प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरामा मंगलबार दुई चुनावी आमसभालाई सम्बोधन गर्दैछन्।
नेपाली कांग्रेस डडेल्धुराका कार्यबाहक सभापति डिल्लीराज जोशीका अनुसार प्रधानमन्त्री देउवाले बिहान ११ बजे सदरमुकाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुढामा हुने सभालाई सम्बोधन गर्ने कार्यतालिका छ।
प्रधानमन्त्री देउवासँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केन्द्रीय नेताहरूले पनि आमसभालाई सम्बोधन गर्ने छन्। चुनावी सभालाई सम्बोधन गरेर देउवा आजै संघीय राजधानी काठमाडौँ फर्किने कार्यक्रम रहेको नेता जोशीले जानकारी दिए।
सोमबार कैलालीको धनगढीमा सत्तागठबन्धनको चुनावी सभालाई सम्बोधन गरेका देउवाले त्यसपछि गृह पालिका गन्यापधुरा–२ बडालको चुनावी सभालाई सम्बोधन गरेका थिए।
हिजै साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत उनी डडेल्धुरा सदरमुकाम पुगेका हुन्। कांग्रेसको आन्तरिक विवादले चुनाव जित्न अप्ठ्यारो परेपछि गृहजिल्ला डडेल्धुरामा एक रात बास बसेका देउवाले मंगलबार दुई चुनावी सभालाई सम्बोधन गर्न लागेका हुन।
उता कांग्रेसबाट कारबाहीमा परेका कर्ण मल्ल (कांग्रेस बीपी)ले देउवाको काउण्टरमा मंगलबार नै चुनावी सभा गर्ने तयारी गरेका छन्।
‘प्रधानमन्त्री ज्यूले केही बोल्नुहुन्छ होला, उहाँ बोलिसकेपछि त्यसको प्रतिक्रिया दिन आज हामी पनि सभा गर्ने तयारीमा छौँ,’ मल्ल निकट एक नेताले भने।
Shares

प्रतिक्रिया