राजनीति


पर्यटनमन्त्री आलेले बुझाए माधव नेपाललाई राजीनामा पत्र

पर्यटनमन्त्री आलेले बुझाए माधव नेपाललाई राजीनामा पत्र

नेपालखबर
असार १२, २०७९ आइतबार १४:१८, काठमाडौँ

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजीनामा पत्र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन्। 

आलेले पार्टी केन्द्रीय कार्यालय आलोकनगर पुगेर अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएका हुन्। 

शुक्रबार आलोकनगरमै बसेको समाजवादीको पोलिटब्युरो बैठकमा आलेले ४८ घण्टाभित्र पद त्याग्न तयार रहेको बताएका थिए।

त्यही अनुसार आलेले आइतवार बिहान आलोकनगरमा पुगेर मन्त्री पद त्यागेको पत्र नेपाललाई बुझाएका हुन्। 

आलेको राजीनामा पत्र आइसकेपछि अध्यक्ष नेपालले आइतवार बिहान पार्टीनिकट अनेमसंघको कार्यक्रममा केही मन्त्रीको राजीनामा पत्र आइसकेको बताएका थिए।

माधव नेपालले भने : केही मन्त्रीको राजीनामा पत्र आयो, परे सार्वजनिक गरौंला

'केही मन्त्रीहरुले राजीनामा पत्र मलाई दिनु भएको छ। पार्टीलाई जुन बेला मन लाग्छ म बाहिर प्रेसमा पठाएर सार्वजनिक गर्नेछु', उनले भनेका थिए, 'राजीनामा पत्र नै चाहिँदैन। पुनर्गठनका लागि हाम्रो निर्णय नै पर्याप्त छ।' 

नेपालले केही मन्त्रीहरूबाट आएको राजीनामा आफ्नो गोजीमा रहेको पनि बताएका थिए।

तर जेठ २२ मा पार्टीले फिर्ता गर्ने निर्णय गरेका सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्यमन्त्री विरोध खतिवडा अझै पनि पद जोगाउने लबिङमा छन्।

उनीहरुले शनिबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए।

आलेको राजीनामा पत्र आएसँगै नेपालले सकेसम्म आइतवार साँझसम्म सबै चार नयाँ मन्त्रीको शपथ हुने बताएका छन्। 

नेपालको सचिवालयका अनुसार आजै साँझसम्म नयाँ मन्त्रीको शपथ खुवाउने गरी प्रधानमन्त्री देउवासँग शनिबारै कुरा भइसकेको छ।

जेठ २२ को सचिवालय निर्णयअनुसार समाजवादीबाट जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिराचन्द्र केसी र मेटमणि चौधरी मन्त्री हुँदैछन्।

यस्तै स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले बढुवा भएर स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad