सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउनु र आफू भारत भ्रमणमा निस्कनुबीच कुनै सम्बन्ध नरहेको स्पष्टीकरण दिएका छन्।
भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तामा औपचारिक भ्रमणका लागि त्रिभुवन विमानस्थल पुगेका प्रचण्डले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यसबारे कुनै अलमलमा पर्न नहुने पनि प्रष्टीकरण दिए।
‘भारतीय जनता पार्टीका प्रेसिडेन्टको औपचारिक निमन्त्रणमा मेरो भ्रमण हुँदैछ,’ प्रचण्डले भने, ‘संयोग जस्तो, चिनियाँ विदेश विभागका प्रमुख नेपाल भ्रमणमा आउने कुरा हुँदा भारतीय विदेश सचिवसँग मेरो कुराकानी हुँदै थियो, त्यतिबेला यसबारे थाहा पनि थिएन।’
नेपालको समग्र विकास र द्विपक्षीय स्थितिलाई बलियो बनाउन आफ्नो भ्रमण महत्वपूर्ण हुने बताए।
‘चिनियाँ नेता आउने र म भारत जाने कुरासँग यो भ्रमणको कुन सम्बन्ध छैन। अनावश्यक कम्फ्युजन कसैलाई नहोस्,’ प्रचण्डले भने।
प्रचण्ड दुई दिनसम्म भारतमा रहनेछन्। प्रचण्डले भाजपा मुख्यालय पनि भ्रमण गर्ने बताइएको छ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि भाजपा मुख्यालय पुगेका थिए।
नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले केही दिनअघि प्रचण्डलाई भाजपा अध्यक्ष नड्डाको निम्तो हस्तान्तरण गरेका थिए।
Shares
प्रतिक्रिया