ad ad

राजनीति


देउवालाई प्रश्न : भाइ एमाले समाजवादीलाई पोखराको मेयर के का लागि दाइजो दिनु भएको हो?

देउवालाई प्रश्न : भाइ एमाले समाजवादीलाई पोखराको मेयर के का लागि दाइजो दिनु भएको हो?

वाशुदेव मिश्र
बैशाख ६, २०७९ मंगलबार १६:०, पाेखरा

नेपाली कांग्रेसबाहेक कसैलाई पोखराको मेयर दिन नसकिने अडान राख्दै आएका कांग्रेसीहरुले सभापति शेरबहादुर देउवालाई ‘गलत सम्झौता’ नगर्न सुझाएका छन्।

गठबन्धनको विपक्षमा पार्टी नेतृत्वलाई दवाव दिएसँगै कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा तथा कास्की सभापति किशोरदत्त बराललाई सभापति देउवाले काठमाडौं बोलाएका छन्।

उनीहरु काठमाडौं गएसँगै सभापति देउवाले के निर्देशन दिने हुन् भन्ने चासो भइरहेका बेला गठबन्धनको विरुद्धमा वक्तव्य जारी गर्ने कास्की कांग्रेसका सचिव मध्येका एक भानु ढकालले कार्यकर्ता र शुभेच्छुकको तर्फबाट भन्दै सामाजिक सञ्जालमार्फत सभापति देउवालाई प्रश्नहरु बर्साएका छन्।

शाही शासनविरुद्धको आन्दोलनमा देउवालाई पक्राउ गर्न लागिएको तस्विरसहित उनले भनेका छन्,

पोखराको मेयरको विषयमा केन्द्रले हिजो बेलुका नै मृत्युपत्रमा गरिएको हस्ताक्षरलाई फिर्ता गराई, नेपाली कांग्रेस र रूख चिन्हको उम्मेदवारको टिकट लिएर पोखरा फर्कन, पार्टी सभापतिको निमन्त्रणामा काठमाडौं जानुभएका श्रद्धेय नेताज्युहरूलाई कांग्रेस कास्कीका लाखौं कार्यकर्ता र शुभेच्छुकहरूको तर्फबाट हार्दिक अपिल! 

‘सभापतिज्यूलाई केही प्रश्न 
नेपाली कांग्रेसका श्रद्धेय सभापति शेरबहादुर देउवाज्यूलाई बिपी, समाजवाद र क्रान्तिको कर्मबाट नेपाली कांग्रेसका कार्यकर्ताहरूको केही प्रश्न  

१, एकीकृत समाजवादी नामको भाइ एमालेलाई पोखराको मेयर पद के बापतको दाइजो (उपहार) दिन खोज्नु भएको हो?

२, रूखमा भोट नहाल्दा धर्म जान्छ पाप लाग्छ भन्ने अग्रज जेष्ठ नागरिक मतदाता नेपाली कांग्रेस पार्टीमा २५ प्रतिशत हुनुहुन्छ, उहाँहरूलाई के भन्नुहुन्छ?

३, जनताको चासो र सरोकार संघीय सरकारसित होइन, स्थानीय सरकार सित छ, उहाँहरूलाई के भन्नुहुन्छ?

४, अहिले सम्मका घटनाक्रमहरूलाई नजिकबाट हेर्दा, तपाईको ८० प्रतिशत बहुमतको केन्द्रीय समितिले नेपाली कांग्रेस पार्टीलाई इतिहासको सबै भन्दा कमजोर र बदनाम गराउँछ कि भन्ने हामी जस्ता लाखौं कार्यकर्ताको चिन्ता छ, तपाई के भन्नुहुन्छ?

५, कांग्रेसको दुरगामी भविष्यसँग जोडिएको विषयमा नबुझी तपाईंले गरेको निर्णयलाई हामी कसरी स्वीकार गरौं, तपाई के भन्नुहुन्छ?

६, हामी कास्की पोखराका इमानदार कांग्रेस कार्यकर्तालाई तपाईंको कुर्ची भन्दा, पोखराको प्रमुख मेयर पदको कुर्चीप्रति मोह, विश्वास र महत्व छ, तपाई के भन्नुहुन्छ?

७, हामी त जिल्ला तहका कार्यकर्ता तल हाम्रो जग वडा इकाई समिति अस्वाभाविक गठबन्धनविरुद्धमा छ, हामी माथि तपाईँतर्फ होइन तल आफ्नो विश्वास र भरोसा भएको जगतर्फ हेर्छौं, तपाई कता हेर्नुहुन्छ?

८, यो पार्टी सिद्धान्त र विचारको पवित्र गठबन्धन होइन, श्याम बहादुर र राम बहादुरहरूको गठबन्धन हो, तपाई के भन्नुहुन्छ?

९, तपाईं कसका लागि यो गठबन्धन गर्दै हुनुहुन्छ, कांग्रेसका लागि हो की, अरू कसैका लागि हो, तपाई के भन्नुहुन्छ?

१०, समाजवादीसँगको तपाईको गठबन्धन नेकपा एमालेलाई पाडो पाए पनि ब्याउती, पाडी पाए पनि ब्याउती हुँदै छ, तपाई के भन्नुहुन्छ?

११, तपाईंले जीवनभरी गरेको नेपाली कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक एवम् प्रजातान्त्रिक आन्दोलनमा गरेको संघर्ष, योगदान, त्याग र कठोर जेल यातना के को लागि हो, तपाई के भन्नुहुन्छ?                                             

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .