ad ad

राजनीति


धान दिवसमा रासायनिक मल खोज्दै सिंहदरबार पुगे प्रदीप पौडैल

धान दिवसमा रासायनिक मल खोज्दै सिंहदरबार पुगे प्रदीप पौडैल

नेपालखबर
असार १५, २०७९ बुधबार १५:५७, काठमाडौँ

अन्य नेताहरुले सामाजिक सञ्जालबाट असार १५ को शुभकामना दिँदै गर्दा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल राष्ट्रिय धान दिवसको अवसरमा कृषिमन्त्री भेट्न सिंहदरबार पुगेका छन्। 

‘मानो रोपेर मुरी फलाउने’ समयमा पनि मलखाद पाउन नसकेको कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन आग्रहसहित उनी धान दिवसका दिन कृषिमन्त्री महिन्द्र राय यादव भेट्न सिंहदरबार पुगेका हुन्। 

‘आज धान दिवस भनेर सबैले शुभकामना व्यक्त गर्नुभयो। मौखिक शुभकामनाले किसानल राहत पाउने, मल पाउने सम्भावना हुँदैन। किसानको मुख्य समस्या भनेको मलको अभाव हो,’ मन्त्रीसँगको भेटपछि पौडेलले भने, ‘अहिले किसानले मल नपाएको स्थिति छ। यो कुरालाई तत्काल सम्बोधन गर्न आवश्यक छ। यिनै कुरामा सरकारको ध्यानाकर्षण गर्न मन्त्रीजीसँग छलफलका लागि आएको हुँ।’

उनले राज्यका नागरिकका लागि दुःख गरिरहेका किसानले सहजै मलखाद नपाउने कुरा स्वाभाविक नभएकोसमेत बताए। 

‘राज्यका नागरिकका लागि किसानले दुःख गरिरहेको छ। किसानले गर्ने उत्पादन बढाउन राज्यका तर्फबाट सहुलियत दिने काम सरकारको हो,’ पौडेलले भने, ‘सरकारले आफ्नो उपस्थिति देखाउन पनि त्यो गर्नुपर्ने हुन्छ। किसानले सहजै मल नपाउने कुरा स्वाभाविक होइन।’

उनले किसानलाई अगामी दिनमा यस्तो समस्या हुँदैन भन्ने प्रतिवद्धता सरकारबाट दिलाउन खोजेको पनि बताए। जवाफमा मन्त्री यादवले मल उपलब्ध गराउन नसक्नुका कारण बारे जानकारी दिएको पौडेलले बताए।  

‘पहिलो त अन्तराष्ट्रिय बजारमा मलको मूल्य बढेको छ। जसले गर्दा टेन्डर आह्वान गर्दा पनि ठेक्का नहालेको स्थिति बन्यो। दोस्रो, कोभिडका कारणले हामीले जति अगाडि तयारी गर्न खोज्दा पनि सम्भव भएन,’ मन्त्री यादवको भनाइ उद्धृत गर्दै उनले भने, ‘तेस्रो कुरा हामीले भारतसँग जुन सम्झौता गर्‍यौँ त्यो सम्झौता बमोजिम समयमा मल प्राप्त भएन। आदि कारणले मल उपलब्ध गराउन नसकेको हो भनेर उहाँले भन्नुभयो।’

छलफलका क्रममा मन्त्री यादवले असार मसान्तसम्म ७६ हजार मेट्रिक टन रासायनिक मल आउने जानकारी पनि दिएका छन्। यद्यपि आउन लागेको उक्त मल आवश्यक पर्ने मलको २० प्रतिशतमात्र भएको नेता पौडेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .