राजनीति


कानूनमन्त्री भन्छन् : संसदले मात्रै कानून बनाउने भए लिगल थिंक ट्यांक किन चाहियो?

कानूनमन्त्री भन्छन् : संसदले मात्रै कानून बनाउने भए लिगल थिंक ट्यांक किन चाहियो?

नेपालखबर
असार १७, २०७९ शुक्रबार १६:४५, काठमाडौँ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले तत्कालको घटनाबाट प्रभावित भएर कानुनमा प्रभाव पार्ने प्रयास नगर्न सांसदहरुलाई आग्रह गरेका छन्।

तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्नु नेपालको सबैभन्दा ठूलो कमजोरी रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसो नगर्न सांसद र संसदीय समितिहरुलाई आग्रह गरेका हुन्।

शुक्रबार प्रतिनिधिसभा अन्तरगतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कानुन निर्माणमा गलत खालको प्रभाव पर्न नदिन लिगल थिंक टयांक नै बनाएको उल्लेख गर्दै उसैले दिएको सुझावको आधारमा सरकार अघि बढ्ने पनि स्पष्ट पारे।

संसदले मात्रै कानुन निर्माणमा प्रभाव पार्ने भए त्यो थिंक टयांकको आवश्यक्ता नै नहुने उनको भनाइ थियो। 

मन्त्री कोइरालाले भने, ‘नेपालको कानुन निर्माणको सबैभन्दा कमजोर पक्ष भनेको हामी तत्काल घटेको घटनाबाट प्रभावित भएर कानुनमा ठूलो प्रभाव पार्ने कुरामा विचार गर्नुपर्छ। सबै विषयमा यही हिसावले कुरा गरौं। संसद ठूलो कुरा हो । तर लिगल थिंक टयांक बनाएको छ। त्यसैको आधारमा सरकार अगाडि बढ्छ। नत्र भने त सबै संसदलाई छोडिदिए भइहाल्यो नि। किन सरकारले संसदमा विधेयक लिएर आउनु पर्यो?’

मन्त्री कोइरालाले महिला हिंसाका घटनाका पीडितलाई पीडकबाट असुल गरिएको जरिवाना सोझै उपलब्ध गराउने कानुनी व्यवस्था गर्न सकिने बताए। हाल पीडकबाट असुल गरिएको रकम हिंसा पीडित कोषमा जम्मा भएर पीडितले पाउने कानुनी व्यवस्था रहेकाले त्यसलाई परिवर्तन गरेर सोझै पीडितको हातमा दिन सकिने कानुनी व्यवस्था गर्न सकिने उनको भनाई थियो। 

मन्त्री कोइरालाले भने, ‘पीडित कोषमा जम्मा भएर मात्रै क्षतिपूर्ति पाउने व्यवस्था छ। तर मिलाउन के सकिन्छ भने जुन केशमा जरिवाना गरिएको छ, त्यसलाई सोझै क्षतिपूर्तिमा कन्भर्ट पनि गर्न सकिन्छ।’

त्यस अवसरमा मन्त्री कोइरालाले अपराध कर्म अनुसार दण्ड जरिवानाको व्यवस्था हुने प्रचलन रहिआएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad