ad ad

राजनीति


वर्षमानको आरोप : मतपत्र चपाउन नसकिने भनेर निर्वाचन आयोगले ओलीको भाषा बोल्यो

वर्षमानको आरोप : मतपत्र चपाउन नसकिने भनेर निर्वाचन आयोगले ओलीको भाषा बोल्यो

फाइल तस्बिर


नेपालखबर
बैशाख १८, २०७९ आइतबार १७:३०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस पटक मतपत्र च्यात्न र चपाउन सकिँदै भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषा बोलेको आरोप लगाएका छन्। 

१३३ औँ मे दिवसको अवसरमा आइतबार अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएका छन्। 

प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिँदैन भन्ने अभिव्यक्ति र ओलीको पनि त्यही अभिव्यक्ति मिलेको भन्दै पुनले प्रश्न गरेका हुन्। 

कुनै नेता विशेष र पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न नमिल्ने उनले बताएका छन्। 

प्रमुख आयुक्त थपलियाले केही दिनअघि २०७४ को निर्वाचनमा माओवादी कार्यकर्ताले भरतपुरमा रेनु दाहालले हार्ने अवस्था आएपछि मतपत्र च्यातेका थिए। मतपत्र च्यातेपछि केही वडामा फेरि मतदान गराएपछि रेनुले जितेकी थिइन्। 

नेता पुनले आयोगलाई निष्पक्ष र व्यवसायिक भूमिका निर्वाह गर्न पनि आग्रह गरेका छन्। उनले निर्वाचन आयोग रेफ्रीको भुमिकामा बस्नुपर्ने पनि बताए। 

‘हामी विभिन्न संवैधानिक निकाय, व्यक्ति, प्रशासन, सबै संयन्त्रलाई निष्पक्षतापूर्वक निर्वाचन गर्न अपिल गर्न चाहान्छौँ। आयोगका प्रमुख आयुक्त जस्तो व्यक्ति, त्यो कुर्सिमा बसेको व्यक्ति कोही पार्टीको हुँदैन। कोही समर्थक हुँदैन। उच्च व्यवसायिक क्षमता भएको, दक्षता भएको मान्छे नै त्यहाँ पुग्ने हो संविधानले त्यो विश्वास गरेको छ', उनले भने, 'त्यसअर्थमा निर्वाचन आयोग आज रेफ्रीको भूमिकामा । रेफ्री आफैँ मैदानमा ओर्लेर खेल खेल्न लाग्यो। गोल हान्न लाग्यो भने त्यो खेल कस्तो हुन्छ? म आयोगलाई पनि अनुरोध गर्न चाहान्छु, तपाईँहरु पनि आफ्नो मर्यादामा बसेर निष्पक्ष ढंगले आम जनताले देख्ने, मतदाताले देख्नेगरी रेफ्रीको भूमिकामा बसिदिनुस्।'

उनले रेफ्री जति व्यवसायिक भयो त्यति नै खेल फेयर हुने पनि बताएका छन्। 'लोकतन्त्रमा निर्वाचन आयोग जति निष्पक्ष, व्यवसायिक, दक्ष हुन्छ । त्यति नै लोकतन्त्र सुदृढ हुन्छ । हिजो उहाँ (दिनेश थपलिया) ले मतपत्र बलियो कागज राखेका छौँ, अब चपाउन, च्यात्न सकिँदैन भन्नुभयो। त्यही कुरो केपी ओलीजीले बोलिराख्नु भएको छ', उनले भने, 'केपी ओलीजीको बोली र निर्वाचन आयोगको प्रमुखको बोली कसरी मिल्यो? यसमा हाम्रो आपत्ति छ। निर्वाचन आयोगप्रति हाम्रो विश्वास छ, तर यस्ता बोलीहरुप्रति हाम्रो आपत्ति छ। कुनै नेता विशेष, कुनै पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न मिल्दैन।'

उनले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरुले निष्पक्ष भूमिका खेल्न नसकेको पनि बताए। नेता पुनले संविधान र लोकतन्त्रको रक्षाका निम्ति वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै वर्तमान उपलब्धीको रक्षापछि गठबन्धनका दलहरु आपसमा प्रतिस्पर्धा गर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .