ad ad

राजनीति


कांग्रेस र माओवादीले हेप्दा एक्लियो सुदूरपश्चिमको ठूलो दल समाजवादी

एक्लै चुनावमा जाने तयारी
कांग्रेस र माओवादीले हेप्दा एक्लियो सुदूरपश्चिमको ठूलो दल समाजवादी

फाइल फोटो


यज्ञराज जोशी
बैशाख ९, २०७९ शुक्रबार २२:४०, धनगढी

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न दुई दिन बाँकी रहँदा सुदूरपश्चिमको सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादी एक्लिएको छ। 

उक्त दल कांग्रेस र माओवादीसँग गठबन्धनबिना एक्लै चुनावमा जाने मनस्थितिमा देखिएको छ। 

गठबन्धनका अन्य दलले हेपाहा प्रवृत्ति देखाएको भन्दै एकीकृत समाजवादीले एक्लै प्रतिस्पर्धामा जाने आन्तरिक तयारी तीव्र पारेको हो। 

पार्टीकी सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले उम्मेदवारीको मितिसम्म छलफल जारी रहने तर सम्मानजनक स्थिति नभए एक्लै चुनावमा जान तयार रहेको बताइन।

‘के परिस्थिति (सम्मानजनक भाग पाउने वा नपाउने) हुन्छ त्यही अनुसार अघि बढ्न हामी आन्तरिक रुपमा सबै तयार छौँ। बाहिर ल्याइ नसकेको हो,’ शाहले नेपालखबरसँग भनिन्, ‘मनोनयन दर्तासम्म हामी छलफलमा हुन्छौं। तर गठबन्धनबाट जाने स्थिति भएन भनेपनि मनोनयन दर्ताका लागि आवश्यक कुराहरु हामीले सम्पूर्ण तयारी गरिसकेका छौं।’

सुदूरपश्चिम प्रदेश सभाका ५३ मध्ये सबैभन्दा बढी एकीकृत समाजवादीमा १४ सांसद रहेका छन्। 

त्यसपछि नेकपा माओवादी केन्द्रका १३ र नेकपा एमालेका ११ संसद रहेका छन्। 

सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये एकीकृत समाजवादीले २२ देखि २५ स्थानीय तहमा आफ्नो दाबी प्रस्तुत गरेको थियो। 

तर त्यसमा गठबन्धनका कांग्रेस, माओवादीलगायत दलले पेलेर सहमति गर्न थालेपछि समाजवादी एक्लै चुनाव लड्ने तयारीमा देखिएको हो।  

सुदूरपश्चिमका ९ जिल्लामध्ये बझाङमा मात्रै गठबन्धनले भागबन्डा टुंग्याउन सकेको छ।

त्यसबाहेकका जिल्लामा आफूहरुलाई बाइपास गरेर कांग्रेस र माओवादीले मात्रै भागबन्डा गर्ने प्रवृत्ति देखिएकाले त्यो स्वीकार्य नहुने पार्टीकी सुदूरपश्चिम इन्चार्ज शाहले बताइन्। 

‘हामीलाई महत्व दिइएको छैन। महत्व नदिने प्रवृत्ति हावी हुँदैछ। त्यसो हो भने हामी एक्लाएक्लै प्रतिस्पर्धा गर्न तयार छौं। दार्चुलामा माओवादी र नेपाली कांग्रेस मिलेर भागबन्डा गरे,’ उनले भनिन्,  ‘भागबन्डा गर्दा समाजवादीलाई बोलाउने काम भएन। एक वडा दिन्छौँ, दुई चार सदस्य दिन्छौं भन्ने अभिव्यक्ति आउन लाग्यो।'

 कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बाजुरामा त्यस्तै छ। अहिले एकीकृत सामाजवादीलाई बाइपास गर्ने हिसाबले गरेपछि ‘तम शरणम’ गरेर उनीहरुले दिएको ठाउँमा निर्वाचनमा गएको अर्थ हुँदैन।’

एकीकृत समाजवादीका अर्का नेता तारा लामा तामाङले माहोल हेर्दा अहिलेसम्म माथिकै जस्तो गठबन्धन होला भन्ने नदेखिएको बताए। 

‘गठबन्धनको दलले इमान्दारीताका साथ नलागेपछि गठबन्धनको मर्म, भावनाअनुसार अघि बढेन भने एक्लै पनि जान सकिन्छ भन्ने सामान्य छलफल भएको छ,’ उनले नेपालखबरसँग भने, ‘गठबन्धन तोडेर जान्छौं भनेको छैन। तर माहौल हेर्दा अहिलेको मितिसम्म माथिकै जस्तो गठबन्धन होला भन्ने देखिन्न। गठबन्धनमा कसैको कुरामा पनि सुनिएन भने गठबन्धन हुँदैन। गठबन्धनमा सबैको चित्त बुझाएर अघि बढ्नुपर्छ।’ 

एकीकृत समाजवादीकी सुदूरपश्चिम इन्चार्ज शाहले माओवादी र कांग्रेसलाई आफूहरु जित्छौँ भन्ने दम्भ रहेपनि वास्तविक अवस्था चुनावमा थाहा हुने बताइन।

‘कतिपय(माओवादी)लाई ठूलो पार्टीको छहारीमा लागेपछि हामी पनि ठूलो हुन्छौँ कि भन्ने लागेको होला। कतिपय(कांग्रेस)लाई यिनीहरु टुटेफुटेका छन्। सबै हाम्रै होला भन्ने परेको होला,’ शाहले भनिन्, ‘त्यस्तो होइन है भन्न पनि एक्लै उठ्न खोजेका छौं। गाह्रो त हामीलाई पनि अवश्य पर्छ। तर जित्छौँ भनेर दम्भ लिएकालाई पनि वास्तविकता थाहा हुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .