ad ad

राजनीति


अमेरिकासँगै अन्य पश्चिमा मुलुकबाट पनि बाक्लियो नेपाल भ्रमण

अमेरिकासँगै अन्य पश्चिमा मुलुकबाट पनि बाक्लियो नेपाल भ्रमण

स्विट्जरल्यान्डको विदेश मन्त्रालयका एसिया प्रशान्त क्षेत्र हेर्ने एसिस्टेन्ट स्टेट सेक्रेटरी आन्द्रियस राफेल नागेली परराष्ट्रमन्त्री नारायण खड्कालाई सोमबार मन्त्रालयमा भेट्दै


सन्तोष घिमिरे
बैशाख १९, २०७९ सोमबार २२:१२, काठमाडौँ

अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएका बेला नेपालप्रति अन्य पश्चिमा मुलुकको चासो समेत बढ्न थालेको देखिएको छ। 

खासगरी अमेरिकासँग सामरिक र रणनीतिक हिसाबले नजिक रहेका युरोपेली मुलुकका अधिकारीको नेपालमा भ्रमण भइरहेको छ। त्यसैगरी ती देशसँग नेपालका द्विपक्षीय संयन्त्रका बैठक पनि आयोजना भइरहेका छन्। 

परराष्ट्र मन्त्रालयले द्विपक्षीय परामर्श संयन्त्रका बैठकलाई नियमित कूटनीतिक बैठक भनेको छ। तर जानकार सरकारी अधिकारीहरु पश्चिमा मुलुकसँगको अन्तक्र्रिया बढ्नुमा ती मुलुकको नेपालप्रतिको बढ्दो चासो पनि कारक रहेको बताउँछन्। 

अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मामिला हेर्ने विशेष संयोजक उज्रा जिया जेठ ६ देखि ८ सम्म नेपाल भ्रमणमा आउँदैछिन्। नेपाल आउनुअघि उनले भारतको धर्मशाला पुगेर तिब्बतका निर्वासित धर्मगुरु दलाई लामासँग भेटवार्ता गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

उक्त भ्रमणको चर्चाकै बेला स्विट्जरल्यान्ड र फ्रान्सका तर्फबाट भ्रमणहरु भइरहेका छन्। यी दुवै मुलुक अमेरिकासँग निकट मानिन्छन्। 

स्विट्जरल्यान्डको विदेश मन्त्रालयका एसिया प्रशान्त क्षेत्र हेर्ने एसिस्टेन्ट स्टेट सेक्रेटरी आन्द्रियस राफेल नागेली हाल नेपाल भ्रमणमा छन्। उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग सोमबार परराष्ट्र मन्त्रालयमा भेटेका छन्। भेटमा स्विट्जरल्यान्डको नेपालमा जारी सहयोगबारे कुराकानी भएको थियो। आजै नेपाल—स्विट्जरल्यान्ड द्विपक्षीय परामर्श बैठक काठमाडौंमा बसेको छ। 

बैठकमा स्विट्जरल्यान्डका अधिकारीले युक्रेन मामिलामा राष्ट्रसंघीय मञ्चमा नेपालले लिएको ‘पोजिसन’ को सराहना गरेको स्रोतले जनाएको छ। राष्ट्रसंघीय मञ्चहरुमा नेपालले युक्रेनका पक्षमा चारपटक मतदान गरेको थियो भने रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को साधारण सदस्यबाट निलम्बन गर्ने प्रस्तावमा तटस्थ बसेको थियो। 

परराष्ट्र मन्त्रालयका अनुसार द्विपक्षीय परामर्श बैठकमा सहकार्य अभिवृद्धि गर्ने विषयका अलावा जलवायु परिवर्तन, आप्रवासन तथा मानवअधिकार लगायत क्षेत्रीय तथा बहुपक्षीय फ्रेमवर्कभित्र पर्ने विश्वव्यापी मुद्दामा छलफल भएको थियो।  त्यसैगरी सन् २०२६ सम्म विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको लक्ष्यबारे पनि छलफल भएको थियो।

नेपाल र स्विट्जरल्यान्डबीच व्यापार, लगानी र पर्यटन क्षेत्रमा सहकार्यका सम्भावनाबारे परामर्श बैठकमा छलफल भएको थियो। स्विस कोअपरेसन स्ट्राटेजी २०२३—२०२६ बमोजिम नेपाललाई विकास सहयोग जारी राख्ने प्रतिबद्धता स्विट्जरल्यान्डका अधिकारीले व्यक्त गरेका थिए। 

पछिल्लो समय फ्रान्सका तर्फबाट पनि नेपालमा भ्रमण भइरहेका छन्। यही साता नेपाल—फ्रान्स द्विपक्षीय परामर्श बैठक पनि नेपालमा आयोजना हुँदैछ। स्रोतका अनुसार बैठकमा भाग लिन फ्रान्सेली विदेश मन्त्रालयका एक उच्च अधिकारी नेपाल आउँदैछन्। 

गतसाता मात्रै फ्रान्सेली सेनाको अन्तर्राष्ट्रिय सम्बन्ध मामिला हेर्ने ब्रिगेडियर जनरल जियोफ्रोय डी लारौजियरे पनि नेपाल आएका थिए। उनले रक्षासचिव किरणराज शर्मा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटेका थिए। फागुन तेश्रो साता फ्रान्सेली सांसदको एक टोली नेपाल आएको थियो। टोलीले राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ अधिकारीसँग भेटेको थियो। 

युक्रेन र रुसबीचको द्वन्द्वमा नेपालले युक्रेनको पक्ष लिएको प्रति अमेरिका र युरोपेली मुलुकले खुसी व्यक्त गर्दै आएका छन्। 

गत फेब्रुअरी २५ मा नेपालस्थित युरोपेली मुलुकका राजदूतले परराष्ट्रमन्त्री खड्का र परराष्ट्रसचिव भरतराज पौड्यललाई भेटेर युक्रेनमाथि रुसले गरेको हमलाबारे छलफल गरेका थिए। उनीहरुले उक्त हमलाको सशक्त विरोध गरेका थिए। 

नेपालको संसदबाट अमेरिकी सहयोग नियोग एमसीसी अन्तर्गतको ६० अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता अनुमोदन भएपछि अमेरिकी अधिकारीको भ्रमण बाक्लिँदो छ। गतसाता एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शुक्रबार भेटेर एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयन अवस्थाबारे छलफल गरे। 

गत साता नै अमेरिकाका पाँच सांसदले नेपाल भ्रमण गरेर नेपालले युक्रेन मामिलामा लिएको ‘पोजिसन’ को सराहना गर्न भ्याए। उक्त सांसद टोली आउनु चार दिनअघि अमेरिकी उपसहायकमन्त्री केली केडरलिङ् काठमाडौँमै थिइन्। उनले परराष्ट्रमन्त्री डा. खड्कासँग भेटेकी थिइन्। 

गत फ्रेब्रुअरीमा एमसीसीसँगको सम्झौता नेपालको संसदबाट अनुमोदन भएपछि पश्चिमा मुलुक अहिलेको सत्ता गठबन्धनप्रति सकारात्मक बनेको सरकारी अधिकारीहरु बताउँछन्। 

‘अमेरिकी सरकारी अधिकारीका अलावा अमेरिकासँग सामरिक र रणनीतिक रुपमा निकट रहेका मुलुकका तर्फबाट पनि चासो बढेको छ। किनकि युक्रेन मामिलामा नेपालले लिएको पोजिसनका कारण पनि देउवा नेतृत्वको सत्ता गठबन्धनप्रति उनीहरु उत्साही बनेका हुन्,’ पश्चिमा मुलुकसँगको नेपालको सम्बन्ध हेरिरहेका एक सरकारी अधिकारीले भने। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .