ad ad

राजनीति


भाजपा सांसद सहस्रबुद्दे भन्छन् : भारत-नेपाल सम्बन्ध थप सुमधुर

भाजपा सांसद सहस्रबुद्दे भन्छन् : भारत-नेपाल सम्बन्ध थप सुमधुर

नेपालखबर
असार १, २०७९ बुधबार १७:४१, काठमाडौँ

भारतीय जनता पार्टीका राज्यसभा सांसद विनय प्रभाकर सहस्रबुद्देले भारत र नेपालबीचको सांस्कृतिक र सभ्यतामुलक सम्बन्ध पछिल्ला दिनमा थप सुमधुर बनेको बताएका छन्। 

भारत—नेपाल अलुम्नाई नेटवर्कले बुधबार राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै सहस्रबुद्देले सदियौंदेखि रहीआएको भारत र नेपालबीचको सम्बन्ध मजबुत बन्दै गएको बताए। 

‘भारत र नेपालबीचको संस्कृतिक र सभ्यतामूलक सम्बन्ध कहिल्यै पुरानो हुँदैन। बरु यो फैलिँदो क्रममा छ’ उनले भने। 

नेपाल र भारतबीच सहकार्यका नयाँ आयामहरु तयार हुँदै गएको र त्यसमा प्राज्ञिक क्षेत्रले आफ्नोतर्फबाट योगदान दिनसक्ने उनले बताए। 

‘हाम्रा दुई देशबीचको सम्बन्ध जनस्तरमा निकै समधुर छ। हाम्रो भाग्य साझा छ। मिलेर समृद्दि हासिल गर्ने हाम्रो साझा लक्ष्य छ।

समकालीन परिस्थितीमा सांस्कृतिक र सभ्यतामुलक सम्बन्ध विस्तार भइरहेको छ। यसका लागि हाम्रा दुई देशबीचका प्राज्ञिक ब्यक्तित्वबीच राम्रो सहकार्य आवश्यक छ’ सहस्रबुद्देले भने। उनले अहिलेको युगलाई ज्ञानको युगका रुपमा ब्याख्या गरे। 

‘यो ज्ञानको यात्रामा नेपाल र भारतका बुद्धिजीवी र प्राज्ञिक क्षेत्रका ब्यक्ति एकसाथ छौँ’ उनले भने। 

सहस्रबुद्देले नेपालमा भारत अध्ययन केन्द्रहरु तथा भारतमा नेपाल अध्ययन केन्द्रहरु स्थापना गर्न सकिने सम्भावनाका विषयमा आफूले शिक्षामन्त्री देवेन्द्र पौडेलसँग छलफल गरिसकेको बताए। 

सांसद सहस्रबुद्दे भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष हुन्। भारत सरकार मातहत स्वायत्त निकायका रुपमा रहेको परिषद्ले भारत र अन्य मुलुकबीच सांस्कृतिक सम्बन्ध विस्तारका लागि काम गर्छ। परिषद्को नेपाल शाखाले उक्त कार्यक्रम आयोजना गरेको हो। 

कार्यक्रममा बोल्दै शिक्षामन्त्री पौडेलले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको बताए। भारतीय सांस्कतिक सम्बन्ध परिषद् र काठमाडौ विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालय लगायतसँग हालै समझदारीपत्रमा हस्ताक्षर भइसकेको र त्यसबाट दुई देशबीच शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सहकार्य अझ मजबुत हुने अपेक्षा लिइएको उनले बताए। 

‘आधुनिक विज्ञान र प्रविधीका क्षेत्रमा भारतमा भइरहेका विकासबाट नेपालले सिक्ने ठाउँ धेरै छन्। त्यसका लागि विश्वविद्यालय तहमा सहयोग र सहकार्य अघि बढेको छ। जुन दुवै देशका लागि महत्वपूर्ण छ’ उनले भने। 

शिक्षामन्त्री पौडेलले गौतम बुद्धले नेपाल र भारतलाई सदियौंदेखि जोड्दै आएको बताए। 

मन्त्री पौडेलले शिक्षा क्षेत्रमा राजनीति गर्न नहुने बताए। 

‘शिक्षा क्षेत्रलाई राजनीतिबाट टाढा राखिनुपर्छ’ उनले भने। 

कार्यक्रममा भारतका विभिन्न शिक्षण संस्थामा विगतमा अध्ययन गरेका नेपाली विद्यार्थी, भारतीय दूतावासका कुटनीतिज्ञ र पत्रकारहरु सहभागी थिए। 

नेपाल आएका भाजपा सांसद सहस्रबुद्देले शिक्षामन्त्री पौडेलसँग भिन्दै भेट गरी नेपाल र भारतबीचको सांस्कृतिक र शैक्षिक सहकार्यबारे पनि छलफल गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .