राजनीति


मेयरमा आफ्नै पूर्व सहकर्मीसँग भिड्न कांग्रेस छाडेर माओवादी प्रवेश गरे कमलेश

‘पत्रकार महासंघबाट राजीनामा दिन्नँ, पत्रकारिता र राजनीति सँगसँगै गर्छु’
मेयरमा आफ्नै पूर्व सहकर्मीसँग भिड्न कांग्रेस छाडेर माओवादी प्रवेश गरे कमलेश

महोत्तरीको मठिहानी नगरपालिकामा हरि मण्डल (बायाँ) सँग मेयरमा भिड्ने योजनासहित कमलेश मण्डल माओवादी केन्द्रमा प्रवेश गरेका हुन्


शैलेन्द्र महतो
चैत ३०, २०७८ बुधबार १६:१७, जनकपुरधाम

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल आइतबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरे। उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमै खादा ओढाउँदै अवीर लगाएर पार्टीमा स्वागत गरे।

पत्रकार मण्डललाई पार्टी प्रवेश गराउन मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साह, माओवादी नेता रामकुमार शर्मा पनि प्रचण्ड निवास पुगेका थिए। 

चुनावी सरगर्मीबीच पत्रकार मण्डल माओवादी प्रवेश गरेको विषयमा यस क्षेत्रमा विभिन्न चियोचर्चो सुरु भएको छ। पार्टी प्रवेश गरिसकेका मण्डल अब पत्रकारिता छाडेर दलीय राजनीतिमा सक्रिय भएका हुन् भन्ने आकलन गरिएको छ। 

२३ वर्षदेखि पत्रकारिता क्षेत्रमा लागेका मण्डल महोत्तरी शाखामा निरन्तर अहिले दोश्रो कार्यकाल लागि अध्यक्ष हुन्। २०७० मा प्रेस युनियन महोत्तरीको अध्यक्ष बनेका मण्डल २०७३ फागुन १७ गते पत्रकार महासंघ महोत्तरी शाखाको पहिलो पटक र २०७७ चैत २५ मा दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए।  

विद्यार्थी कालदेखि नै २०४८ मा नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका उनले २०५५ सालदेखि जनकपुर टुडेको महोत्तरी समाचारदाताको रुपमा काम थालेका थिए। 

पछि जनकपुरबाट प्रकाशित हुने तहल्का नेपालसहित सेतोपाटी, राजधानी दैनिकमा पनि काम गरे। अहिले एभीन्युज महोत्तरीकाे रिपोर्टरका रुपमा काम गर्दैछन् भने आफ्नै पत्रिका महोत्तरी साप्ताहिक प्रकाशन गरिरहेका छन्। 

शिक्षामा स्नातक गरेका मण्डल प्रेस युनियनबाटै दुई कार्यकाल महासंघ जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्।

उनको घर महोत्तरीको मठिहानी नगरपालिका ७ मा पर्छ। चुनावको मुखमा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार बन्न पार्टी प्रवेश गरेको उनले बताए। 

लामो समयदेखि आवद्ध रहेको दल नेपाली कांग्रेसको मठिहानीमा संगठन पहिलादेखि नै कमजोर रहेका कारण आफू चुनाव लड्न माओवादीमा प्रवेश गरेको उनको भनाइ छ।

मठिहानी नगरपालिकामा वर्तमान मेयर हरिप्रसाद मण्डल पनि विगत दुई कार्यकाल महासंघका अध्यक्ष रहिसकेका छन्। पत्रकारिता छाडेर उनी गत २०७४ को चुनावमा राजपाबाट मेयर पदमा निर्वाचित भएका थिए।

हरि मण्डलले नै कमलेश मण्डललाई पत्रकारितामा सुरुमा सघाएका थिए। महासंघको पहिलो कार्यकालमा पनि हरि मण्डलकै सहयोगमा कमलेश निर्वाचित भएको महोत्तरीका पत्रकारहरु बताउँछन्।

तर हरि मण्डल मेयर भएपछि दुवैजनाबीच खटपट चलिरहेको छ। हरिप्रसाद मण्डल अहिले लोसपामा छन् र, उनले नै फेरि पनि सो पार्टीबाट मेयरको टिकट पाउने प्रबल सम्भावना छ। सोही कारण कमलेश मण्डलले खुलेरै मेयरको विरुद्धमा अभियान थालेका छन्। र, चुनाव लडेर हरिप्रसाद मण्डललाई पराजित गर्ने योजनासहित माओवादीमा प्रवेश नै गरेका हुन् उनी।

माओवादी केन्द्र महोत्तरीका एक नेताले मठिहानी नगरपालिकाको मेयर उम्मेदवार बनाउने गरि नै कमलेशलाई पार्टी प्रवेश गराएको बताए। 

४४ वर्षीय कमलेश आगामी निर्वाचनमा मठिहानी नगरपालिकाबाट मेयर पदमा चुनाव लड्ने र भ्रष्टाचारमुक्त मठिहानी बनाउने आफ्नो उद्देश्य रहेको बताउँछन्। 

‘भ्रष्टाचारमुक्त मठिहानी र सभ्य समाज निर्माणको निम्ति म मेयर पदमै उठ्नको लागि माओवादीमा प्रवेश गरेको हुँ’, उनले भने, ‘मठिहानीमा कांग्रेसको जनआधार निकै कमजोर छ। संगठन छैन। त्यसकारण माओवादीमा प्रवेश गरेँ।’

२०७४ को स्थानीय निर्वाचनमा तत्कालिन राजपा नेपालबाट हरिप्रसाद मण्डल प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले जितेका थिए। उनले ३ हजार ४०४ मत ल्याएका थिए भने दोश्रो नम्बरमा रहेका एमालेका मुजिवुल रहमानले १ हजार ५९७, तेस्रो नम्बरमा तत्कालिन संघीय समाजवादी फोरमका रामनन्दन यादव १ हजार ५७५, कांग्रेसका जयकुमार चौधरीले १ हजार ४३३ र छैटौँमा रहेका माओवादीका राजकिशोर मण्डलले १ हजार १५४ मत ल्याएका थिए। अहिले पनि मठिहानीमा लोसपा नै बलियो देखिन्छ।

तर, २०७४ को चुनाव तिरको राजनीतिक दलको जनाआधार अहिले देखिँदैन। यसमा घटबढ पनि भएको छ। त्यो बेला २०७२ मा भएको मधेश आन्दोलनको सेन्टिमेन्ट पनि थियो। तर अहिले त्यो सेन्टिमेन्ट देखिँदैन।

यद्यपी वर्तमान अवस्थामा पनि माओवादीबाट मेयर पदको उम्मेदवार बन्न लागेका कमलेश मण्डललाई जित्न भने त्यति सहज छैन। 

पाँच दलीय गठबन्धनले तालमेलको कुरा पनि अघि बढाएको छ। तर मठिहानीमा मेयर माओवादीलाई दिएको खण्डमा मात्र तालमेल हुने कमलेश मण्डल बताउँछन्। 

‘वर्तमान मतभारको आधारमा माओवादीले नेतृत्व लिन्छ। त्यसआधारमा दियो भने माओवादी मान्छ नत्र मान्दैन। गठबन्धन हुँदैन’, मण्डलले भने।  

वंशवादको अन्त्य, भ्रष्टाचार मुक्त मठिहानी नगरपालिका लगायत आफ्नो एजेण्डा रहेको उनले बताए। 

‘पत्रकार महासंघबाट राजीनामा दिन्नँ’ 
पार्टी प्रवेश गरेका कमलेशले पत्रकारिताबाट सन्यास नलिने बताए। औपचारिक रुपमा माओवादी केन्द्रमा प्रवेश गरिसक्दा पनि उनले पत्रकार महासंघ महोत्तरीको सभापति पदबाट राजीनामा दिएका छैनन्। 

‘म अहिले नै महासंघबाट राजीनामा दिन्नँ’, उनले दाबी गरे, ‘पत्रकारिता र राजनीति सँगसँगै गर्छु।’  

राजनीतिमा गइसकेका व्यक्तिले पत्रकारिता गर्दा कसरी विश्वसनीय होला भन्ने प्रश्नमा उनले भने, ‘म पेसालाई पनि मर्यादित राख्छु र राजनीति पनि गर्छु। पत्रकार महासंघको ऐन कानुनको आधारमा अगाडि बढ्छु।’

पत्रकार महासंघका सदस्यहरूले भने पार्टी राजनीतिमा सक्रिय भएकाले कमलेशले महासंघको सभापति पदबाट राजीनामा दिनुपर्ने दबाब बढाएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .