ad ad

राजनीति


नागरिकताबारे अध्ययन गर्छु, गठबन्धन मेरो मामला होइन : राष्ट्रपति

देशको अर्थतन्त्र बिग्रिएकोमा राष्ट्रपतिद्वारा गम्भीर चिन्ता व्यक्त
नागरिकताबारे अध्ययन गर्छु, गठबन्धन मेरो मामला होइन : राष्ट्रपति

नेपालखबर
साउन १०, २०७९ मंगलबार १९:४७, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे अध्ययन गरेपछि यसबारे धारणा बनाउने स्पष्ट पारेकी छिन्। संसदबाट विधेयक आइपुगेपछि आफूले अध्ययन गर्ने राष्ट्रपतिको भनाइ छ।

विभिन्न सञ्चार माध्यमका सम्पादक, प्रकाशक तथा स्तम्भकारहरुसँग मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा पत्रकारहरुले नागरिकता विधेयकबारे राष्ट्रपतिको धारणा मागेका थिए।

अहिले प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा छलफलका क्रममा रहेको नागरिकतासम्बन्धी विधेयकका कतिपय प्रावधानहरु ठीक नभएको भन्दै केही पत्रकारले ‘राष्ट्रपतिको ध्यानाकर्षण’ गराएका थिए।

जवाफमा राष्ट्रपति भण्डारीले भनिन्, ‘नागरिकताबारे अध्ययन गर्नुपर्छ। पहिला यहाँ आओस्, त्यसपछि हेर्छु।’

नागरिकतासम्बन्धी विवाद आजको नभएर धेरै पुरानो भएको उनले स्मरण गरिन्। राष्ट्रपति भण्डारीले भनिन्, ‘यो आजको रोग होइन, अंगीकृतका विषयमा संविधानले पनि बोलेको छ। केही हामीले अपनाउनुपर्ने विषय छ। मेरो सीमाभित्र रहेर मैले काम गर्नुपर्छ। कतिपय कुराहरु हामीले भन्न मिल्दैन। म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन भनेर हामीले सपथ खाएका हुन्छौं।’

नागरिकताको विधेयकबारे कुरा गर्दैगर्दा राष्ट्रपतिले विगतमा छोरीलाई अंश दिने कानूनी व्यवस्थाका लागि आफूले लबिङ गरेको स्मरणसमेत गरिन् । छोरीलाई अंश दिने प्रावधानलाई बुज्रुक भनिने केही नेताहरुले नै उल्ट्याउन खोजेको र आफूले त्यसलाई रोकेको उनले सुनाइन्।

राष्ट्रपतिले थपिन्, ‘२० वर्षपछिको संसदको अधिकार छिन्न मिल्दैन। २० वर्षपछि बाटो बनाउन अहिल्यै रुख काट्न मिल्छ?’ 

‘गठबन्धन मेरो मामला हैन’
राष्ट्रपति भण्डारीले अहिलेको सत्ता वा प्रतिपक्षको गठबन्धन आफ्नो मामिला वा सरोकारको विषय नरहेको जनाउ दिइन्। उनले गठबन्धन जसजसले गरे पनि सबैले देशको हितमा सोच्नुपर्ने बताइन्।

राष्ट्रपतिले भनिन् ‘गठबन्धन के कस्तो छ, मेरो मामला होइन। जस्तो भए पनि जनतामा राम्रो होस्। कसले राम्रो काम गर्छ त्यसलाई जनताले न्याय गर्छन्। कमसेकम देश र जनताको हित हुनुपर्यो।’

कार्यक्रममा एकजना पत्रकारले अहिले देशमा प्रदेश खारेजीको आवाज उठेको भन्दै यसविषयमा पनि राष्ट्रपतिको धारणा मागेका थिए। यसमा संविधानकी रक्षक राष्ट्रपतिको धारणा थियो,‘प्रदेशको संरचनाबारे प्रश्न उठेको छ। मैले धारणा नबनाई बसेको त छैन तर मैले व्यक्त गर्न जिम्मेवारीको हिसाबले उपयुक्त हुँदैन जस्तो लाग्छ।’

नेताहरुले चुनाव खर्चिलो भयो भनेर भाषण गर्ने गरेको तर्फ लक्षित गर्दै राष्ट्रपति भण्डारीले प्रश्न गरिन्, चुनावमा बढी खर्च हुन्छ भनेको के हो ? मलाई बुझाइदिनोस् । जनतामा के देखाएर भोट लिने ? आधारभूत कुरामा त जानुपर्छ होला नि ।’

आर्थिक चिन्ता

राष्ट्रपति भण्डारीले पत्रकारहरुसँगको भेटघाटको सुरुभै देशको आर्थिक अवस्था विकराल बन्दै गएको निश्कर्षसहित आफ्नो चार पृष्ठ लामो लिखित वक्तव्य पढेर सुनाएकी थिइन्। आफूले कुनै सरकारप्रति लक्षित गरेको नभएर विगत ५० वर्ष यताको हिसाब गर्न चाहेको बताइन्।

‘बालेन्द्रले शीतलनिवासमा सवारी चलाउनुभएको छैन’

राष्ट्रपति भण्डारीले भनिन्,‘मैले त ५० वर्षको हिसाब गरौं भनेकी छु। के यो कसैप्रति लक्षित हुन्छ? अहिलेसम्म क–कसले कति सहयोग लिनुभयो? कहाँकहाँ लगानी भयो? उपलब्धि के पायौं? कतिपय शब्दहरु प्रयोग गर्न मलाई पनि आउँछ तर म प्रयोग गर्दिनँ। देशको अर्थव्यवस्था, आर्थिक प्रणाली बलियो हुनुपर्छ।’

राष्ट्रपतिले भावुक हुँदै भनिन् ‘अति भयो क्या! १७ खर्बको बजेट छ, १७ खर्बकै व्यापारघाटा हुन्छ?’

राष्ट्रपतिको वक्तव्य–


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .