ad ad

राजनीति


देउवा अमेरिका उड्नुअघि मन्त्री हेरफेर र शपथ!

रोकिएका समाजवादीका चार सांसदलाई पनि लाने वचन
देउवा अमेरिका उड्नुअघि मन्त्री हेरफेर र शपथ!

फाइल फोटो


सागर न्यौपाने
जेठ २४, २०७९ मंगलबार ११:५२, काठमाडौँ

सोमबार दिनभर नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा जान तम्तयार ४ नेताहरु राष्ट्रपति कार्यालय शीतल निवासको फोन कुरिरहे।

आइतबार दिउँसो एकीकृत समाजवादीको सचिवालय बैठकले पर्यटन मन्त्री प्रेम आले, स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम मन्त्री कृष्ण श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

उनीहरुलाई फिर्ता बोलाएर सरकारमा नयाँ अनुहार पठाउने सचिवालय निर्णयलगत्तै अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई सूची बुझाएको समाजवादीका नेताहरुले बताए। 

नयाँ पठाइएका मन्त्रीहरुको शपथ सोमबार दिउँसो हुने बताइएको थियो। 

नयाँ मन्त्रीमा नाम सिफारिस भएका नेताहरुले दौरा सुरुवाल सिलाएर शपथको लागि शीतल निवासको फोन कुरिरहे।

उता शीतल निवासले पनि मन्त्रीहरुको शपथको लागि नाम किन प्राप्त नभएको भन्दै तारन्तार प्रधानमन्त्री कार्यालयमा जानकारी मागिरह्यो।

तर, प्रधानमन्त्री कार्यालयले पनि ‘कन्फर्म’ नभएको भन्दै शीतल निवासमा मन्त्रीहरुको नाम नै पठाइ दिएन।

उता मन्त्री बन्न तयार नेताहरु शुभकामना साटिरहेका थिए। रामकुमारी झाँक्री फिर्ता हुने भएपछि त्यो ठाउँमा जाने कुराले उत्साहित मेटमणि चौधरीले त एक टेलिभिजन कार्यक्रममा यो पटक हल्ला नभइ मन्त्री बन्न लागेको पनि बताउन भ्याए।

मेटमणिसहित गैरसांसद शेरबहादुर कुवँरले पनि मन्त्री हुन लागेको भन्दै सामाजिक सञ्जालदेखि फोन, म्यासेजबाट शुभकामना पाइरहेका थिए। 

उनीहरुलाई भेटेरै शुभकामना दिने शुभेच्छुक पनि कम थिएनन्। मन्त्री हुन दौरासुरुवाल सिलाएर बसेका उनीहरुलाई सोमबार अपरान्हसम्म शीतल निवासबाट फोन नै आएन।

बरु सोमबार दिउँसो साढे १ बजे मन्त्री फिर्ता गर्ने अध्यक्ष नेपालको प्रयास अलपत्र भएको सूचना बाहिरियो।

प्रधानमन्त्री देउवाले नमानेपछि मन्त्रीहरु फेरिने सम्भावना टरेको जानकारी पाएपछि मन्त्रीको सूचीमा परेकाहरु जिल्लिए,निराश भए।

पार्टीको निर्णय कार्यान्वयनमा ढिलाइ भएपछि अध्यक्ष नेपाल मधेस प्रदेशस्थित गृहजिल्ला रौतहट झरेका छन्।

किन रोकियो मन्त्री हेरफेर?
एकीकृत समाजवादीका एक नेताले नेपालखबरलाई दिएको जानकारी अनुसार ४ कारणले मन्त्री फेर्ने काम रोकिएको छ।

पहिलो, ‘जनता समाजवादी पार्टीभित्र मन्त्री फेर्न तीव्र दबाब रहेछ,’ माधव नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने,‘थोरै समयमा सबैलाई मन्त्री बनाउन संभव थिएन।’

देउवा सरकारमा मधेसको अर्काे दल लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने प्रयासमा छ।

प्रधानमन्त्री देउवासँग दुई तीन चरणमा छलफल भइसकेको छ। मंगलबार अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेट गरेका छन्। 

‘लोसपा पनि सरकारमा आउने तयारीमा रहेकोले केही दिन कुर्न पाए हुने भन्ने प्रधानमन्त्री देउवाको चाहना रहेछ,’ ती नेताले दोस्रो कारण उल्लेख गरे।

तेस्रो कारण, ‘एकीकृत समाजवादीको मन्त्री हेरफेर गर्ने निर्णयको सीधा असर कांग्रेस र माओवादी केन्द्रमा परेको रहेछ,’ ती नेताले थपे, ‘हाम्रो पार्टीको निर्णयले ती दुई पार्टीमा ठूलो दबाब बढेको छ। कम्तीमा २ दिन रोकौँ भनेर प्रधानमन्त्रीले हाम्रो अध्यक्षसँग भन्नुभएछ।’ 

कांग्रेसमा पनि दबाब
अहिले मन्त्री हेरफेर गर्नुपर्छ भनेर कांगेसमै पनि दबाब छ।

महामन्त्री गगन थापाले कांग्रेसमा नयाँ नेतालाई मन्त्री बनाउनुपर्ने दबाब परेको बताए।

‘हामीलाई थुप्रै सांसद साथीहरुले मन्त्री बनाउनुपर्यो भनिराख्नु भएको छ।’

र, चौथो करण, माधवकुमार नेपाल आँफैले पनि २ दिन मन्त्री बसाइएकाहरुको शपथ गराउन चाहेनन्।

‘स्वास्थ्य राज्यमन्त्रीबाट फुल मन्त्रीमा बढुवा हुनुभएका भवानीप्रसाद खापुङ देशबाहिर इजिप्टमा हुनुहुन्छ,’ समाजवादीका ती नेताले भने, ‘उहाँ २६ गते बिहान मात्रै आउनुहुन्छ।’

यी ४ कारणले मात्र मन्त्री हेरफेर रोकिएको होइन। कतिपयले बजेट पास नहुन्जेल रोकिएको तर्क पनि गरेका छन्।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि पाँच दलीय गठबन्धनमा सबै पार्टीका समस्या भएकोले हेरफेर कम्तीमा ३ दिन रोकिएको भन्दै मन्त्री बन्नेहरूलाई आश्वस्त पारेका छन्।

‘गठबन्धनमा रहेका पाँचै दलभित्र व्यवस्थापन गर्न समय आवश्यक पर्यो,’ अध्यक्ष नेपालको भनाई उधृत गर्दै अर्का नेताले भने, ‘उहाँहरुले समय मागेपछि हामीले रोक्नु भएन।’ अध्यक्ष नेपालले त्यो समय २६ गतेसम्म रहेको बताए।

‘२६ गते बेलुका तपाइँहरुको शपथ हुन्छ, पार्टीले निर्णय गरेपछि पछि हट्ने कुरा हुँदैन। गठबन्धनका अन्य दलभित्र कुरा मिले सबैको एकैपटक मन्त्री हेरफेर भएर एकैपटक शपथ हुन्छ, नत्र हाम्रो पार्टीबाट जानेहरुको मात्र भएपनि हुन्छ,’ अध्यक्ष नेपालले मन्त्री प्रस्ताव गरिएका नेताहरुसँग भनेका छन्।

स्रोतहरूका अनुसार प्रधानमन्त्री देउवा चाँडै अमेरिका जाने तयारीमा छन्। त्यसअघि २६ गते साँझ मन्त्रीहरुको शपथ गराउने देउवाको तयारी छ।

मन्त्री बन्न तम्तयारले अवसर नपाए?
सोमबार बिहान साढे ८ बजे बालुवाटारमा शीर्ष गठबन्धनको बैठक बसेको थियो। त्यही बैठकमा मन्त्री हेरफेर गर्ने निर्णय तत्काल नगरौं भनेर प्रधानमन्त्रीले भनेका थिए।

मन्त्री बनाउने भनेर पार्टीले नाम सिफारिस गरेर पनि मन्त्री बन्न नपाए पार्टीमा बस्नुको अर्थ नहुने उनीहरु बताउँछन्।

‘हामीले मन्त्री बन्छौँ भनेका होइनौँ, पार्टीले निर्णय लिइसकेको छ, अब मन्त्री नबनाए यो पार्टीमा बस्नुको के अर्थ? निर्णय कार्यान्वयन गर्न नसक्ने पनि पार्टी हुन्छ?’ मन्त्रीको सूचीमा रहेका अर्का एक नेताले असन्तुष्टि जनाउँदै भने, ‘त्यही भएर पार्टी निर्णय चेन्ज हुने सम्भावना छैन।’

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि पार्टीको निर्णय फिर्ता नहुने अडान लिए।

‘हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निर्णय एकीकृत समाजवादीले गर्छ,’  खनालले भने, ‘हामीले पहिले नै सहमति त्यस्तै गरेका थियौँ। ६ महिनासम्म एउटा टिमलाई दिने। त्यस पछाडि अर्को टिम पठाउने भन्ने सुरुकै हाम्रो सहमति हो। त्यही अनुसार निर्णय गरेको हो।’ 

उनले यसबारेमा पार्टीको कमिटीमा सल्लाह गरेर निर्णय लिने पनि बताएका छन्। 

के लोसपा सरकारमा जान्छ?
अध्यक्ष महन्थ ठाकुर निकट स्रोतले अहिलेसम्म देउवा सरकारमा सहभागी हुने विषयमा छलफल नचलेको बतायो।

‘अहिलेसम्म कहीँ पनि देउवा सरकारमा सहभागी हुने भनेर कुरा भएको मैले थाहा पाएको छैन,’ स्रोतले भन्यो, ‘अध्यक्षसँग म प्राय सँगै हुन्छु त्यो सल्लाह भएकै छैन।’

 (यसअघि प्रधानमन्त्री जेठ २७ गते अमेरिका जाने भन्ने व्यहोरा पर्न गएकोमा सच्याइएको छ। प्रधानमन्त्रीको कार्यालयले अमेरिका भ्रमणको मिति तय हुन बाँकी रहेको स्पष्ट पारेको छ– सं) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .