ad ad

राजनीति


अपरीक्षित सिर्जना, परीक्षित केशव

काठमाडौंमा कति छ एमाले र काँग्रेसको शक्ति ?
अपरीक्षित सिर्जना,  परीक्षित केशव

सीताराम बराल
बैशाख १२, २०७९ सोमबार २०:१६, काठमाडौँ

आफ्नो निधनअगावै बीपी कोइरालाले २०३८ मा कांग्रेस सभापतिको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई दिएका थिए। सभापति भए पनि कृष्णप्रसाद भट्टराई बीपीपछिको नेता चाहिँ गणेशमान सिंहलाई नै मान्थे। 

खासमा दरबार र पञ्चायतलाई व्यवहार गर्ने सन्दर्भमा बीपीभन्दा पनि गणेशमान ‘कडा’ मानिन्थे। 

दरबारको जगजगी रहेको त्यो समय, दरबारसँग झुक्दै नझुक्ने गणेशमानको स्वभाव। यस्तोमा गणेशमान परिवारसँग कुनै किसिमको सम्बन्ध राख्न चाहनेले निकै सोचविचार र हिसाबकिताब गर्नुपथ्र्याे। यो परिवारसँग सम्बन्ध राख्नुअघि दरबार र पञ्चायतबाट हुनसक्ने कोपभाजनका लागि मानसिक रुपमा तयार हुनुपथ्र्याे। 

त्यस्तो बेलामा पनि गणेशमानको परिवारसँग वैवाहिक सम्बन्ध कायम गर्न गोरखाको व्यापारिक पृष्ठभूमिको एउटा परिवार तयार भयो। गोरखा बजारका नाम चलेका व्यापारी कृष्णबहादुर श्रेष्ठ कांग्रेसको राजनीतिमा सक्रिय भइसकेका गणेशमानपुत्र प्रकाशमान सिंहलाई आफ्नी छोरी सिर्जना दिन राजी भए। 

गणेशमानपुत्र प्रकाशमानसँग बिहे गर्न सिर्जना पनि त्यत्तिकै राजी भएकी थिइनन्। खासमा उनी पनि नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय थिइन्। 

तिनै सिर्जना मुलुकको राजधानी सहर, काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट सत्ता गठबन्धनको उम्मेदवार बनेकी छन्। 

अब उनले प्रमुख प्रतिपक्षी दलको तर्फबाट उम्मेदवार बनेका २०५४ मा निर्वाचित एमाले मेयर केशव स्थापितसँग प्रतिस्पर्धा गर्नु पर्नेछ भने पटक–पटक विवादमा परिरहने स्थापितले निष्कलंक छविकी सिर्जना सिंहसँग। 

सिर्जना: नयाँ उम्मेदवार, विवादरहित छवि
२०४६ को जनआन्दोलनमा नेपाली कांग्रेसलाई मात्र होइन, वामपन्थीहरुलाई समेत नेतृत्व प्रदान गरे पनि बहुदलीय व्यवस्था पुनर्स्थापनापछिको निर्वाचनमा भने गणेशमानमाथि ‘परिवार मोह’ को आरोप लाग्यो। विसं २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत हासिल गरे पनि सो आरोपका कारण काठमाडौँ–३ मा गणेशमानपत्नी मंगलादेवी सिंह एमाले उम्मेदवार पद्मरत्न तुलाधरसँग पराजित भइन्। काठमाडौँ–४ मा प्रकाशमान एमालेकी साहना प्रधानसँग पराजित भए।  

त्यसपछि मंगलादेवीले कहिल्यै चुनावमा प्रतिस्पर्धा गरिनन्। तर, प्रकाशमान भने २०५१ र ०५६ का दुवै निर्वाचनमा काठमाडौँबाटै पराजित भए।

‘परिवार मोह’ को आरोपका कारण २०४८ मा मंगलादेवी र प्रकाशमान दुवै पराजित हुनु परे पनि गणतन्त्र स्थापनापछिका तीनवटै निर्वाचनमा प्रकाशमान काठमाडौँ– १ मा अपराजित छन्। काठमाडौँ–१ मा कांग्रेसको पकडका अलावा गणेशमानप्रति आम नेपालीमा रहेको सम्मानभावको लाभ पनि प्रकाशमानलाई प्राप्त भइरहेको छ।  

एमालेका ‘हेबिवेट क्यान्डिडेट’ पूर्व नगरप्रमुख केशव स्थापितसँग प्रतिस्पर्धाको अवसर पाएकी सिर्जनालाई पनि लौह।शिखर पुरुष गणेशमान सिंह परिवारको सदस्य हुनुको लाभ हुनेछ। गणेशमानप्रति श्रद्धा र सम्मान गर्नेहरुको सहानुभूति यो निर्वाचनमा उनले पक्कै प्राप्त गर्नेछिन्।

नयाँ र अपरीक्षित उम्मेदवार हुनुको लाभ पनि सिर्जनालाई यो निर्वाचनमा छ। नयाँ उम्मेदवार भएकाले विपक्षीसँग उनको आलोचना गर्ने अस्त्र छैनन्। अहिलेसम्म लोप्रोफाइल भूमिकामा रहेकाले उनी अहिलेसम्म कुनै विवादमा मुछिएकी पनि छैनन्। उनका प्रमुख प्रतिद्वन्द्वी एमालेका स्थापित भने अनेक सुरा–सुन्दरी काण्डका अलावा ‘अन्टसन्ट’ अभिव्यक्ति र हावादारी गफका कारण विवादमा आइरहन्छन्।

अन्य महानगरमा उम्मेदवारका विषयमा कांग्रेसभित्रै असन्तुष्टि रहेपनि सिर्जनाको हकमा त्यस्तो असन्तुष्टि देखिँदैन।

अघिल्लो स्थानीय तह निर्वाचनमा एमाले र राप्रपाको गठजोडका कारण प्रमुखमा नेपाली कांग्रेस पराजित भएको यो महानगरमा सिर्जनाका लागि ०७४ मा भन्दा अहिले सहज किन छ भने यहाँ यसपटक एमाले–राप्रपाबीच गठजोड छैन। बरु, यहाँ कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीको जस्ता तेस्रो र चौथो ठूलो दलको साथ पाएको छ।      

एमाले उम्मेदवार स्थापितजस्तो सिर्जनामा राजनीतिक अस्थिरता देखिँदैन। नेपाली कांग्रेस र लोकतन्त्रप्रति उनको निरन्तर प्रतिबद्धता स्थापितको तुलनामा सिर्जनाको अर्काे सबल पक्ष हो। 

यति हुँदाहुँदै पनि सिर्जना चुनौतीविहीन छैनन्। सिर्जनाको उम्मेदवारीलाई विपक्षी एमालेले कांग्रेस नेता प्रकाशमान सिंहको ‘परिवार मोह’ को रुपमा प्रचार गरिदिन सक्छ।

यद्यपि, एमालेको यस्तो प्रचार ०४९ को स्थानीय निर्वाचनमा निष्प्रभावी भएको हो। ०४८ को आमनिर्वाचनमा ‘परिवार मोह’ को आरोपका कारण मंगलादेवी र प्रकाशमानले शर्मनाक पराजय भोग्नु परे पनि ०४९ को स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरमा गणेशमान परिवारकै उम्मेदवार पीएल सिंह अत्याधिक मतले एमाले उम्मेदवार राजेन्द्र श्रेष्ठलाई पराजित गर्दै विजयी भएका थिए। 

त्यो निर्वाचनमा एमालेबाट उपमेयरमा प्रतिस्पर्धा गरेका स्थापित समेत कांग्रेस उम्मेदवार नवीन्द्रराज जोशीबाट पराजित हुन पुगेका थिए। 

निर्वाचनमा उम्मेदवारको व्यक्तित्व र अभिव्यक्ति कलाले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। यस मामिलामा सम्भवतः सिर्जना एमाले उम्मेदवार स्थापितको तुलनामा कमजोर छिन्। 

अभिव्यक्ति र सम्बोधनका दृष्टिले सिर्जना कत्तिको प्रभावशाली छिन्, अब हुने चुनावी सभाका सम्बोधनमा देखिनेछ। तर, मतदातालाई प्रभावित पार्नसक्ने ‘अभिव्यक्ति कला’ का दृष्टिले स्थापित प्रभावकारी छन्। अमेरिकी राष्ट्रपतीय निर्वाचनको शैलीमा यदि यहाँ पनि उम्मेदवारबीच बहस भयो भने सिर्जनाको तुलनामा स्थापित हावी हुनेछन्। 

यसबाहेक काठमाडौँको नगरप्रमुख हुँदा स्थापितले यस्तो साहसी नगरप्रमुखको छवि बनाएका छन्, जसले माइतीघर र कोटेश्वरको तीनकुने क्षेत्रमा रहेका अवैध बस्ती हटाएका थिए। खासमा यिनै दुई कामले गर्दा स्थापितको लोकप्रियता चुलिएको हो। र, विवादित व्यक्तित्व र अस्थिर चरित्रका बाबजुद एमाले पनि स्थापितलाई नै टिकट दिन बाध्य भएको हो। 

स्थापितः मतदाता प्रभावित गर्ने खुबी, विवादित चरित्र 
तर, पूर्व नगरप्रमुख, सांगठनिक दृष्टिले सबैभन्दा सबल एमालेको उम्मेदवार र मतदातालाई आकर्षित गर्नसक्ने ‘अभिव्यक्ति कला’का बाबजुद आगामी निर्वाचनमा मत परिणामबाट सिर्जनालाई माथ गर्न स्थापितलाई पनि सहज छैन। 

किनभने २०७४ मा जस्तो अहिले एमाले एकढिक्का छैन। एमालेबाट विभाजित एकीकृत समाजवादीको काठमाडौँमा राम्रै प्रभाव छ र उसले यहाँ उपमेयर उठाएर कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई मेयरमा समर्थन गरेको छ। ०७४ को स्थानीय तह निर्वाचनमा करिब ८ हजार मत प्राप्त गरेको माओवादी केन्द्रपनि कांग्रेस उम्मेदवार सिंहकै पक्षमा छ।  

२०७० को दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौँमा ‘राप्रपा नेपाल’ समानुपातिकतर्फ काठमाडौँको सबैभन्दा ठूलो दल बनेको थियो। र, एमाले–राप्रपा नेपालबीच ०७४ को स्थानीय निर्वाचनमा तालमेल भएको थियो। यसपटक तालमेल नभएकाले एमालेले २०७४ मा जसरी यहाँ राप्रपाको मत प्राप्त गर्ने छैन। 

अर्थात् सिर्जनाको पक्षमा ‘महागठबन्धन’ छ भने स्थापित ‘एक्लै’ छन्।   

मतदातासँग रोचक रुपमा प्रस्तुत हुने शैली २०५४ विजय हासिल गर्न स्थापितका लागि निकै सफल भएको थियो। तर, यसपटक उनी त्यसरी नै कामयाव हुन्छन् भन्ने छैन। एमाले अध्यक्ष केपी शर्मा ओलीले बाँडेका ‘पुरा नहुने सपना’ र ‘हावादारी गफ’ को आलोचना गर्नेमा सायद काठमाडौँ महानगरकै मतदाता बढी होलान्।  

स्थापितलाई उम्मेदवार बनाउने ओली (एमाले) को निर्णयपछि अधिवक्ता देवेन्द्र पौडेलले आफ्नो फेसबुकमा निम्न ‘स्टाटस’ त्यत्तिकै लेखेका होइनन्, ‘उखाने बाका गफले यसै सेन्टिफ्ल्याट जनता, उनैलाई गफविधा सिकाउने केशव स्थापित नै उठेपछि काठमाडौँका जनता उत्तानो पर्ने कि घोप्टो पर्ने? बरु काठमाडौँबाट लोकल बस चढेर चन्द्रमामा ब्रेकफास्ट, मंगलग्रहमा लन्च खाएर डिनर खान बागबजार ल्याइपुर्याउने योजना घोषणापत्रमा राखे होलान् नि!’ 

अधिवक्ता कोइरालाको यो स्टाटसको अर्थ ‘२०५४ र ०७४ मा जस्तो यसपटक हावादारी गफ बिक्नेछैन’ भन्ने नै हो। 

२०५४ मा ८४ हजार मत प्राप्त गरेर काठमाडौँको नगरप्रमुखमा विजयी भएका स्थापितको त्यो ‘क्रेज’ अहिले बाँकी छैन। यसका दुई मुख्य कारण छन्। 

एक, उनको अस्थिर राजनीतिक चरित्र। 

२०५४ मा एमालेबाट निर्वाचित स्थापित एमाले–माले विभाजनपछि नेकपा (माले) मा आवद्ध भएका थिए।  

२०६१ मा राजा ज्ञानेन्द्रले शासन लिएपछि उनी त्यो ‘कू’ को समर्थक भए। र, काठमाडौँको मनोनित शाही नगरप्रमुख बने। त्यसबखत उनी नेपालको पहिलो तर मृतप्रायः बनिसकेको ‘नेपाल प्रजापरिषद’ को अध्यक्ष समेत बनेका थिए।

०६३ को परिवर्तनपछि भने उनी माओवादी समर्थक बने। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो ‘मितको साइनो’ समेत रहेको उनी बताउने गर्थे। 

शान्ति प्रक्रिया सुरु भएको केही समय माओवादी निकट रहे पनि उनी फेरि एमालेमै फर्के। तर, संविधान सभाको निर्वाचनमा एमालेबाट टिकट नपाएपछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबाट काठमाडौँ–६ मा उम्मेदवार बने। उनको उम्मेदवारीका कारण एमाले नेता योगेश भट्टराई सो क्षेत्रमा पराजित (दोस्रो पटक) हुनु पर्यो। 

तर, उनी संघीय समाजवादी पार्टीमा पनि लामो समय रहन सकेनन्, एमालेमै फर्के। र, २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्य र बागमती प्रदेशको मन्त्री समेत बने। तर, मुख्यमन्त्री डोरमणि पौडेलसँग झगडाका कारण मन्त्री पदबाट समेत हटाइए।

यसबाहेक महिलासँग उनले गरेका विवादास्पद र आपत्तिजनक व्यवहारका कारण उनी विवादमा पर्दै आएका छन्। मेयर छँदा महानगरकी एकजना पूर्व महिला कर्मचारीलाई  ‘गलत नियत’  का साथ भेटघाटका लागि पटक–पटक गरेको प्रयास र एकजना पत्रकारसँग राख्न खोजेको सम्बन्ध केही वर्षअघि बाहिरिएको थियो। 

महानगर प्रमुखमा स्थापितले एमालेको टिकट पाएलगत्तै उनका यी अनैतिक प्रयास सञ्चारमाध्यमले उठाउन थालेका छन्। सुनचोरीको आरोप लागेका पोखराका उम्मेदवार दीपक पौडेलको जस्तै स्थापितको टिकट एमाले अध्यक्ष केपी शर्मा ओलीले नखोसे पनि यी विवादास्पद हर्कतको प्रचारले स्थापितलाई पक्कै अप्ठेरोमा पार्नेछ।

काठमाडौँ महानगरमा प्रमुखका लागि उम्मेदवारी त थुप्रैले दर्ता गराएका छन्। तर, मुख्य प्रतिस्पर्धा भने विवादमा नपरेकी र अहिलेसम्म परीक्षण नभएकी कांग्रेसकी सिंह र चारित्रिक कमजोरीका कारण पटक–पटक विवादमा परिरहने, तर जनप्रतिनिधिका रुपमा अनुभवी स्थापितबीच नै हुनेछ। 

काठमाडौंमा कति छ एमाले र काँग्रेसको शक्ति ? 
काठमाडौं महानगरपालिकामा ०७४ को चुनावमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत पाएका थिए भने काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए । रञ्जु दर्शना न्यौपानेले २३ हजार ४३९ मत पाएकी थिइन् । स्वतन्त्र उम्मेदवार बनेका किशोर थापाले १८ हजार ४९६ मत पाएका थिए । माओवादीका सर्वोत्तम डंगोलले ७ हजार ९०६ मत पाएका थिए भने नयाँ शक्तिका पवित्र बज्राचार्यले ६ हजार ५० मत पाएका थिए । अन्य २२ जना उम्मेदवारले २ सय भन्दा कम मत पाएका थिए । साना उम्मेदवारको जम्मा मत जोड्दा १ हजार २१३ मत मात्र पुग्छ । 

उपमेयरतर्फको मत हेर्दा काँग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत ल्याएर जितेकी थिइन् भने एमालेको समर्थन पाएका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका थिए । साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ र माओवादीकी शुसिला कुमारी पौडेलले १० हजार ४४८ मत पाएकी थिइन् । नयाँ शक्ति पार्टीकी सविना अर्यालले ३ हजार ४९३ मत पाएकी थिइन् । यसबाहेक अन्य उम्मदेवारले ३ सय भन्दा कम मत पाएका थिए । 

काठमाडौं महानगरपालिकामा ३२ वटा वडा छन् । यीमध्ये एमालेले १८ वटा वडा जितेको थियो भने नेपाली काँग्रेसले १४ वडा जितेको थियो । एमालेले १, २, ३ र ४ नम्बर वडा जितेको थियो त्यसैगरी वडा नम्बर ७, ९, १२, १३, १४, १५ र १८ नम्बर वडा जितेको थियो । त्यस्तै वडानम्बर २१, २२, २३, २४, २७, ३१ र ३२ नम्बर वडाहरु एमालेले जितेको थियो । 

नेपाली काँग्रेसले ०७४ मा जितेका वडाहरुमा ५, ६, ८, १०, ११, १६ र १७ नम्बर छन् । त्यसैगरी वडा नम्बर १९, २०, २५, २६, २८, २९ र ३० नम्बर वडा नेपाली काँग्रेसले जितेको थियो । राप्रपाले एमालेसँग तालमेल गरे पनि एउटै वडाध्यक्ष जितेन । त्यस्तै माओवादी, विवेकशील र साझा पार्टीले पनि एउटै वडाध्यक्ष जितेनन् । विगतको यो परिणामलाई हेर्दा काठमाडौंको चुनावमा मुख्य प्रतिस्पर्धा एमाले र नेपाली काँग्रेसबीचमै हुने देखिन्छ । 

यसअघि विवेकशीलकी रञ्जुले पाएको २३ हजार र साझा पार्टीका किशोर थापाले पाएको १८ हजार समेत करिब ४१ हजार मत कता जान्छ भन्ने अन्योल छ । त्यसबेला रञ्जु र किशोरले नेपाली काँग्रेसको धेरै मत काटेको अनुमान गरिएको थियो । यसपालि पनि विवेकशील साझा पार्टीले बेग्लै उम्मेदवारी दिएको अवस्थामा केही भोट साझा पार्टीले नै होल्ड गर्ने देखिन्छ भने रञ्जु र किशोरले पाएको ४१ हजार मत मध्ये धेरैजसो काँग्रेस र एमालेमा बाँडिन सक्छ । यसपटक पनि युवा पुस्ताको केही भोट बालेन शाहले होल्ड गर्ने सम्भावना छ । तर, यसअघि माओवादीले पाएको ७ हजार र नयाँ शक्तिले पाएको ६ हजार भोटचाहिँ सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंहतिर जाने सम्भावना छ । 

काठमाडौं महानगरपालिकामा ०७४ सालमा २ लाख ७९ हजार ३०९ मतदाता थिए । यसमध्ये खसेको सदर मत संख्या १ लाख ६६ हजार ५ सय ६६ थियो । यसपटक मतदाता संख्या ३ लाख २ सय ४२ पुगेका छन् । अर्थात् काठमाडौंमा २० हजार ९३३ मतदाता थपिएका छन् ।

विगतमा खसेको मतको अवस्था हेर्दा यसपालि काठमाडौं महानगरमा १ लाख ८० हजार मत खस्न सक्छ । तेस्रो शक्तिका रुपमा विगतमा जस्तै कोही बलियो उम्मेदवार उभिएन भने यसपटक जित हात पार्न काँग्रेस वा एमालेका उम्मेदवारले १ लाखभन्दा बढी मत ल्याउनुपर्ने हुन सक्छ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .