ad ad

राजनीति


मोरङमा कांग्रेस एक्लै अघि बढेपछि माओवादी र अरु दलको छुट्टै गठबन्धन

मोरङमा कांग्रेस एक्लै अघि बढेपछि माओवादी र अरु दलको छुट्टै गठबन्धन

फाइल तस्बिर


केशव सावद
चैत २५, २०७८ शुक्रबार १८:५, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको गृहजिल्ला मोरङमा सत्ता गठबन्धनका दलहरुले कांग्रेसबाहेकको चुनावी तालमेलको तयारी गरेका छन्। 

संस्थापन इतर समूहले गठबन्धनका दलहरूलाई पेलेर जाने नीति लिएपछि उनीहरुले कांग्रेसबाहेकको चुनावी तालमेलको तयारी गरेका हुन्। 

गठबन्धनमा रहेका दलहरु विराटनगर महानगरपालिकाबाहेकका अन्य १६ स्थानीय तहको सम्मानजनक बाँडफाँट हुनुपर्ने अडानमा छन्। 

तर, कांग्रेसको संस्थापन इतर समूह गठबन्धनका दलहरूलाई मागेजति नदिने पक्षमा छ।  

‘मोरङका १७ मध्ये १६ पालिकाको सम्मानजनक बाँडफाँट हुनुपर्छ भन्यौँ। तर, कांग्रेसको एउटा तप्काले मानेको छैन। ऊ पेलेर जाने नियतमा देखियो,’ माओवादी नेता सुरेश राईले भने, ‘वडासम्मै तालमेल भएन भने त्यो केन्द्रीय सहमतिविरुद्ध हुन्छ। पेल्न खोजे गठबन्धनभित्रै हामी मिलेर जान्छौँ।’

कांग्रेसको संस्थापन इतर समूहले दम्भ देखाएका कारण गठबन्धनमै रहेका अन्य दलहरु छुट्टै तालमेल गरेर जानुपर्ने अवस्था सिर्जना भएको माओवादी मोरङका संयोजक गणेश उप्रेतीले बताए। 

उनले शुक्रबार गठबन्धनमा रहेका कांग्रेस बाहेकका दलहरूको बैठक बसेर चुनावी तालमेलबारे छलफल गरिएको जानकारी दिए। 

केन्द्रमा गरिएको निर्णय जिल्लामा कार्यान्वयन नभए कांग्रेसको सती जान नसकिने बैठकले निष्कर्ष निकालेको उप्रेतीले बताए।  

‘यहाँ कांग्रेसको एउटा समूहले दम्भ देखायो। कोइरालाले देउवाको निर्णय नमान्ने हो भने कांग्रेससँग सती नजाने हाम्रो निष्कर्ष छ,’ उनले नेपालखबरसँग भने, ‘मोरङमा कोइराला हावी हुनुहुन्छ। उहाँसँग लम्पसार पर्न जरुरी छैन।’ 

कांग्रेसको विराटनगर महानगरपालिका कार्यसमितिले चुनावी तालमेल आवश्यक नरहेको औपचारिक निर्णय नै गरेपछि गठबन्धनमा रहेका दलहरु झस्किएका छन्। 

यद्यपि, जिल्ला कार्यसमितिले चुनावी तालमेलका बारेमा भने निर्णय गरिसकेको छैन। 

कांग्रेसको महानगर कार्यसमितिका सभापति दीपक चापागाईँले कांग्रेस एक्लै निर्वाचन जित्न सक्षम भएकाले तालमेल नगर्ने निर्णय गरिएको बताए। 

उनले मोरङ जिल्लामै चुनावी तालमेलको आवश्यकता नरहेको पनि जिकिर गरे। 

‘२०७४ मा अरु मिलेर लडेका थिए। हामी एक्लै। तापनि १७ मध्ये १० पालिकामा हामी जितेका थियौँ,’ उप्रेतीले नेपालखबरसँग भने, ‘अहिले त झन् दलहरु विभाजित छन्। फेरि जनतामा कांग्रेसप्रतिको छुट्टै विश्वास छ। हामी एक्लै सक्षम छौँ। मोरङमै नेपाली कांग्रेसले गठबन्धन गर्नु हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .