ad ad

खेल


यसरी हुँदै छ एसियाडको तयारी (तस्बिरहरु)

यसरी हुँदै छ एसियाडको तयारी (तस्बिरहरु)

एसियाड तयारीमा जुटेका खेलाडीहरु। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
असार १, २०७९ बुधबार १५:४८, काठमाडौँ

चीनको हाङझावमा सन् २०२३ मा हुने भनिएको १९ औं एसियाली खेलकुद (एसियाड) को मिति तय भएको छैन। तर एसियाडका लागि भनेर राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षण सुरु गरिसकेको छ। 

गत साता राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रम गर्दै प्रशिक्षणको औपचारिक सुरुवात गरेका थिए। 

एसियाडको तयारीका लागि पहिलो चरणमा २३ खेलका ५१४ जना खेलाडी र ६६ प्रशिक्षक गरि ५८० जना सहभागी हुँदै छन्। ५१४ खेलाडीमध्ये २३० पुरुष र २८४ जना महिला खेलाडी छन्। 

यसकै लागि भनेर तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबल टेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन्। 
पहिलो चरणका प्रशिक्षणका लागि राखेपले केही प्रशिक्षण स्थल तोकिएको छ। पहिलो चरणको प्रशिक्षण असार २३ गतेसम्म चल्नेछ। ३० दिनको प्रशिक्षण पश्चात असारको २७ गतेसम्म दोस्रो चरणका लागि खेलाडी छनोट हुनेछन्। 

पहिलो चरणको प्रशिक्षणका लागि भनेर राखेपले ५ करोड रुपैयाँ विनियोजन गरेको राखेप सदस्यसचिव घिसिङले बताएका छन्। 

पहिलो चरणको लागि ५ करोड रुपैयाँ विजियोजन भनिए पनि कुन शीर्षकमा कति रकम छुट्याइने अहिलेसम्म यकिन नभएको राखेपले जनाएको छ। यसको लागि केही समय लाग्ने राखेपले बताएको छ। 

***

एसियाडको तयारीका लागि राखेपले केही खेलको व्यवस्थापन गर्ने गरेर स्थान पनि तय गरिसकेको छ। राखेपले तेक्वान्दो, कराँते, बक्सिङ, पौडी, ट्रायाथलन, कुस्ती, र सुटिङका लागि सातदोबाटोमा प्रशिक्षणको व्यवस्था मिलाएको छ। 

एथलेटिक्स, उसु, बास्केटबल थ्री बाइ थ्री र भारोत्तोलनका लागि दशरथ रंगशाला, साइक्लिङका लागि भक्तपुरको दुवाकोट, गल्फको लागि गोकर्ण रिसोर्टमा स्थान छुट्याइएको छ। 

टेबल टेनिसका खेलाडीले लैनचौर, जुडोका लागि खुसीबु नयाँबजार, फेन्सिङको कीर्तिपुर, ह्याण्डबलका खेलाडीले लगनखेलमा प्रशिक्षण गर्नेछन्। यस्तै आर्चरीका खेलाडीले पोखरामा प्रशिक्षण गर्दा, कबड्डीका खेलाडीले कञ्चनपुरमा प्रशिक्षण गर्नेछन्।

क्रिकेटका खेलाडीले कीर्तिपुर, भलिबलका खेलाडीले राखेप कभर्डहलमा प्रशिक्षण गर्दा फुटबलका खेलाडीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ। ब्याडमिन्टनका लागि भने परिषद्ले व्यवस्थापन गर्नेछ। 

२३ खेल ६४ प्रशिक्षक 

राखेपले एसियाडमा सहभागी हुने २३ खेलका लागि ६४ जना प्रशिक्षक परिचालन गर्दै छ। २३ खेलमध्ये सबैभन्दा धेरै प्रशिक्षक फुटबलले पाएको छ। फुटबलका लागि ६ जना प्रशिक्षक छुट्टाईएको छ। महिला फुटबलले एसियाडमा पहिलो पटक सहभागिता जनाउन लागेको हो। 
तेक्वान्दो, कँराते, बक्सिङ, जुडो, उसु, भलिबल र क्रिकेटले ४ जना प्रशिक्षक पाएका छन्। 

एथलेटिक्स, साइक्लिङ, गल्फ, पौडी, ट्रयाथलन, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल, फेन्सिङ, ह्याण्डबल, कबड्डी, टेबलटेनिस, ब्याडमिन्टन र सुटिङका खेलका लागि समान २ जना प्रशिक्षक छुट्याइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .