ad ad

राजनीति


काठमाडौँका ८ संसदीय निर्वाचन क्षेत्रमा बालेन्द्र तेस्रो, एउटामा पहिलो

काँग्रेस र एमाले बराबर, निर्णायक बन्दै स्वतन्त्र जनमत
काठमाडौँका ८ संसदीय निर्वाचन क्षेत्रमा बालेन्द्र तेस्रो, एउटामा पहिलो

केशव सावद
जेठ ३१, २०७९ मंगलबार २१:१०, काठमाडौँ

आगामी मंसिरभित्र सम्पन्न हुने संसदीय चुनावको मिति घोषणा नहुँदै काठमाडौंबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेहरुको लर्को लाग्न थालिसकेको छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले सानदार जित निकालेपछि सोही जनमतलाई हेरेर स्वतन्त्र उम्मेदवारहरु संसदीय चुनाव लड्न तम्सिएका हुन् ।

काठमाडौं जिल्लामा १० वटा संसदीय निर्वाचन क्षेत्र छन् । यीमध्ये ९ वटा निर्वाचन क्षेत्रलाई महानगरपालिकाले छुन्छ । क्षेत्र नम्बर १० चाहिँ महानगरपालिकाभित्र पर्दैन ।

महानगरसमेत समेटिएर बनेका ९ वटा निर्वाचन क्षेत्रमा बालेन्द्र साहले कति मत पाएका थिए भन्ने कुरा वडागत जनमतका आधारमा विश्लेषण गर्न सकिन्छ । महानगरबाहिरका पालिकाहरुमा भने बालेन्द्रलाई भोट नखसेकाले स्वतन्त्रको मत कति छ भनेर हिसाब निकाल्न अप्ठ्यारो छ ।

हामीले यहाँ हरेक निर्वाचन क्षेत्रमा पर्ने महानगरका वडाहरुमा बालेन्द्रले पाएको मतलाई जोडेका छौं । साथै, कांग्रेस र एमालेले महानगरका साथै निर्वाचन क्षेत्रमा समेटिएका अन्य पालिकालाई समेत जोडेर  हिसाब निकालेका छौं ।

स्थानीय तह निर्वाचनको मत परिणामले काठमाडौँका ९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ८ वटामा महानगर प्रमुख बालेन्द्र शाह तेस्रो स्थानमा देखिएका छन्। स्थानीय चुनावको परिणामलाई आधार मानेर विश्लेषण गर्दा बालेन्द्र काठमाडौं क्षेत्र नम्बर १ मा पहिलो देखिएका छन् । यही जनमतकै आधारमा संसदीय चुनावमा मत खस्ने हो भने काठमाडौं १ बाट स्वतन्त्रले  प्रतिनिधिसभामा जित हात पार्ने सम्भावना देखिन्छ ।

महानगर प्रमुख शाह प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २, ३, ४, ५, ६, ७, ८ र ९ मा भने तेस्रो स्थानमा देखिएका छन्। आगामी चुनावमा यी क्षेत्रबाट स्वतन्त्र जनमतले जित नै हात पार्न नसके पनि कांग्रेस वा एमालेमध्ये कसलाई जिताउने वा हराउने भन्ने निर्णायक भूमिका खेल्न सक्छ ।

काठमाडौंका अन्य निर्वाचन क्षेत्रहरुको विश्लेषण गर्दा निर्वाचन क्षेत्र नम्बर ८ मा पनि स्वतन्त्रले काँग्रेस र एमालेसँग कम ‘ग्याप’ बनाएको हुनाले त्यहाँ पनि बालेन्द्रको मत बलियो देखिन्छ । बाँकी स्थानमा बालेन्द्र शाहले पाएको मतले स्वतन्त्रलाई तेस्रो अर्थात, निर्णायकरुपमा उभ्याएको छ ।

काँग्रेस र एमालेले चाहिँ काठमाडौं क्षेत्र नम्बर १ बाहेक ४–४ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको देखिन्छ गत स्थानीय चुनावको मत परिणाम हेर्दा । स्थानीय चुनावको मत परिणामले काठमाडौंमा एमाले र कांग्रेस बराबरी हैसियतका तीव्र प्रतिस्पर्धी शक्ति हुन् भन्ने देखाएको छ ।

अब निर्वाचन क्षेत्रगतरुपमा विश्लेषण गरौँ ।​

निर्वाचन क्षेत्र नम्बर १ मा बालेन्द्र अगाडि
काठमाडौँ महानगरपालिकाका १०, ११, २९ र ३१ नम्बर वडाहरु समेटेर निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा महानगर प्रमुख बालेन्द्र शाहलाई स्थानीय तह निर्वाचनको मतपरिणामले पहिलो स्थानमा देखाएको छ।

मत परिणामअनुसार बानेश्वर ( वडा नं १०), त्रिपुरेश्वर (११), डिल्ली बजार (२९) र शान्ति नगर (३१) क्षेत्रअन्तर्गत पर्ने १ नम्बरमा उनले नेपाली कांग्रेस र नेकपा एमालेलाई उछिनेका छन्।

महानगरपालिका प्रमुख शाहले यी चारवटा वडाबाट ९ हजार ६७४ मत ल्याएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६ हजार ५१६ मत पाएकी छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापित ४ हजार ७९४ मतका साथ निर्वाचन क्षेत्र नम्बर १ मा तेस्रो स्थानमा देखिएका छन्। ​

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौँ– १ मा ‘ह्याट्रिक’ गर्दै चुनाव जितेका थिए। उनले १० हजार ९३६ मतसहित विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रलाई हराएका थिए।

मिश्रले १० हजार ११८ मत पाएका थिए। दुई उम्मेदवारबीचको मतान्तर ८१८ मात्र थियो। नेकपा माओवादी केन्द्रले यो क्षेत्रमा अर्थमन्त्री जनार्दन शर्माका भाइ अनिल शर्मालाई टिकट दिएको थियो। उनी ५ हजार ३३६ मत ल्याएर तेस्रो भएका थिए। एमालेले माओवादीसँग गठबन्धन गरेर अनिललाई सघाएको थियो।

निर्वाचन क्षेत्र नम्बर २ मा काँग्रेस अगाडि
काठमाडौँ महानगरपालिकाका ९ र ३२ नम्बर वडाहरु क्षेत्र नम्बर २ मा समेटिएका छन् । यी वडाबाट बालेन्द्रले ८ हजार ८३३ मत पाएका छन्। यो क्षेत्रअन्तर्गत शंखरापुर नगरपालिकासँगै कागेश्वरी मनोहरा नगरपालिकाका ४, ५, ६, ७, ८ र ९ नम्बर वडाहरु समेटिएका छन्।

क्षेत्र नम्बर २ मा कागेश्वरीका वडाध्यक्षहरु र शंखरापुरामा उपप्रमुखले पाएको मतानुसार नेपाली कांग्रेस १६ हजार ४९३ मतसहित पहिलो बनेको छ। त्यस्तै, १३ हजार ५९६ मतसहित एमाले काठमाडौँ–२ मा दोस्रो स्थानमा देखिएको छ।

०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यहाँ एमालेका तर्फबाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विजयी भएका थिए।

माधव नेपाल २७ हजार ३६६ मतसहित विजयी हुँदा कांग्रेस उम्मेदवार दीपकप्रसाद कुइँकेल १४ हजार ९०३ मत ल्याएर दोस्रो भएका थिए।

यहाँ तेस्रो भएका विवेकशील साझाका उम्मेदवार डा. सूर्यराज आचार्यले ७ हजार ४३७ मत प्राप्त गरेका थिए। यसपालि स्थानीय चुनावमा स्वतन्त्रको मत बढेर ८ हजार ८३३ पुगेको हो ।

निर्वाचन क्षेत्र नम्बर ३ मा पनि कांग्रेस पहिलो
काठमाडौँ महानगरपालिकाको ६ नम्बर वडालाई निर्वाचन क्षेत्र नम्बर ३ मा समेटिएको छ । त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका १, २, ३ र गोकर्णेश्वर नगरपालिकालाई समेटेर यो क्षेत्र निर्धारण गरिएकोे छ।

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार यो क्षेत्रमा कांग्रेस र एमालेबीचको मतान्तर मात्र २६४ छ। नेपाली कांग्रेस ११ हजार २१८ मतसहित पहिलो बनेको छ भने १० हजार ९५४ मतसहित एमाले दोस्रो बनेको छ।

यो निर्वाचन क्षेत्रमा पर्ने काठमाडौँको वडा नम्बर ६ बाट महानगर प्रमुख बालेन्द्र शाह ३ हजार ४७६ मत ल्याएर तेस्रो भएका छन्।

गत प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–३ बाट एमाले नेता कृष्णबहादुर राई विजयी भएका थिए। कांग्रेस नेतृ अम्बिका बस्नेत दोस्रो र विवेकशील साझाकी सुमित्रा सिंह लामा तेस्रो भएका थिए।

यस निर्वाचन क्षेत्रबाट एमालेका राई १९ हजार १६९ मतसहित विजयी हुँदा कांग्रेसकी बस्नेतले १४ हजार ८८४ मत र विवेकशील साझाकी लामाले २ हजार २०५ मत पाएका थिए।

काठमाडौं ४ मा गगनलाई चुनौती
स्थानीय तह निर्वाचनको मतपरिणामले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेलाई पहिलो स्थानमा देखाएको छ। यो परिणाामले आगामी चुनावमा कांग्रेस महामन्त्री गगन थापालाई चुनौती दिएको छ ।

निर्वाचन क्षेत्र नम्बर ४ मा काठमाडौँ महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० समेटिएका छन् । यसका साथै बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडाहरु पनि ४ नम्बर क्षेत्रमा पर्छन्।

गत स्थानीय निर्वाचनमा महानगर प्रमुखका उम्मेदवारहरु र बूढानीलकण्ठका वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्दा कांग्रेसभन्दा एमाले २ हजार ४८ मतले अगाडि देखिएको छ।

एमालेले १४ हजार ६५० मत पाउँदा कांग्रेसको पक्षमा १२ हजार ६०२ मत खसेको देखिन्छ। यो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने काठमाडौँका ४ वटा वडाबाट बालेन्द्र शाहले ७ हजार ९४० मत पाएको देखिएको छ। यही मतका आधारमा गगन थापाको क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवारले आँखा लगाएका छन् । राधा पोखरेलले स्वतन्त्र उम्मदेवारी घोषणा गरिसकेकी छन् भने ग्यालेक्सी टीभीका रवि लामिछाने पनि यो क्षेत्रबाट चुनाव लड्ने चर्चा छ ।

गत प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ४ बाट कांग्रेस महामन्त्री गगन थापा २१ हजार ५५८ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका डा. राजन भट्टराईले १८ हजार १४० मत पाएका थिए। तेस्रो भएको विवेकशील साझाकी सुबुना बस्नेतले ३ हजार ४० मत ल्याएकी थिइन्।

ईश्वर पोखरेलको क्षेत्रमा एमाले नै अगाडि
काठमाडौँ क्षेत्र नम्बर ५ यसअघि ईश्वर पोखरेलले जितेको निर्वाचन क्षेत्र हो । यो क्षेत्रमा महानगरपालिकाका २, ३, ४ र ५ नम्बर वडाहरु समेटिएका छन् ।

त्यसैगरी बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ७  पनि यही क्षेत्रमा पर्छन् । त्यस्तै टोखा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ नम्बर वडाहरुसमेत समेटेर निर्वाचन क्षेत्र नम्बर ५ निर्धारण गरिएको छ।

स्थानीय चुनावको परिणााम हेर्दा यो क्षेत्रमा पनि एमाले नै पहिलो देखिएको छ। यहाँ पनि एमालेले कांग्रेसभन्दा २ हजार २७९ मत बढी ल्याएको स्थानीय तह निर्वाचनको परिणामले देखाएको छ।

निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा एमालेका पक्षमा १४ हजार ७१५, कांग्रेसको पक्षमा १२ हजार ४३६ र महानगर प्रमुख बालेन्द्र शाहको पक्षमा ९ हजार ८ मत खसेको देखिन्छ।

यहाँबाट ०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए। २३ हजार २९ मतका साथ पोखरेल विजयी हुँदा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए। तेस्रो भएको विवेशशील साझाका उम्मेदवार स्व. उज्वलबहादुर थापाले ६ हजार ८५३ मत ल्याएका थिए।

अहिले यो क्षेत्रबाट रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन् । पूर्वडीआइजी रमेश खरेलले पनि यही क्षेत्र रोजेका थिएन, तर काठमाडौं १ मा उठ्ने घोषणा गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर ६ मा कांग्रेस अगाडि
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा भने स्थानीय तह निर्वाचन परिणामले कांग्रेसलाई पहिलो देखाएको छ। यहाँ कांग्रेसको पक्षमा १४ हजार ४०३ र एमालेको पक्षमा १२ हजार ६६५ मत खसेको छ। काठमाडौँ–६ अन्तर्गत पर्ने ३ वठा वडाबाट महानगर प्रमुख शाहको पक्षमा ३ हजार ७२५ मत खसेको छ।

यो निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिकाका २६, २७ र २८ नम्बर वडाहरु समेटिएका छन् । साथै, तारकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ नं. वडा यो निर्वाचन क्षेत्रमा पर्छन् । टोखाका १, ८, ९, १० र ११ नम्बर वडाहरु पनि यही निर्वाचन क्षेत्रमा पर्छन्।

गत प्रतनिधिसभा निर्वाचनमा यहाँ कांग्रेस नेता भीमसेनदास प्रधान विजयी भएका थिए। प्रधान १६ हजार ७८५ मत पाएर विजयी हुँदा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले १५ हजार ४८५ मत पाएका थिए। तेस्रो भएका विवेकशील साझाका उम्मेवार रमेश चिलुवालले ४ हजार २२५ मत ल्याएका थिए।

क्षेत्र नम्बर सातमा एमाले र कांग्रेस हाराहारी
काठमाडौँ महानगरपालिकाका १६, १७, १८ र २५ नम्बर वडाहरु निर्वाचन क्षेत्र नम्बर ७ मा समेटिएका छन् । साथै, नागार्जुन नगरपालिकाका १, २ र ३ वडा तथा तारकेश्वर नगरपाकिलाकाका ३, ४ र ५ नम्बर पनि निर्वाचन क्षेत्र नम्बर ७ मा पर्छन्।

गत स्थानीय तह निर्वाचन मतपरिणामले यो क्षेत्रमा एमाले १६८ मतले कांग्रेसभन्दा बलियो देखाएको छ। वडागत मत विश्लेषणका आधारमा हेर्दा काठमाडौँ–७ मा एमालेको पक्षमा १० हजार ६९० र कांग्रेसको पक्षमा १० हजार ५२२ मत खसेको देखिन्छ।

यो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने वडाहरुबाट महानगर प्रमुख शाहले ७ हजार १९ मत ल्याएका छन्। यो मत काँग्रेस र एमालेको हाराहारी जस्तै सम्मानजनक नै हो ।

गत प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–७ बाट एमाले नेता रामवीर मानन्धर १८ हजार १०२ मतसहित विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रमबहादुर थापाले कांग्रेसको साथ लिएर १० हजार ७९ मत पाएका थिए। तेस्रो भएकी विवेकशील साझाकी अनुपा श्रेष्ठले ५ हजार ३७६ मत ल्याएकी थिइन्।

निर्वाचन क्षेत्र नम्बर ८ मा त्रिपक्षीय सन्तुलन
स्थानीय तह निर्वाचनको मत परिणामअनुसार काठमाडौँ–८ मा कांग्रेस र एमालेबीच मात्र २२ मतको फरक देखिएको छ। यो क्षेत्रमा कांग्रेसको पक्षमा ७ हजार ४६७ र एमालेको पक्षमा ७ हजार ४४५ मत खसेको छ। यो क्षेत्रमा स्वतन्त्रको पनि बलियो उपस्थिति देखिएको छ ।

काठमाडौँ–८ मा पहिलो देखिएको कांग्रेस र तेस्रो देखिएका बालेन्द्रबीच १३ सय २२ मतको फरक छ। यो क्षेत्रमा पर्ने काठमाडौँका विभिन्न ६ वटा वडाबाट बालेन्द्रले ६ हजार १४५ मत प्राप्त गरेका छन्।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–८ बाट एमालेका जीवनराम श्रेष्ठ १३ हजार ३९७ मतले निर्वाचित भएका थिए। श्रेष्ठ अहिले एकीकृत समाजवादीमा छन् ।

जीवनरामका निकटतम् प्रतिद्वन्द्वी  स्व. नवीन्द्रराज जोशीले १२ हजार ९५२ मत पाएका थिए। तेस्रो भएका विवेकशील साझाका पुकार बमले ४ हजार ४१४ मत प्राप्त गरेका थिए। पुकार बलमे अहिले काठमाडौं १ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ नम्बर वडाहरु समेटिएका छन् । साथै, नागार्जुन नगरपालिकाका ४ र ५ नम्बर वडालाई पनि समेटेर यो निर्वाचन क्षेत्र निर्धारण गरिएको छ। 

क्षेत्र नम्बर ९ मा एमाले कांग्रेस बराबर
काठमाडौँ महानगरपालिकाका वडा नं. १२, १४, २१ र २२ लाई समेटेर निर्वाचन क्षेत्र नं. ९ बनाइएको छ । साथमा चन्द्रगिरि नगरपालिकाका वडा नं. १, १२, १३, १४ र १५ लाई पनि यस क्षेत्रमा समेटिएको छ । त्यसैगरी नागार्जुन नगरपालिकाका ६, ७, ८, ९ र १० नम्बर वडाहरु पनि यो निर्वाचन क्षेत्रमा समेटिएका छन् ।

स्थानीय तह निर्वाचनमा महानगरका प्रमुख र नगरपालिकाका वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेस र एमालेबीच मात्र ७० मतको फरक छ।

१६ हजार १८८ मतसहित एमाले पहिलो हुँदा कांग्रेसको पक्षमा १६ हजार ११८ मत खसेको छ। यस निर्वाचन क्षेत्रमा महानगर प्रमुख बालेन्द्र शाहको मत ५ हजार ९४८ देखिन्छ ।        

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .