पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय भलिबल टोलीले लगातार दोस्रो हार बेहोरेको छ।
पाकिस्तानको इस्लामावादमा भएको खेलमा नेपाली टोली श्रीलंकासँग ३-२ को सेटमा पराजित भएको हो। लगातार दोस्रो हार भोगेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ।
पहिलो सेट गुमाएको नेपालले दोस्रो र तेस्रो सेटमा लगातार जित निकाले पनि चौथो र पाचौँ सेट भने गुमाउन पुग्यो। पहिलो सेट १८-२५ ले गुमाएको नेपालले दोस्रो सेटमा २५-२१ ले पूनरागमन गर्दै खेललाई बराबरीमा ल्यायो।
तेस्रो सेट पनि नेपालले २५-१९ ले आफ्नो पक्षमा पा¥यो। तर चौथो सेट २१-२५ ले गुमाउन पुग्यो। पाचौँ तथा अन्तिम सेट १०-१५ ले गुमाएसँगै नेपालले च्याम्पियनसिपमा लगातार दोस्रो हार बेहोरेको हो।
यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल काजकस्तानसँग ३-२ को सेटमा नै पराजित भएको थियो।
तेस्रो खेलमा नेपालले शुक्रबार घरेलु टोली पाकिस्तानसँग खेल्ने तालिका छ। सो खेल साढे ३ बजे सुरु हुनेछ।
आइतबार बंगलादेश र आगामी सोमबार उज्वेकिस्तानसँग खेल्ने तालिका छ। च्याम्पियनसिपमा नेपालसहित आयोजक पाकिस्तान, काजकस्तन, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान गरि ६ टोली सहभागी छन्।
च्याम्पियनसिपमा सबै टोलीको खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।
Shares

प्रतिक्रिया