ad ad

राजनीति


आठ लाख घुस काण्डका कारण पुनः उम्मेदवार बन्ने सपना चकनाचुर

आठ लाख घुस काण्डका कारण पुनः उम्मेदवार बन्ने सपना चकनाचुर

बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री


शैलेन्द्र महतो
बैशाख ३, २०७९ शनिबार ६:५६, जनकपुरधाम

आठ लाख घुस काण्डका कारण धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीलाई अर्को कार्यकालका लागि पनि उम्मेदवार बनाउन गरिएको सिफारिस मान्य नहुने भएको छ।

एमालेले उनै गाउँपालिका अध्यक्षलाई फेरि उम्मेदवार बनायो, जो ८ लाख घुस फालेर भागेका थिए

गत सोमबार मात्र एमालेको गाउँ कमिटी बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि पनि उनैलाई अध्यक्षको उम्मेदवार बनाउनेगरी जिल्ला समितिमा सिफारिस पठाएकाे थियाे।

तर हिजाे शुक्रबार बसेको बैठकमा विवादित व्यक्तिलाई उम्मेदवार बनाउन लागिएको भन्दै चर्काे विरोध भएपछि त्यसलाई मान्यता नदिने फेरि अर्को बैठक राखेर अर्कै नाम सिफारिस गर्ने निर्णय भएको हाे।  

एमाले गाउँ कमिटीका एक सचिवालय सदस्यका अनुसार बैठकमा घुस काण्डमा परेदेखि एमाले पार्टीप्रति जनमानसमा नकरात्मक सन्देश गएको भन्दै अबको निर्वाचनमा क्षेत्रीबाहेकका नयाँ अनुहारलाई पालिका अध्यक्षको उम्मेदवार हुनुपर्ने माग भएकाे हाे। 

‘आठ लाख घुस काण्डमा परेदेखि उहाँ कलंकित हुनुहुन्छ। जसको कारण एमाले पार्टीप्रति पनि जनतामा नकरात्मक प्रभाव परेको छ। त्यसकारण क्षेत्रीबाहेकका नयाँ अनुहार चाहिन्छ’, ती नेताले भने,  ‘बैठकमा चर्को माग उठेपछि आगामी आइतबारका लागि उम्मेदवार सिफारिसको लागि पालिकाभरिकै नेता कार्यकर्ताको बैठक बोलाइएको छ।’

तर क्षेत्रीलाई उम्मेदवार बनाउन गरिएको सिफारिस रद्द गर्ने वा नगर्ने अधिकार जिल्ला समितिमा पुगेको छ। एमाले जिल्ला कमिटीका अध्यक्ष राजकिशोर यादवले बटेश्वर गाउँपालिकाबाट अध्यक्ष पदमा उठ्ने उम्मेदवारका लागि सिफारिस आएको बताए। 

‘तर यस विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन, त्यो हामीले प्रदेश र केन्द्रलाई पठाएका पनि छैनौ’, अध्यक्ष यादवले नेपालखबरसँग भने, ‘अब फेरि पालिकाबाट के हुन्छ, त्यहीअनुसार अगाडि बढ्नुपर्ला।’  

एमालेमा अब उम्मेदवारीका लागि हिरालाल महतो, श्याम महतो, दिलीप लामा, राम पुकार महतोलगायत दाबेदार छन्।   

क्षेत्रीले २०७७ फागुन १७ मा गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माणको भुक्तानी दिएबापत ठेकेदारसँग ८ लाख रुपैयाँ घुस लिएका थिए।  

धनुषाको महेन्द्रनगरमा ठेकेदारबाट घुस लिएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय (टंगाल) को टोलीले पछयाएपछि उक्त रकम औरही खोला छेउमा फालेर भागेका थिए। केही रकम उनी सवार गाउँपालिकाको सरकारी गाडीबाट र केही झाडीबाट अख्तियारले बरामद गरेको थियो।

अख्तियारले घुस रकमसहित अध्यक्ष क्षेत्री सवार गाडीका चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको थियो। अख्तियारले सो घटना प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको थियो। अख्तियार कार्यालयका अनुसार अध्यक्ष राउत र चालक मगर धरौटीमा छुटेका छन्। 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको संरक्षण र राउतको आफ्नै कर्मचारीतन्त्रमा भएको पकडका कारण उनी कानुनी कारबाहीबाट बच्न सफल भएका हुन्। 

प्रमाण नपुगेको भन्दै अख्तियार उनीविरुद्ध मुद्दा दायर गर्न पन्छिरहेको छ। सो घुसकाण्डबारे थप अनुसन्धान जारी रहेको अख्तियारको कार्यालयले जनाएको छ।

उनी घुस फालेर फरार भएको तीन महिनापछि गत जेठ २८ गते अख्तियार कार्यालयमा हाजिर भएर त्यतिबेला पार्टीबाट उपप्रधामन्त्री रहेका रघुवीर महासेठसँगै बटेश्वर आएका थिए। एमालेका स्थानीय नेता/कार्यकर्ताले युद्ध जितेर आएजस्तो गरी उनलाई भव्य स्वागतसहित गाउँपालिका कार्यालयमा हाजिर गराएका थिए।

पछिल्लो समय पनि गाउँपालिकामा उनले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी र लेखाअधिकृत सुमन पुरीलाई आफ्नो प्रभावमा पारेर मोटो कमिसनमा व्यापक अनियमितता गरेको आरोप छ। 

उनले गाउँपालिकाकै एक एकल महिलालाई असभ्य शब्द प्रयोग गरेको घटनाले समेत उनी विवादमा परेका थिए। पछि एमालेले पीडितकी छोरालाई मनाएर घटना थामथुम पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .