ad ad

राजनीति


कास्कीमा किचलो : पाेखराकाे प्रमुख- उपप्रमुखबाहेक गठबन्धन नगर्ने कांग्रेसको घोषणा

कास्कीमा किचलो : पाेखराकाे प्रमुख- उपप्रमुखबाहेक गठबन्धन नगर्ने कांग्रेसको घोषणा

वाशुदेव मिश्र
बैशाख ११, २०७९ आइतबार २०:३२, पाेखरा

नेपाली कांग्रेस कास्की यो पटक एक्लै चुनावी मैदानमा उत्रन चाहन्थ्यो। पोखरामा एमालेबाट प्रमुख बनेका मानबहादुर जिसीको कार्यकालमा उल्लेख्य काम नभएको लाभ कांग्रेसले पाउने उनीहरुको आकलन थियो।

पोखरामा गठबन्धन गर्न नहुने मागसहित कास्की कांग्रेस नेतृत्वले केन्द्र पनि गुहार्यो। तर, सभापति शेरबहादुर देउवाको हप्काइपछि पोखराको प्रमुख नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय मान्न कास्कीका कांग्रेसीहरु बाध्य भए। 

खासमा कांग्रेस पोखरामा मेयर आफूले लिने माओवादी केन्द्रलाई उपमेयर दिएर चुनावमा होमिने दाउमा थियो। तर, त्यो सम्भव भएन।

एकातिर, एकीकृत समाजवादीले मेयर पाएसँगै माओवादी केन्द्रको ध्यान वडाहरुमा गयो। उसले पोखरामा धेरैजसो वडामा सम्मानजनक भागको माग गर्यो। तीमध्ये एउटा थियो, वडा नम्बर २२।

२०७४ सालको चुनावमा कांग्रेसका उम्मेदवार अशोक गुरुङले १३ सय ९८ र एमालेका विजेता उम्मेदवार मित्रलाल बरालले १४ सय ३० मत पाएका थिए। अन्तरघातका कारण आफ्ना उम्मेदवारले चुनाव हारेको र यो पटक जितिने कांग्रेसको आकलनसहित चुनावमा होमिन लागेको कांग्रेस सो वडा माओवादीले मागेपछि समस्यामा पर्यो।

फेवाताल पारिपट्टिको सो वडाका कांग्रेसीहरुले आइतबार दिउँसो कांग्रेस पार्टी कार्यालयमा नारावाजी गरे। कार्यालयमा ताला लगाइदिए। भित्र भएका पदाधिकारीहरुलाई निरन्तर दवाव दिने क्रम साँझसम्म रोकिएन। कास्की कांग्रेस नेतृत्व आफैँ पनि सबै वडा अर्कालाई सुम्पिने मुडमा थिएन।

‘त्यसैले पदाधिकारीहरुले कार्यकर्तालाई सम्हाल्ने कोशिस गरेनन्’,एक कांग्रेस नेताले भने, ‘उनीहरुकै उक्साहटमा कार्यालयमा होहल्ला भइरह्यो।’

उनका अनुसार कास्कीका बाँकी ४ पालिकाहरुमा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख लिने सहमति बनेको थियो। तर, वडाहरुका कारण त्यो सहमति पनि बिथोलियो।

गठबन्धनमा रहेको जनता समाजवादीले यसअघि नै सम्मानजनक व्यवहार नभएको भन्दै गठबन्धनबाट बाहिरिने निर्णय गरिसकेको थियो। त्यही निर्णयले पनि कांग्रेसलाई सजिलो बनायो। 

अन्ततः साँझ त्यही दवावमा टेकेर कास्की कांग्रेस नेतृत्वले पोखरा महानगरबाहेक अन्यत्र मित्रवत प्रतिष्पर्धा गर्ने भन्दै गठबन्धन टुटेको घोषणा गर्यो। कास्की सभापति किशोरदत्त बरालले पार्टी कार्यकर्ताको भावनाको कदर गर्दै गठबन्धन टुटेको जानकारी गराए।

‘हामीले दवाव थेग्न सकेनौँ, यो निर्णय गठबन्धनको विपक्षमा नभएर कार्यकर्ताको भावनाको सम्बोधन हो’,उनले नेपालखबरसँग भने,‘ पोखरा महानगरको हकमा केन्द्रले गरेको निर्णय नै कार्यान्वयन हुन्छ, मिल्ने ठाउँ अझै बाँकी रहेको ठाउँमा मिल्छौँ, अन्यत्र प्रतिष्पर्धा हुन्छ।’ 

मित्रवत् प्रतिष्पर्धा गर्ने भने पनि कांग्रेसले सबै वडाहरुमा उम्मेदवार घोषणा गर्न सकेको छैन। उपप्रममुखको निर्णय केन्द्रले गरेपछि अब सोमबार उम्मेदवारी दर्ता गर्ने बेलासम्म सबै कुरा टुंग्याइने सभापति बरालले जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .