राजनीति


सत्ता गठबन्धनमा तालमेलको तनाव: केन्द्रको निर्णय कुर्दै मधेश प्रदेश

सत्ता गठबन्धनमा तालमेलको तनाव: केन्द्रको निर्णय कुर्दै मधेश प्रदेश

आइतबार जनकपुरमा आयोजित सत्ता गठबन्धनको मधेश प्रदेशस्तरीय बैठक


शैलेन्द्र महतो
बैशाख ५, २०७९ सोमबार ९:४८, जनकपुरधाम

केन्द्रमा सत्ता गठबन्धनका पाँच दलबीच यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भए पनि प्रदेश, जिल्ला तथा स्थानीय तहमै भने कुरा मिलिरहेको छैन। 

तिनैमध्ये एक बनेको छ– मधेश प्रदेश। हालसम्म मधेश प्रदेशका कुनै पनि पालिकामा सत्ता गठबन्धनका दलबीच चुनावी तालमेल गर्ने सहमति भइसकेको छैन। 

मधेश प्रदेश केन्द्रको निर्णय कुरिरहेको छ।  प्रदेशमा पनि गठबन्धनका दलबीच निरन्तर छलफल त भइरहेको छ तर चुनावी तालमेलका विषयमा निष्कर्षमा पुग्न  कठिन भइरहेको छ। 

उनीहरूबीच अघिल्लो चुनावमा जितेका पालिकामा आआफ्नै दाबीले तालमेलको कुरा टुंगोमा पुग्न नसकेको हो। 

चुनावी तालमेलकै विषयमा सहमति गर्न आइतबार जनकपुरमा सत्ता गठबन्धनको मधेश प्रदेशस्तरीय बैठक बस्यो तर बिनानिष्कर्ष सकियो। प्रदेशका आठै जिल्लाका सबै १३६ पालिकामा कुन दलको  अवस्था के छ भन्ने विषयमा रिपोर्टिङ र छलफल भएको नेकपा माओवादी केन्द्रका मधेश प्रदेश अध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी दिए। 

उनका अनुसार नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले जितेका पालिकामा कसरी चुनावी तालमेल गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको हो। 

‘अहिले खास गरी एमाले र लोसपा जितेको पालिकाहरुको विषयमा छलफल भयो’, उनले भने, ‘त्यस्तै गठबन्धनको बैठकमा आठवटै जिल्लाको गठबन्धनसँग सम्बन्धित विषयहरुमा छलफल भयो। निष्कर्ष अहिले केही निस्केको छैन।’ 
उनले तालमेलको सम्भावना सहज भने नरहेको बताए। ‘तालमेलको सम्भावना त्यति सहज छैन। अहिलेसम्म जटिल नै देखिएको छ। तर, पनि गर्ने प्रयास जारी छ’, उनले नेपालखबरसँग भने।

आज फेरि सत्ता गठबन्धनको बैठक जनकपुरमा बस्दै छ। जसपाको पार्टी कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले बताए।

उनले हिजोको बैठकमा सकरात्मक छलफल भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .