ad ad

राजनीति


प्रज्ञा भवनमा प्रचण्ड ‘असिन-पसिन’

लफडा बढेपछि स्थायी समिति र पदाधिकारी अपूरो
प्रज्ञा भवनमा प्रचण्ड ‘असिन-पसिन’

रुपक चौलागाईं
असार २३, २०७९ बिहिबार २२:२७, काठमाडौँ

बिहीबार राजधानीको प्रज्ञा भवनमा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले बाँकी रहेका सबै कमिटीका पदाधिकारीको नाम टुंग्याउने अपेक्षा थियो। 

केन्द्रीय समिति यसअघि नै टुंग्याएका अध्यक्ष प्रचण्डले सुरुमा आफ्नो राजनीतिक प्रतिवेदनमाथि लामो ब्याख्या गरे। गत १८ र १९ असारमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत भएको प्रतिवेदनमाथि आएका सबै सुझावहरूको जवाफ दिए।

जवाफपछि उत्साहित हुँदै प्रतिवेदन पास भएको घोषणा बैठक हलबाट भयो। उपस्थित केन्द्रीय कमिटी सदस्यहरुले पनि त्यसमा ताली पिटे। 

प्रतिवेदन पास गरेर आधा घन्टा केन्द्रीय सदस्यहरूका लागि तयार भएको खाजा खानका लागि समय दिइयो। 

खाजाको समय सकेर उत्साहित हुँदै पोलिटब्युरोका सदस्यको नाम बोकेर प्रचण्ड हलभित्र छिरेका थिए। 

...अनि सुरु भयो ‘असिन–पसिन’
गत पुसमै ८ औं महाधिवेशन सकेको माओवादीले शीर्ष कमिटीको टुंगो लगाउन नसक्दा पार्टीभित्रबाटै विरोधका आवाजहरू सुनिन थालिसकेका थिए। 

पहिलो दिनको केन्द्रीय कमिटी बैठकमा नै पदाधिकारी चयन हुनुपर्ने दबाब खेपेका प्रचण्ड जसरी पनि यही बैठकबाट नेताहरुलाई साम्य पार्ने मुडमा थिए। 

तर, पोलिटब्युरोको नाम पढिसकेपछि पनि प्रचण्डले असन्तुष्ट नेताहरुलाई साम्य पार्न सकेनन्। 

सोही असन्तुष्टि साम्य पार्न उनले दुईपटक पोलिटब्युरोका सदस्यहरुको नाम पढेर सुनाए। तैपनि प्रचण्डलाई फ्लोरबाट ‘चेतावनी’ आइरह्यो। 

प्रचण्डले वाचन गरेको सूची समावेशी नभएको, भौगोलिकता समावेश नभएको, परिवारवाद हाबी भएको लगायतका असन्तुष्टि केन्द्रीय सदस्यबाट आउन थाले। 

काभ्रे जिल्लाबाट एकजना पनि पोलिटब्युरोमा नपरेको भन्दै सूर्यमान दोङ ‘लालध्वज’ आक्रमक भएपछि प्रचण्ड झस्किए।

‘हामीले के गल्ती गर्यौं, काभ्रेले के गल्ती गर्यो? बरु एक घन्टा रोकेर भए पनि १२५ जनाको नाम क्लियर गर्नुस्,’ सूर्यमानले बैठकमा भनेका थिए। 

केन्द्रीय सदस्यबाट निरन्तर पोलिटब्युरोबारे असन्तुष्टि आइरहँदा मञ्चमा रहेका प्रचण्ड केहीबेर ‘असिन–पसिन’ भएका थिए। प्रचण्डलाई फ्लोरबाटै एक केन्द्रीय सदस्यले त ‘कमरेड यो सूची तपाईं आफैंले बनाउनुभएको त हो?’ भन्दै प्रश्न गरेका थिए। 

कतिपयले जनयुद्धको पृष्ठभूमिबाट आएका नेताहरुलाई पाखा लगाइएको गुनासो गरेका थिए। 

त्यसपछि स्थगित भयो बैठक
फ्लोरबाट निरन्तर दबाब झेल्न नसकेपछि प्रचण्डले एक्कासी बैठक स्थगित गर्ने प्रस्ताव अघि सारे।

‘यहाँ देखिएको विवाद समाधानका लागि १ घण्टाका लागि बैठक स्थगित गरौं,’ दबाब झेल्न नसकेपछि प्रचण्डले भनेका थिए, ‘हामी केही गृहकार्य गरेर फेरि १ घन्टामा बसौं।’

खासमा प्रचण्डले बैठकस्थलमा आफूले दुईवटा ‘डायरी’ बोकेका कारणले अलमलमा परेको स्पष्टिकरण दिएका थिए। तर, बैठकस्थलमा उपस्थित केन्द्रीय सदस्य भने त्यो कुरा मान्न तयार छैनन्। 

एकजना केन्द्रीय सदस्यले आक्रोशित हुँदै भने, ‘सूचीमा कतिबेला के फेरबदल भयो प्रचण्ड आफैँलाई थाहा छैन्, परिवारका सदस्य राख्नु छ त अनि कसरी फाइनल लिस्ट बोकेर आउँछन्।’

लफडा बढेपछि स्थायी कमिटी र पदाधिकारी अपूरो
बिहीबार बिहान बैठकस्थल छिर्दैगर्दा महासचिवका दाबेदार वर्षमान पुनले आजै पदाधिकारी टुंगो लगाउने बताएका थिए। 

तर, प्रचण्डले पदाधिकारीको नाम टुंग्याउन सकेनन्। स्थायी कमिटीमा समावेश हुन चाहनेको नाम बढेपछि ‘ट्याक्टफुल्ली’ ह्याण्डल गर्ने नीति उनले लिए। 

केन्द्रीय कमिटीका सदस्यहरुलाई हसाउँदै प्रचण्डले भनेका थिए, ‘पोलिटब्यूरोमा जस्तो स्थायी कमिटी र पदाधिकारीमा त वैकल्पिक व्यवस्था गर्न मिल्दैन क्या रे!’

भूमिका बाँध्दै स्थायी कमिटीको चर्चा सुरु गरेका उनले नेकपाकालिन १५ जना सदस्यलाई स्वतः घोषणा गरे। विधानतः ४१ सदस्यीय स्थायी कमिटी हुनपर्नेमा बाँकी सदस्यहरु केही दिनमा छलफल गरेर टुंग्याउने आश्वासन देखाएर प्रचण्डले ताली पड्काउन लगाए।

प्रचण्डले सबैभन्दा सहजता पदाधिकारी चयनमा रहेको बैठकमा बताएका थिए। ‘केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी त बनायौं,’ प्रचण्डले बैठकमा भनेका थिए, ‘यो जाबो पदाधिकारी टुंग्याउन त समस्यै छैन्।’

पदाधिकारीको बारेमा चर्चा गर्दा फ्लोरमा भएका सदस्यहरुले हाँसोको फोहोरा छुटाएका थिए। 

अनि मागे २/४ दिन समय
उनले पदाधिकारीको विषय टुंगोमा पुर्याउनका लागि केही दिनको समय मागे। 

उनले केन्द्रीय समितिका सदस्यहरुलाई सम्बोधन गर्दै ‘२/४ दिनको समय’ माग गरेका छन्। 

‘महासचिव र उप महासचिवको नाम तयार गरेको छु, अहिले पढ्न पनि सक्छु,’ प्रचण्डले बैठकमा भनेको भनाई उदृत गर्दै एक सदस्यले भने, ‘प्लिज मलाई पढ्न नलगाउनुस् दुई चार दिन समय दिनुस्, साँच्चै भनेको मलाई समय दिनुस्।’

आफूसँग पदाधिकारीका सबै सदस्यको नाम भएपनि अहिले नै पढ्न नलगाउनका लागि अनुरोध गरेका हुन्।

सबै सदस्यहरुको अनुहार उज्यालो बनाउनेगरी केही दिनमा पदाधिकारी टुंग्याउने आश्वासन दिएर प्रचण्डले बैठक समापन गराएका छन्।

उनले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प नभएको दाबी गरेका छन्।

‘वरिष्ठ उपाध्यक्षमा नारायाणकाजीको विकल्प छैन्,’ उनले बैठकमा बोलेको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘नारायाणकाजीको पछि मेरो नाम भन्ने महराजीले प्रष्ट पार्नुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .