आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज बिहीबार नेपाल नेदरल्यान्ड्सविरुद्ध भिड्दै छ।
नेदरल्यान्ड्सको उट्रेक्टस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।
पहिलो खेलमा नामिबियासँग ८ विकेटको फराकिलो हार बेहोरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज घरेलु टोलीलाई जित्न चाहन्छ।
नेपाललाई एक दिवसीय विश्वकप छनोटका लागि यो सिरिज निकै महत्त्वपूर्ण छ।
अंक तालिकाको शीर्ष चारमा रहन सके नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाउनेछ। तर त्यसका लागि नेपालले ७ मध्ये ६ खेल जित्नुपर्छ।
नेपालले अब आगामी अक्टोबरमा क्यानडा र अमेरिकासँग मात्र सिरिज खेल्न बाँकी छ। लिग-२ मा शीर्ष ४ मा पुग्ने टोलीले सिधै विश्वकप छनोटमा स्थान बनाउनेछन्। अन्य टोलीले प्लेअफ खेल्नुपर्नेछ।
पछिल्लो समय घरेलु मैदानमा लगातार नेपालले खेलेका २ वटा सिरिजमा १२ अंक जोडेपछि विश्वकप छनोट खेल्ने आशा जगाएको थियो। तर नामिबियासँग हारेपछि सम्भावना कमजोर बनेको छ।
नेपाली टोलीको अहिलेको प्रदर्शनका आधारमा एक दिवसीय वरीयता जोगाउनु नै महत्त्वपूर्ण हुने देखिएको छ। लिग-२ को शीर्ष ६ मा पर्न सके आगामी चार वर्षका लागि ओडीआई वरीयता जोगिनेछ। यसका लागि नेपालले अबका ४ खेल जित्नुपर्नेछ।
अंक तालिका
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा हरेक टोलीले ३६ खेल खेल्नेछन्। नेपाल खेलेका २९ खेलमध्ये ११ खेलमा जित, १६ खेलमा हार र २ खेलमा अंक बाँड्दै २४ अंक बनाएर पाँचौँ स्थानमा छ। समान खेल र नतिजाबाट नामिबिया पनि २४ अंकसहित छैटौँ स्थानमा छ।
२८ खेल खेलेको नेदरल्यान्ड्स १४ खेलमा जित र १० खेलमा हार र ४ खेलमा अंक बाँड्दै ३२ अंकमा तालिकाको तेस्रो स्थानमा छ।
लिग-२ मा सर्वाधिक ३२ खेल खेलेको अमेरिका ४३ अंकमा शीर्ष र ३८ अंक भएको स्कटल्यान्ड दोस्रो स्थानमा छन्।
Shares

प्रतिक्रिया