राजनीति


आपूर्तिमन्त्री बडू भन्छन् : पेट्राेलियमकाे मूल्यवृद्धि बाध्यता हो, बिजुलीबाट राहत दिन्छाैँ

आपूर्तिमन्त्री बडू भन्छन् : पेट्राेलियमकाे मूल्यवृद्धि बाध्यता हो, बिजुलीबाट राहत दिन्छाैँ

नेपालखबर
असार ७, २०७९ मंगलबार १५:२१, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न बाध्यात्मक रुपमा मूल्यवृद्धि गर्नुपरेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र सोही अनुरुप मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको बताए। उनले नेपाल आयल निगमलाई जेठ मसान्तसम्म मात्रै ५० अर्ब रुपैयाँ घाटा भएको बताए।

उनले इन्डियन आयल कर्पोरेशनलाई २२ अर्ब बक्यौता रहेको उल्लेख गर्दै कर्पोरेशनलाई तिर्नुपर्ने रकम बढ्दै जाने हुँदा आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि मूल्य समायोजन गर्नुपरेको स्पष्ट पारे। उनले रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रुपमा ऊर्जाको संकट निम्तिएको र पेट्रोलियम पदार्थको मुल्य बढेर आइरहेको बताए। 

उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य निरन्तर बढिरहेको र सो बमोजिम सर्वसाधारणको हितलाई ध्यानमा राखि मूल्य समायोजन नगर्दा निगमलाई जेठ मसान्तसम्म करिब रु. ५० अर्ब घाटा हुन गएको र इन्डियन आयल कर्पोरेशनलाई हाल २२ अर्ब बक्यौता रहेको व्यहोरा समेत म सदन समक्ष जानकारी गराउन चाहान्छु। सोही कारण इन्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिदबापत् तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएको हुँदा आपूर्ति व्यवस्था सहज बनाइराख्नका लागि मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यात्मक स्थिति निगमका सामुन्ने देखा परेको छ।’ 

मन्त्री बडूले सरकारले एलपी ग्यासको खपत न्युनिकरण गर्ने र विद्युतको खपत बढाउन विद्युत महशुलमा सहुलियत दिई राहत प्रदान गर्ने, विद्युतिय चुल्होलगायत विद्युतीय सामग्री प्रयोग बढाउनका लागि करमा छुट प्रदान गर्ने नीति लिएको पनि बताए। उनले विद्युत प्रयोग गर्ने उद्योगलाई विद्युत महशुलमा छुट दिने सरकारको नीति रहेको पनि उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .