ad ad

राजनीति


प्रमुख पद ताक्दा वडा गुमाउँदै माओवादी-समाजवादी!

तल तालमेल नहुँदा गठबन्धनको भोट तितरबितर हुने डर
प्रमुख पद ताक्दा वडा गुमाउँदै माओवादी-समाजवादी!

फाइल फोटो


रुपक चौलागाईं
बैशाख २०, २०७९ मंगलबार १८:०, काठमाडौँ

सत्ता गठबन्धनबीच महानगरपालिका र उपमहानगरको प्रमुख-उपप्रमुख पदमा मात्रै राम्ररी भागबन्डा सम्भव भएको छ। 

तर त्यसभन्दा तलका पदहरुमा भागबन्डा नहुँदा कांग्रेसबाहेकका दलहरूलाई समस्या भएको छ। ६ महानगर र ११ उपमहानगरपालिकाको प्रमुख–उपप्रमुखमा सत्ता गठबन्धनले सहमति गरेका थिए।

अहिले त्यही सहमतिअनुसार गठबन्धनका दलहरु चुनावी प्रचारमा होमिएका छन्। गठबन्धनमा भएको भागबन्डामा असन्तुष्टि जनाउँदै केही ठाउँमा ‘बागी’ उम्मेदवार मैदानमा छन्।

विराटनगर, पोखरा र चितवनमा बलिया बागी उम्मेदवारका कारण सत्ता गठबन्धन दललाई साँच्चिकै अफ्ठ्यारो पर्ने अवस्था छ। 

भरतपुर महानगरपालिकामा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, विराटनगरमा पनि माओवादीबाट स्थानीय कार्यकर्तामाझ बलियो पकड भएकी नमिता न्यौपाने स्वतन्त्र उम्मेदवारका रुपमा खडा भएकी छन्। 

केन्द्रमा सत्ता गठबन्धनको निर्णयलाई मानेर नगर प्रमुख र उपप्रमुख पदमा तालमेल भए पनि वडास्तरसम्म सहमति नजुटेको हो। 

सत्ता गठबन्धनको सहमति अनुसार भरतपुर महानगरको प्रमुख र ललितपुर महानगरको उपप्रमुखमा माओवादी केन्द्रले आफ्नो उम्मेदवार तय गरेको छ। भरतपुरको उपप्रमुख र ललितपुरको प्रमुखमा भने कांग्रेसले आफ्नो उम्मेदवार सहमतिअनुसार नै तय गरेको छ। 

यता, चर्चा र चासोको केन्द्रमा रहेको काठमाडौं महानगरपालिका प्रमुख कांग्रेसले लिएको छ भने उपप्रमुख नेकपा एकीकृत समाजवादीले लिने सहमति भएको छ।

पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा कांग्रेसले उम्मेदवार अघि सारेको छ। विराटनगरको प्रमुख कांग्रेसले र उपप्रमुख जनता समाजवादीले लिएको छ। वीरगन्ज महानगरको प्रमुख जसपाले र उपप्रमुख कांग्रेसले लिनेगरी सहमति भएको छ। 

वडामा छैन तालमेल
भरतपुर महानगरपालिका प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेसलाई अघि बढाउने गरी सहमति भएको छ। त्यहीअनुरुप मेयर र उपमेयरका उम्मेदवारहरू घरदैलो अभियानमा जुटेका छन्।

प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारीलाई अघि सारेको सत्ता गठबन्धनले तल्ला तहका अधिकांश ठाउँमा तालमेल गरेको छैन।

२९ वडामध्ये २० वटा वडा कांग्रेसले लिएको छ। बाँकी वडाहरूमा गठबन्धनका अन्य दलबीच भागबन्डा मिलाइएको छ। गठबन्धनको भागबन्डा सुरु हुँदादेखि नै केन्द्रीयस्तरमा मिल्ने सहमति थियो। तर तल भने विरोधका आवाज सुनिएका थिए। जसको असर अहिले वडामा देखिन थालेको छ। 

माथि तालमेल वडामा मत गुम्दै
६ महानगरपालिकामध्ये ३ वटा लिएको कांग्रेसले ३ वटा नै महानगरमा उपप्रमुख लिएको छ। काठमाडौं, ललितपुर र विराटनगरमा प्रमुख लिएको कांग्रेसले वीरगन्ज, भरतपुर र पोखरामा उपप्रमुख लिएको छ। 

यसो हुँदा कांग्रेसले मुख्य पदमा वडादेखिकै मत गठबन्धनकारी सबै दलबाट लिनेछ। तर, गठबन्धनमा सामेल अन्य दलहरु माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले धेरै वडाको मत अन्य दलको चुनाव चिह्नमा हाल्नुपर्ने हुन्छ।

माओवादी केन्द्रले ४ वटा महानगरपालिकाको प्रमुखदेखि वडासम्मका महत्वपूर्ण पदमा गठबन्धनका नाममा अर्कै पदको चुनाव चिन्हमा भोट हाल्नुपर्नेछ। उता, एकीकृत समाजवादीले पनि पोखराको प्रमुखबाहेक वडामा पनि भागबन्डा पाएको छैन।

विराटनगरमा बागीलाई माओवादीको साथ!
विराटनगर महानगरपालिकाको प्रमुख पदकी आकांक्षी नमिता न्यौपानेलाई माओवादीले केन्द्रले गठबन्धनको निर्णयविपरीत सघाउन थालेको छ। 

विराटनगरको प्रमुख कांग्रेस र उपप्रमुख जसपाले लिने सहमति भएको थियो। यहाँका वडा तहमा पनि माओवादीले छुट्टै उम्मेदवार तय गरेको छ। 

जसले गठबन्धनभित्रको किचलो बढाएको छ। अघिल्लो स्थानीय तह निर्वाचनमा यहाँ माओवादी र जसपाबीच तालमेल भएको थियो। तर, अहिले यहाँ कांग्रेसले आफ्नो अडान कायमै राखेपछि अन्तिममा माओवादी ब्याक भएको थियो।

माओवादी छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी न्यौपानेलाई माओवादीकै नेता कार्यकर्ताले सहयोग गरेपछि चासो बढेको छ। 

माओवादीको यो निर्णयले त्यहाँ पनि गठबन्धन धरापमा परेको अनुमान गरिएको छ। यद्यपि माओवादीले त्यहाँको गठबन्धन छाड्ने औपचारिक निर्णय गरेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .