राजनीति


प्रधानमन्त्री शाहलाई संसद्‌मा डाक्न ‘रुलिङ’को माग

प्रधानमन्त्री शाहलाई संसद्‌मा डाक्न ‘रुलिङ’को माग

नेपालखबर
असार २४, २०८३ बुधबार १३:६, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा डाँक्नका लागि ‘रुलिङ’ गर्न विपक्षी दलका सांसदले माग गरेका छन्। 

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै विपक्षी दलका सांसदले प्रधानमन्त्री शाहलाई ‘रुलिङ’ गर्नका लागि सभामुख डोलप्रसाद अर्याल आग्रह गरेका हुन्। यसअघि प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ भन्ने अभिव्यक्तिका विषयमा स्पष्टिकरण दिनुपर्ने उनीहरूको माग छ। 

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले प्रधानमन्त्रीलाई बोलाउनका लागि ‘रुलिङ’ गर्न सभामुख अर्यालसँग माग गरे। ‘हामीले सधैभरि आन्दोलन गरिराख्नुपर्ने हो? कहिलेसम्म आन्दोलन गरिराख्नुपर्ने हो?,’ सांसद राईले भने, ‘प्रधानमन्त्रीलाई रोस्टममा उभ्याउनुपर्छ। प्रधानमन्त्रीलाई ल्याउन रुलिङ गर्नुपर्‍यो।’

त्यसपछि बोलेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का परशुराम तामाङले पनि प्रधानमन्त्री शाहलाई संसद्मा बोलाउनुपर्ने बताए। उनले त्यसका लागि सभामुख अर्याललाई ‘रुलिङ’ गर्न आग्रह गरे। 

उनले अहिलेसम्म कतै पनि सीमा नमिचेको उल्लेख गरे। त्यसैले प्रधानमन्त्री शाहले आफ्नो भनाइ सच्याउनुपर्ने उनको भनाइ थियो। 

यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि विचार गर्नुपर्ने उनले बताए। ‘रास्वपाले हस्तक्षेप गर्नुपर्ने दिन आएको छ,’ सांसद तामाङले भने, ‘त्यस्तै, यो संसदको गरिमा, इज्जत र सर्वोच्चतालाई गरिमामय बनाउने जिम्मेवारी सभामखुज्यूकै हो। त्यसैले रुलिङ गर्नुपर्छ।’

त्यसपछि बोलेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि प्रधानमन्त्री शाहको भनाइ सच्याउनुपर्ने बताए। ‘हाम्रो आन्दोलन जारी छ। प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्छ,’ साम्पाङले भने, ‘यसका लागि सभामुखज्यूले रुलिङ गर्नुस्।’

संसद्लाई अराजकतातर्फ जान नदिने सभामुखले ध्यान दिनुपर्ने बताए। त्यसका लागि प्रधानमन्त्री लगायत सरकारका मन्त्रीहरूलाई उपस्थित गराउन उनले आग्रह गरे। 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अलि भाटले पनि प्रधानमन्त्री शाहले आफ्नो भनाइ सच्याउनुपर्ने बताए। ‘प्रधानमन्त्री आउन, आफ्नो कुरा सच्याउन,’ सांसद भाटले भने, ‘उहाँलाई सार्वभौम संसदमा ल्याउनुपर्‍यो।’

त्यसका रुलिङ गर्न सभामुख अर्याललाई आग्रह गरे। प्रधानमन्त्री नआउने र विपक्षीले विरोध गरिरहने कुरा ठीक नभएको उनको भनाइ थियो। उनले प्रश्न गरे, ‘यसरी त यो संसद कसरी चल्छ?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad