ad ad

राजनीति


वीरगन्ज र जनकपुरका मेयर, जसले गुट र पार्टी फेरेर पाउँदैछन् टिकट

वीरगन्ज र जनकपुरका मेयर, जसले गुट र पार्टी फेरेर पाउँदैछन् टिकट

शैलेन्द्र महतो
बैशाख ८, २०७९ बिहिबार १४:५२, जनकपुरधाम

वीरगन्ज महानगरपालिका र जनकपुरधाम उपमहानगर मधेश प्रदेशका महत्वपूर्ण ठाउँ हुन्। वीरगन्ज महानगरलाई देशकै औद्योगिक तथा आर्थिक राजधानीको रुपमा लिइन्छ भने जनकपुरधाम मधेश प्रदेशको राजधानी हो।

प्राचीन मिथिलाको राजधानी र धार्मिक तथा ऐतिहासिक जानकी मन्दिर रहेकाले अन्तर्राष्ट्रियस्तरमा जनकपुरधामको छुट्टै महत्व छ। 

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पहिलो पटक २०७४ को स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरको मेयर लालकिशोर साह र वीरगन्ज महानगरको मेयर विजय सरावगी बन्न सफल भए। 

लालकिशोर साह तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट निर्वाचित भए भने विजय सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भए। 

दोश्रो संविधान सभाबाट २०७२ मा संविधान घोषणाको मुखमा भएको मधेशवादी दलको सेन्टिमेन्टमा यी दुवैजना सहजै चुनाव जित्न सफल भए। चिठ्ठा नै परे जस्तो भयो।

यी दुई ठाउँ दोस्रो मधेश आन्दोलनको केन्द्र बनेका कारण मधेशवादी दलप्रति जनताले बढी सहानुभूति राख्नु स्वभाविक पनि थियो। जसको कारण मधेशवादी बाहेकका दल कांग्रेस, एमाले र माओवादीलाई यी दुवै ठाउँमा पराजय ब्यहोर्नु पर्यो।

त्यस लगत्तै दुई महिनापछि भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पनि मधेश प्रदेशमा फोरम र राजपा बहुमत हासिल गर्न सफल भए।

दुई वर्षअघि तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर राजपा र फोरम फुटाउने डरले रातारात दुवै दलले एकता गरे। दुवै दल एकता भएर जनता समाजवादी पार्टी नेपाल (जसपा) बन्न पुग्यो। त्यति बेला जनकपुरधामका मेयर लालकिशोर साह र वीरगन्जका मेयर विजय सरावगी एउटै दलमा भए।

राजनीतिक घटनाक्रमले जसपा विभाजनको संघारमा पुग्दा जनकपुरका मेयर लालकिशोर साहले उपेन्द्र यादवकै कित्तामा आफ्नो सुनौलो भविष्य देखे। अगामी चुनावमा जसपाबाट टिकट पाउने पक्कापक्की देखेपछि लालकिशोर साह जसपामै कायम रहे।

तर वीरगन्जका मेयर सरावगीले जसपाबाट पुनः मेयर पदमा टिकट पाउने सम्भावना नदेखेपछि एक महिनाअघि मात्र एमाले प्रवेश गरे। 

कित्ता र पार्टी परिवर्तन गरेर भएपनि दुवैजनाले पुनः गठबन्धनबाटै शक्तिशाली उम्मेदवार बन्ने अवसर पाएका छन्। 

बुधबार पाँच दलीय गठबन्धनले जनकपुरधाम उपमहानगरको मेयर जसपाको भागमा र उपमेयर कांग्रेसलाई दिने निर्णय गरिसकेको छ। अब जनकपुरधामको मेयरमा जसपाले पुनः लालकिशोरलाई टिकट दिने निश्चित जस्तै छ। 

बिहीबार बिहान वीरगन्ज महानगरमा गठबन्धन बनाएरै चुनावमा होमिन एमाले र लोसपाले सहमति गरेका छन्। जस अनुसार वीरगन्ज महानगरमा एमालेले प्रमुख र लोसपाले उपप्रमुखमा उम्मेदवार बनाउने सहमति गरेको हो।

उता एमालेबाट पुनः विजय सरावगीलाई मेयरको टिकट दिने निश्चित जस्तै छ। 

टिकट पाउन लालकिशोर साह र विजयी सरावगीले दुवैले चलाखीपूर्ण बाटो रोजे। तर विगत झण्डै ५ वर्षमा उनीहरुले गरेका काम कारबाहीप्रति भने जनतामा सन्तुष्टि देखिँदैन।

जनकपुरमा जसपालाई मेयर पद दिँदा कांग्रेस नेता कार्यकर्तामा व्यापक असन्तुष्टि छ भने उता वीरगन्जमा एमालेको भागमा मेयर पर्दा लोसपा नेता कार्यकर्ता रुष्ट छन्। यसले दुवैले सहजै चुनाव जित्ने अवस्था देखिँदैन।   

टिकट लिन चतुर खेलाडी मेयर लालकिशोर र विजय सरावगीको अग्नि परीक्षा बाँकी नै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .