राजनीति


देशका ६ महानगरमध्ये ५ वटाका मेयर दोहोरिन चाहन्छन्

देशका ६ महानगरमध्ये ५ वटाका मेयर दोहोरिन चाहन्छन्

यज्ञराज जोशी
चैत २६, २०७८ शनिबार १७:३२, काठमाडौँ

देशका ६ महानगरमध्ये ५ वटाका मेयरले आसन्न स्थानीय तहको निर्वाचनमा पनि सोही पदमा उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। आगामी वैशाख ३० गते हुने निर्वाचनमा पोखरा महानगरपालिकाबाहेक देशका बाँकी सबै महानगरपालिकाका प्रमुखले दोस्रो कार्यकालका लागि पनि चुनाव लड्ने आकांक्षा राखेका हुन्। 

विद्यासुन्दर शाक्य, काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अर्काे कार्यकालका लागि उम्मेदवारी दिने इच्छा व्यक्त गरिसकेका छन्। उनले सार्वजनिक रूपमै पार्टी (एमाले) ले जिम्मेवारी दिए आफू पुनः मेयरको उम्मेदवार बन्ने घोषणा गरिसकेका हुन्। 

‘आवश्यकताअनुसार कुन जिम्मेवारी दिने हो, पार्टीले निर्णय गर्छ’, शाक्यले भने, ‘महानगरवासीको चाहना बुझेर पार्टीले जिम्मेवारी दियो भने म दोहोरिने हो। होइन भने पार्टीले जसलाई जिम्मा दिए पनि काठमाडौं महानगरपालिका हामी जित्ने अवस्थामा छौं। त्यसमा मेरो पूर्ण सहयोग रहन्छ।’

नेकपा एमालेका नेता शाक्यले गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार मतान्तरले हराएर काठमाडौंको मेयर बनेका थिए। शाक्यले ६४ हजार ९१३ मत पाउँदा जोशीले ४५ हजार २६९ मत ल्याएका थिए।

चिरिबाबु महर्जन, ललितपुर महानगरपालिका

कांग्रेसबाट चुनाव जितेर ललितपुर महानगरपालिकामा मेयर बनेका चिरिबाबु महर्जनले पनि पुनः सो पदमा चुनाव लड्ने बताइसकेका छन। 

अघिल्लो चुनावमा उनी २४ हजार ६ सय ४२ मतसहित विजयी भएका थिए। एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३१६ मतान्तरले हराउँदै उनी ललितपुर महानगरको मेयर बन्न सफल भएका थिए। 

महर्जनले ललितपुरका धेरैजसो नागरिकको माग पनि आफू अर्काे कार्यकाल पनि रहोस् भन्ने रहेको दाबी गरेका छन्। 

‘मेरो यस कार्यकालमा नगरवासी खुसी र सन्तुष्ट छन्’, उनले भने, ‘इमान्दारिताका साथ काम गरेको छु। बदमासी गरेको छैन। मलाई जहाँ गए पनि नगरवासीले चाहिँ दोहो¥याउन सद्भाव र शुभेच्छा प्रकट गरेका छन्। त्यही भएर उठ्न लागेको हो।’

रेणु दाहाल, भरतपुर महानगरपालिका
नेकपा माओवादी केन्द्रबाट भरतपुरको मेयर बनेकी रेणु दाहालले खुला रूपमै आफू दोहोरिन चाहेको बताइसकेकी छन्। 

अघिल्लो चुनावमा उनी ४३ हजार १२७ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए। 

भरतपुरमा यसपल्ट गठबन्धन भए पनि कांग्रेसले मेयर पदमा आफूले उम्मेदवारी दिन पाउनुपर्ने जिकिर गरिरहेको छ। तर वर्तमान मेयर दाहालले पनि भरतपुरमा पुनः आफूले नै मेयरमा लड्न पाउनुपर्ने र त्यसका लागि पार्टीमा आफू निर्विकल्प उम्मेदवार भएको बताइरहेकी छन्। 

‘पाँच वर्षमा धेरै कामको थालनी भएको छ। धेरै काम सम्पन्न गर्न बाँकी छ’, उनले भनिन्, ‘ती काम सम्पन्न गर्न पनि मेरो उम्मेदवारी हुनेछ। भरतपुर माओवादीले छाड्दैन र माओवादीमा म निर्विकल्प उम्मेदवार हुँ।’

विजय सरावगी, वीरगन्ज महानगरपालिका
वीरगन्ज महानगरका मेयर विजय पनि सरावगीले दोहोरिनकै लागि केही दिन अघि मात्र पार्टी परिवर्तन गर्दै एमालेमा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य उनलाई आसन्न स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिने वाचासहित आफ्नो पार्टीमा भित्र्याएका हुन्। 

सरावगी अघिल्लो चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपालका तर्फबाट वीरगन्ज महानगरको प्रमुखमा विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय द्विवेदीलाई १ सय ९६ मतले हराएका थिए। सरावगीले १९ हजार ३ सय ९३ मत प्राप्त गर्दा कांग्रेसका द्विवेदीलाई १९ हजार एक सय ९७ मत ल्याएका थिए।

मेयर सरावगी ११ जना वडाध्यक्ष र दुई जना महानगरपालिकाका बोर्ड सदस्यसहित एमाले प्रवेश गरका हुन्। सरावगी पनि पार्टीले मेयर उठ्न भने आफू तयार रहेको बताउँछन्।

‘पार्टीले जुन जिम्मेवारी दियो मैले त्यसलाई स्वीकार्ने हो। वहाँहरूले मेयर उठ भन्नुहुन्छ भने म मेयरमा जान्छुु’, उनले भने, ‘अन्य कुनै पदमा भन्नुहुन्छ भने अन्य पदमा जान्छु। पार्र्टीले छिट्टै यो विषयमा निर्णय गर्छ। पार्टीको आदेशअनुसार अगाडि बढ्छु।’

भीम पराजुली, विराटनगर महानगरपालिका
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली पनि पुनः सो पदमा रहन चाहन्छन्। पहिले डा. शेखर कोइराला पक्षका उनी कांग्रेसको १४औं महाधिवेशनमा मेयरको टिकट पाउने आशाले नैसभापति शेरबहादुर देउवातर्फ लागेका थिए।

‘यस कार्यकालमा सुरु भएका योजना सम्पन्न गर्न पनि अर्कोपटक उम्मेदवारी दिने सोचमा छु’, एक कार्यक्रममा पराजुलीले भने, ‘तत्कालीन गठबन्धनका बीच विराटनगरको मेयरमा जितेको थिएँ। मेरो नेतृत्वमा धेरै काम भएकाले पार्टीले पुनः मलाई टिकट दिने विश्वास छ।’

पराजुलीले २३ हजार ३१ मत ल्याएर अघिल्लोपटक जितेका थिए। निकटतम प्रतिष्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत ल्याएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .