राजनीति


अखिल क्रान्तिकारी विवाद : राष्ट्रिय सम्मेलनको विकल्पसहित समितिले बुझायो प्रतिवेदन

अखिल क्रान्तिकारी विवाद : राष्ट्रिय सम्मेलनको विकल्पसहित समितिले बुझायो प्रतिवेदन

प्रचण्डलाई प्रतिवेदन बुझाउँदै समितिका सदस्यहरु। तस्बिर : नरेन्द्र न्यौपाने


नेपालखबर
साउन ४, २०७९ बुधबार १७:३९, काठमाडौँ

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको विवाद समाधानका लागि गठित कार्यदलले राष्ट्रिय सम्मेलन गर्नेसम्मको विकल्प दिएको छ।

बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको प्रतिवेदनमा विवाद मिलाएर जानुपर्नेमा जोड दिइएको प्रवक्ता नरेन्द्र न्यौपानेले जानकारी दिए।

माओवादी केन्द्रको स्थायी समितिसमक्ष उक्त प्रतिवेदन बुझाइएको हो। समितिका अर्का एक सदस्यले समस्या उल्लेख गरेर समाधानको विकल्प पनि सुझाइएको बताए। 

‘विद्यार्थीको समस्या उल्लेख गरेर समाधानको विकल्प पनि दिइएको छ', समितिका एक सदस्यले नेपालखबरसँग भने,‘अहिले भएकै समितिलाई मिलाएर लैजाने, विवाद नचर्काउने र मिलाएर जाने उपाय दिइएको छ।’

समितिले अध्यक्ष पञ्चा सिंह र समानान्तर कमिटी संयोजक पवन कार्की लगायतका विद्यार्थीसँग पनि छलफल गरेको थियो।

‘दुई पक्षसँगको छलफलको निष्कर्ष पनि मिल्नुपर्छ भन्ने छ, तर, समस्या सिर्जना भएको विन्दुबाट अब निकासको पहल गर्नुपर्छ भन्ने सुझाव प्रतिवेदनमा समेटिएको छ,’ ती सदस्यले भने।

तर, अर्का एक सदस्यका अनुसार विशेष सम्मेलन गर्न नेतृत्व तयार रहनुपर्ने सुझाव पनि दिइएको छ।

‘विशेष सम्मेलन गर्नै परे नेतृत्व तयार हुनुपर्छ र विवाद मिलाउनुपर्छ भन्ने सुझाव पनि दिएका छौँ,’ ती सदस्यले नेपालखबरसँग भने, ‘सम्मेलन गरेपछि सहमति होइन, निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्छ।’

संगठनमा देखिएको समस्या हल गर्ने उपाय चुनाव नै भएको प्रतिवेदनमा खुलाइएको छ। तर, प्रवक्ता न्यौपाने भने विवादको समाधानकेन्द्रित प्रतिवेदन तयार भएको बताउँछन्।

क्रान्तिकारीभित्र विवाद उत्कर्षमा पुगेपछि उपाध्यक्ष पवन कार्कीले गत असार १८ गते समानान्तर कमिटी बनाएका थिए। 

२५ असारमा बसेको माओवादीको स्थायी समिति बैठकले क्रान्तिकारीका ती पूर्व अध्यक्षहरु रमेश मल्ल, रत्न ढकाल र नरेन्द्र न्यौपाने रहेको समिति बनाएको थियो।

गत असोज १४ गते भएको अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा विवाद भएपछि पञ्चा सिंहलाई अध्यक्ष चयन गरिएको थियो। 

त्यसपछि चैत ३० गते बसेको भर्चुअल बैठकबाट उपाध्यक्ष, महासचिवसहित पदाधिकारी चयन गरिएको थियो।

त्यसबेला पदाधिकारी चयन गर्दा माइक म्युट गरेर एकतर्फी नाम घोषणा गरिएको, केन्द्रीय कमिटीमै नभएको व्यक्तिलाई पदाधिकारी बनाइएको लगायतका आरोप असन्तुष्ट पक्षले लगाएको थियो। 

त्यसपछि असार ५ गते काठमाडौंमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा विवाद भएको थियो।

उक्त विवादले उग्र रुप लिएपछि पवन कार्कीसहित १० जनामाथि अध्यक्ष पञ्चा सिंह नेतृत्वको पक्षले निलम्बनसहितको कारबाही चलाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad