मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा छ। अनि यतिबेला (बिहीबार बिहान) कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका साथै र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भेगमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। कोसी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको अद्यावधिक मौसम बुलेटिनअनुसार दिउँसो देशको हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्ने र तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार राति देशको हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्ने र तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना
आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमिवद् रोजन लामिछानेका अनुसार आज काठमाडौँ उपत्यकामा अपराह्न वा साँझपख हल्का वर्षा हुने सम्भावना छ।
‘आज त्यस्तो धेरै पानी पर्ने सम्भावना त छैन’, उनले नेपालखबरसँग भने, ‘अपराह्न वा साँझपख बादल बढ्दै जाने र हल्का वर्षा हुने सम्भावना छ। कतै कतै अली बढी पानी पनि पर्न सक्छ।’
त्यसअघिसम्म भने काठमाडौँ उपत्यकाको मौसम घाम-बादल घाम-बादलको अवस्थामा रहने उनले बताए।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

यी जिल्लामा बाढीको जोखिम
वर्षासँगै आज देशका विभिन्न जिल्लामा बाढीको जोखिम हुने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बाढी महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँसहित २७ जिल्ला र त्यस आसपासका खोला-नदीमा आकस्मिक बाढी आउने सम्भावना छ।
बुलेटिनमा भनिएको छ, ‘आज तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुगु, सुर्खेत, दैलेख, अछाम, डोटी र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’
बाढीबारे विस्तृत जानकारी तल



Shares

प्रतिक्रिया