग छलफल गर्दै चुनावी तालमेलको निर्णय गरिरहेका छन्। तर नेपाली कांग्रेसको तल्लो संरचना तालमेलको विपक्ष उभिएका छन्।

जिल्ला कार्य समितिका चुनावी तालमेलको निर्णय विपक्षमा उभिँदै  कतिपय ठाउँमा कांग्रेसका पालिका समितिले एक्लै चुनाव लड्ने बताइरहेका छन्। चुनावी तालमेलको भागबण्डा नमिल्दै कतिपय ठाउँमा कांग्रेसमा उम्मेदवार टुंगो गर्न थालेका छन्। 

दुई नगरपालिका र ५ वटा गाउँपालिकासहित ७ वटा स्थानीय तह रहेको देउवाको गृहजिल्ला डडेल्धुरामा गठबन्धनलाई नमान्ने अभिव्यक्ति मात्रै होइन, उम्मेदवार नै टुङ्गो लगाइएको छ।

चुनावी गठबन्धन नमान्ने अडानसहित अजयमेरु–२ का अध्यक्ष शिवराज भट्ट भन्छन्, ‘कांग्रेस एक्लै लडेर जित्छ, गठबन्धन गर्नु हुँदैन।’

डडेलधुराको अजयमेरु गाउँपालिका–२ मा कांग्रेसले वडाध्यक्षका लागि सर्वसम्मत उम्मेदवार चयन गरेको छ। यसअघि डडेलधुरामा बसेको सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल निर्णय लिएको थियो। 

५२ वडा रहेको डडेल्धुरामा २०७४ सालको चुनावमा नेकपा एमालेले १९, नेपाली कांग्रेसले १७ र माओवादी केन्द्रले १६ वडा जितेका थिए।

चुनावी गठबन्धनको छलफलबीच बैतडीको दोगडाकेदार गाउँपालिकामा कांग्रेसले देवराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पुर्चौडी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रले विक्रम कुँवर ‘प्रतीक’ र कांग्रेसले दीपक बहादुर बमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

सुदूरपश्चिमको राजधानी जिल्ला कैलालीमा पनि कांग्रेस नेताहरु गठबन्धनको विपक्षमा उभिएका छन्। कैलालीमा सत्ता गठबन्धनले वडा तहसम्म तालमेलका लागि छलफल अगाडि बढाएको छ। 

‘गठबन्धनका दलभित्र छलफल भइरहेको छ। तालमेल गरेर चुनावमा जान्छौँ’, कांग्रेस कैलालीका सभापति नारायण भट्टले भने, ‘भोलि बस्ने बैठकले निर्णय गर्छ।’

कैलालीमा कांग्रेस एक्लै उभिन जिल्ला नेतृत्वलाई कार्यकर्ताहरूले दबाब दिएका छन्। मंगलबार सम्पन्न जिल्ला समितिको बैठकमा अधिकांश नेता कार्यकर्ताले गठबन्धन गरेर जान नहुने सुझाव दिएका थिए। 

कैलाली कांग्रेसले गत १३ गतेदेखि २० गतेसम्म घरदैलो अभियानअन्तर्गत खटाएका प्रतिनिधिहरूले वडामा छलफल गरी मंगलबार पार्टीलाई प्रतिवेदन बुझाएका थिए। 

कांग्रेसले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूसँग लिखित तथा मौखिक सुझाव मागेको थियो। यस क्रममा सुझाव राख्ने अधिकांशले गठबन्धन कांग्रेसको हितमा नरहेको बताएका थिए।

महाधिवेशन प्रतिनिधि बलबहादुर विष्टले गठबन्धन भन्दा आन्तरिक गुटबन्दी मिलाउन आवश्यक रहेको बताएका छन्। ‘गठबन्धन गरेर निर्वाचनमा जाँदा दूरगामी प्रभाव पर्छ’, उनले भनेका थिए, ‘हामीले एक्लै जित्छौँ। गठबन्धन नगरौं।’

किसान संघ कैलालीका अध्यक्ष टीकादत्त जाेशीले पनि एक्लै जित्न सकिने अवस्थामा गठबन्धन नगर्न सुझाव दिएका छन्। 

घोडाघोडी नगरपालिकामा खटिएका प्रतिनिधि अमर खत्रीले पनि गठबन्धन अहिलेको अवस्थामा उपयुक्त नरहने बताएका थिए।

अधिकांशले गठबन्धन नगर्न सुझाव दिए पनि जिल्ला कार्यसमितिले भने कैलालीमा गठबन्धन हुने जनाएको छ।

‘अधिकांश प्रतिनिधिहरुले गठबन्धन गर्न नहुने सुझाव दिनुभएको थियो। तर, केन्द्रले गठबन्धनको नीति लिएको छ, त्यसैले कैलालीमा गठबन्धन हुन्छ,’ कांग्रेस कैलालीका सचिव नृप सुनारले भने, ‘हामी गठबन्धनको मोडल तयार गर्नेछौं।’

यस्तै कञ्चनपुरमा पनि पालिका कार्यसमिति चुनावी तालमेलको विपक्षमा उभिएको छ। सदरमुकामको भीमदत्त नगरपालिकाको कार्यसमितिले चुनावी गठबन्धन नगर्ने नगर्ने निर्णय गरेको छ। 

‘चुनावमा गठबन्धन गर्नै हुँदैन। गर्न खोजे दिँदैनौँ,’ नगर कार्यसमितिका सभापति अच्युत कलौनीले भने, ‘सहजै जित्ने बेला गठबन्धन किन? कांग्रेस जस्तो लोकतान्त्रिक दलले गठबन्धन गर्नै हुँदैन।’

कांग्रेस लालझाडीले जिल्ला नेतृत्वलाई पत्राचार गर्दै गठबन्धन नगर्न सुझाव दिएको छ। लालझाडीमा कांग्रेस नेतृत्व लिन सक्षम रहेको गाउँपालिका सचिव रमेश विष्टले बताए।

विगत ५ वर्षमा माओवादी केन्द्र नेतृत्वबाट पीडित लालझाडीबासी कांग्रेसको पक्षमा नरहेको उनी बताउँछन्।

‘लालझाडीमा हाम्रो पार्टीको चुनाव चिन्हबाहेक अन्य पार्टीको चुनाव चिन्हमा भोट हाल्ने अवस्था छैन,’ उनले भने, ‘यहाँ गठबन्धन लाद्न खोजे कदापी स्वीकार्य हुँदैन।’

पुनर्वास नगर कार्यसमिति पनि गठबन्धनको विपक्षमा उभिएको छ। नगर कार्य समितिले गठबन्धन नगर्ने निर्णय गर्दै जिल्ला कार्यसमितिलाई खबरदारी गरेको पुनर्वास नगर सचिव प्रवीण रावलले बताए। ‘कार्यकर्ताको भावना नबुझेर जबरजस्ती गठबन्धनको निर्णय गरिए त्यो मान्य हुँदैन,’ उनले भने।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाको गृहप्रदेशमै पार्टीको तल्लो तहबाट चुनावी गठबन्धनविरुद्ध अभिव्यक्ति आउने थालेपछि गठबन्धनमाथि शंका बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .