ad ad

राजनीति


एसपीपीले ल्यायो सत्ता गठबन्धनमा हलचल

एसपीपीले ल्यायो सत्ता गठबन्धनमा हलचल

सागर न्यौपाने
जेठ ३१, २०७९ मंगलबार २२:२५, काठमाडौँ

स्थानीय तहको चुनावबारे समीक्षा गर्न नपाउँदै पाँच दलीय गठबन्धनमा अमेरिकी सेनाले नेपाली सेनासमक्ष राखेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता प्रस्तावले हलचल ल्याएको छ।

यो सम्झौता बाहिर आएपछि बल्ल गठबन्धनका दलहरुबीच आन्तरिक छलफल भइरहेको छ। अमेरिकी सैनिकले गरेको प्रस्तावप्रति गठबन्धनका दलहरु असन्तुष्ट छन्।

कांग्रेसबाहेक सत्ता गठबन्धनका चार दल एसपीपी सम्झौता हुन नहुने पक्षमा छन्। प्रधानमन्त्रीले तत्काल गठबन्धनको बैठक राख्नुपर्ने र यसबारे प्रष्ट पार्नुपर्ने उनीहरुको माग छ।

दश बुँदामा समेटिएको एसपीपी सैन्य सम्झौता अमेरिकी पक्षबाट नेपाली सेना र प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पेश भइसकेको छ।

सोमबार नेपालखबरले मस्यौदा प्रस्ताव सार्वजनिक गरेपछि मंगलबार गठबन्धनको एकघटक जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले ट्वीट गर्दै सम्झौता गर्नुअघि १० पटक सोच्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

डा।भट्टराईले एसपीपी सम्झौतामा सैनिक गठबन्धनको हस्को आएकाले हस्ताक्षर गर्न हतार गर्न नहुनेमा सचेत पनि गराए।

‘हिमाली क्षेत्रमा मडारिँदो नयाँ शीतयुद्धको खतराको पृष्ठभूमिमा अमेरिकासँग यो १० बुँदे स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० सम्झौता गर्न लागिएको हो भने हतार नगरौँ, यसमा सैनिक गठबन्धनकै हस्को आउँछ,’ उनले ट्विटरमा लेखेका छन्, ‘भूराजनीतिक संवेदनशीलता हेरौँ। १० चोटि नापेर एकचोटि काट्नु जो भनिन्छ।’

यस्तो छ ‘अमेरिकी सेना भित्र्याउने’ १० बुँदे प्रस्तावित सम्झौता

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एसपीपी सैन्य सम्झौताबारे गठबन्धनको बैठकमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ।

वरिष्ठ नेता नरायणकाजी श्रेष्ठले देउवालाई तत्काल पाँच दलको बैठक बोलाउन माग गरेको जानकारी दिए। ‘अहिलेसम्म गठबन्धनभित्र एसपीपीका विषयमा कुनै जानकारी आएको छैन, श्रेष्ठले नेपालखबरसँग भने, ‘अमेरिकी सैनिक अधिकारीले प्रधानमन्त्री र प्रधानसेनापतिसँग राखेको प्रस्तावबारे गठबन्धनमा छुट्टै छलफल गर्नुपर्ने माग गरेका छौँ, प्रधानमन्त्रीको समय मागेका छौँ।’

हाम्रो पार्टी एसपीपी सम्झौता स्वीकार गर्न सक्तैनौं, यसबारे छिट्टै बैठक बसेर पार्टीको धारणा पनि सार्वजनिक गर्छौँ,’ श्रेष्ठले थपे।

नेकपा एकीकृत समाजवादी पार्टीले पनि एसपीपीको विषयमा गम्भीर छलफल गर्ने भएको छ। बुधबार बस्ने स्थायी कमिटी बैठकमा एसपीपी सैन्य सम्झौताबारे स्थायी कमिटी सदस्यहरुलाई धारणा राख्न दिने र पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी छ।

एसपीपी सैन्य सम्झौता गर्न अमेरिकी सेनाका अधिकारीबाट निरन्तर ताकेता भएको छ। यूएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल चार्ल्स ए फ्लिनले विहीबार र शुक्रबार नेपालमा गरेको उच्चस्तरीय भेटवार्तामा पनि हस्ताक्षर गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भएका भेटमा उनले एसपीपीलाई चाँडै टुंग्याउन आग्रह गरेका हुन्। तथापि नेपालस्थित अमेरिकी दूताबासले यो प्रोगाममा अमेरिकाले आउन आग्रह नगर्ने तर सहभागी हुने देशलाई सहजीकरण गर्ने स्पष्टीकरण दिएको छ ।

अमेरिकी दूताबासको स्पष्टीकरण : एसपीपी सहकार्यको प्रभावकारी माध्यम हो

अमेरिकाले दुई महिनाअघि स्टेट पार्टनरसिप कार्यक्रमलाई थप परिमार्जन गरेको नयाँ मस्यौदा नेपाल सरकार र नेपाली सेनालाई बुझाएको थियो।

सो प्रस्तावलाई नेपाली सेनाले भने रिजर्भेसनमा राखेको छ। तर, प्रधानमन्त्री देउवा सकारात्मक छन्।

यही विषय बाहिरिएपछि सोमबार एकीकृत समाजवादीका अध्यक्ष नेपाल र माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठबीच कुराकानी भएको थियो।

नेपालको असंलग्न परराष्ट्र नीतिको विरुद्ध हुनेगरी अमेरिकी सेना अधिकारीबाट प्रस्ताव आएको उनीहरुको ठहर छ।

त्यही भएर गठबन्धन बैठकमा यसबारे छलफल गर्ने तयारी छ। अहिलेसम्म गठबन्धनको बैठक बस्ने समय तय भएको छैन। गठबन्धनका दलहरुमध्ये राष्ट्रिय जनमोर्चाले औपचारिक धारणा बताएको छैन।

अहिलेसम्म गठबन्धनमा रहेका दलमध्ये कांग्रेसमात्र एसपीपीको पक्षमा छ। परराष्ट्रमन्त्री डा। नारायण खड्काले कांग्रेस नेतृत्वको सरकार कुनै पनि सैन्य गठबन्धनमा नजाने दाबी गरे ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले अमेरिकी सेनाको प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए। फ्लिनको नेपाल भ्रमणका क्रममा एसपीपी ९अमेरिकी सैन्य गठबन्धन०मा हस्ताक्षर गर्न ताकेता नभएको बताए।

‘अमेरिकाका जर्नेलको नेपालको भ्रमण र उहाँको भेटघाट यो कहीँ अमेरिकी सैन्य गठबन्धनमा नेपाललाई लाने प्रस्ताव हो कि, भन्ने प्रश्न छ,’ परराष्ट्रमन्त्री खड्काले संसदमा बोल्दै भने, ‘स्टेट पार्टनरसीपअन्तर्गत हिजोको दिनमा एमसीसी आइरहँदा हामीले इन्डो–प्यासिफिकका कुरा ग¥यौं। यसमा कुनै गठबन्धनमा सहभागी हुने कुरा भएको छैन।’

‘सैन्य गठबन्धनमा नेपाल फस्न लाग्यो भन्ने बाहिर आएको छ, त्यो होइन, कांग्रेस नेतृत्वको सरकार स्वाभीमानी, राष्ट्रवादी र देशभक्ति छ। संसदमा म पूर्ण विश्वासका साथ निवदेन गर्न चाहन्छु । स्वाभिमानी, राष्ट्रवादी र मुलुकको हितमा काम गर्ने सरकारले कुनैखालका सैन्य गठबन्धनमा जाँदैन, आवश्यकता छैन,’ मन्त्री खड्काले थपे।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले भने एसपीपी सम्झौताको बचाऊ गरेका छन्। 

कांग्रेसका प्रवक्ता भन्छन् : एसपीपी सैन्य गठबन्धन होइन, चुनाव हारेपछि बढाइ चढाइ गरियो

‘एसपीपी कुनै विशेष प्रोग्राम र कुनै एलाइन्स होइन,’ महतले नेपालखबरसँग भने, ‘यसलाई देखाएर अर्को देशको खिलाफमा जान खोजियो भनेर प्रोपोगान्डा गरेको हो। एसपीपी त्यस्तो केही होइन।’

नेपाली कांग्रेस भारत, चीन र अमेरिकासँग राम्रो सम्बन्धको पक्षमा रहेको डा। महतले बताए । उनले भने, ‘चीन र भारतसँग सहयोगको सम्बन्ध चाहन्छ। हामी हाम्रो भूमि कुनै पनि देशका लागि प्रयोग हुन दिन्नौँ। अमेरिकाले नेपाललाई किन सहयोग गर्यो, उसको सहयोग किन लिएको भन्न मिल्दैन। हामी आवश्यकता अनुसार अनुदान लिन्छौँ।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .