राजनीति


प्रतिनिधि सभाको शून्य समय : सांसदले मागे अर्थमन्त्री र महान्यायाधीवक्ताको राजीनामा

प्रतिनिधि सभाको शून्य समय : सांसदले मागे अर्थमन्त्री र महान्यायाधीवक्ताको राजीनामा

नेपालखबर
असार १२, २०७९ आइतबार १४:४५, काठमाडौँ

प्रतिनिधि सभा सदस्य अमृता थापाले उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गरेकी छन्।

आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य थापाले उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको पद लामो समयदेखि खालि भएको उल्लेख गर्दै तत्काल निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गरेकी छन्।

उनले यसपालिको स्थानीय तहको निर्वाचनमा १२४ जना दलित महिला सदस्य खाली भएको भन्दै कानून संशोधन गरेर भएपनि खालि ठाउँमा जनप्रतिनिधि पूर्ति गर्ने व्यवस्था गर्न पनि माग गरिन्।

प्रतिनिधि सभा सदस्य आशाकुमारी विकले गत कार्तिक ३० गते बझाङमा आएको वर्षाले ११ सय घर परिवार विस्थापित भएको भन्दै पूर्ण क्षति भएका घरहरु अझै बन्न नसकेकोप्रति सरकारको जवाफ माग गरिन्। उनले विपद् व्यवस्थापनमा सरकारको तयारी के छ त्यसको पनि जवाफ माग गरिन्।

प्रतिनिधि सभा सदस्य इन्दुकुमारी शर्माले नागरिकता विधेयक पास नहुँदा कतिपय नागरिकले देशभित्रै अनागरिक सरह कष्टकर जीवन बाँच्नुपरेको बताइन्। उनले संसदको चालु अधिवेशनमै नागरिकता विधेयक पारित गर्न माग गरिन्।

प्रतिनिधि सभा सदस्य कलिला खातुनले काठमाडौंमा हैजा फैलिएको समाचारहरु आएको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्।

प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठले गत जेठ १४ गते बजेट तयारीका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिहरुको हस्तक्षेप भएको भन्दै उनले अर्थ मन्त्रालयको सो दिनको फुटेज सार्वजनिक गर्न माग गरे।

प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले विपद् व्यवस्थापनका लागि पूर्व तयारी, उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गराए। उनले सांसदहरुलाई पनि विपद् अनुगमनका काममा प्रत्यक्ष सहभागी हुन आग्रह गरे। उनले नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक रुपमा हुने पहिरोको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न सरकारसँग माग गरे।

प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव संसदीय समितिमा लगेर छानबिन र सुनुवाई हुनुपर्ने बताए। उनले महाअभियोग प्रस्ताव समितिमा लैजान नसक्नु संसदको असक्षमता भएको टिप्पणी गरे।

प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्नाले बजारमा महंगी बढेकाले बजारमा हुने कालाबजारी र महंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रतिनिधि सभा सदस्य गंगा चौधरी सत्गौवाले बलात्कारमा संलग्न राजनीतिक पहुँचवाला व्यक्ति जोडिएको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता र उनको सचिवालय सक्रिय भएको बताइन्।

मुद्दा कमजोर  बनाउन नमान्ने सरकारी वकिल संगीता थोकरलाई सरुवा गरिएको उल्लेख गर्दै उनले सरुवा बदर गर्न माग गरिन्। उनले महान्यायाधिवक्ता बलात्कारको अभियुक्तलाई जोगाउन लागेको भन्दै महान्यायाधिवक्ताको राजीनामा माग गरिन्।

प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले बजेट बनाउने क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिहरुलाई अर्थ मन्त्रालयमा प्रवेश गराएकाले अर्थमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्ने माग गरे।

उनले सरकारले सुशासनको प्रत्याभूति हुने गरी काम गर्न नसकेको भन्दै सुशासन प्रत्याभुति हुने गरी काम हुनुपर्ने धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .