ad ad

राजनीति


ओली–माधव पुनर्मिलनको सम्भाव्यता

ओली–माधव पुनर्मिलनको सम्भाव्यता

रुपक चौलागाईं
साउन ११, २०७९ बुधबार १४:५३, काठमाडौँ

केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबीच एकीकरणको झिनो बहस सुरु भएको छ। गत स्थानीय तह निर्वाचनबाट पाएको मतपरिणामपछि पुनः एमालेसँग सहकार्य गर्न समाजवादीका नेताहरु सकारात्मक हुँदै गएको चर्चा चल्न थालेको छ।

एकातिर सत्तारुढ वाम घटकबीच समाजवादी केन्द्र बनाउने चर्चा भइरहँदा एमाले र समाजवादीका नेताहरुले मिलनबिन्दु खोजिरहेका छन्।

गतसाल मात्रै राजनीतिक डिभोर्स गरेका यी दलका शीर्षनेताहरु निर्वाचनअघि नै एक हुन सक्ने सम्भावना कति छ त? उत्कर्षमा पुगेर विभाजित भएको एमालेको विवाद अब मेलमिलापमा परिणत होला?

यसका पाटापक्ष बारेमा चर्चा गर्नुपूर्व पार्टी स्थापनाकालदेखि माधव नेपाल र केपी ओलीबीचको ऐतिहासिक सहकार्यलाई केलाउन जरुरी देखिन्छ ।

डेढ दशकसम्म माधव नेपालको एकछत्र नेतृत्व
माधव कुमार नेपाल ०५० जेठदेखि नेकपा एमालेको महासचिव बने । दासढुंगा दुर्घटनामा मदन भण्डारीको मृत्यु भएपछि नेपाल महासचिव बनेका हुन् । ०५४ मा नेपालगञ्जमा सम्पन्न छैठौं महाधिवशेनबाट पनि माधव कुमार नेपाल नै महासचिव बने । ०५९ मा जनकपुरमा सम्पन्न सातौं महाधिवेशनबाट पनि नेपाल नै महासचिव चुनिए । ०६४ सालमा पहिलो संविधानसभामा पार्टी र आफूले पराजय भोगेपछि माधव नेपालले राजीनामा दिए । यसरी ०५० सालदेखि ६४ सालसम्म करिब १५ वर्ष माधवकुमार नेपालले पार्टीको महासचिव र अध्यक्ष पदमा रहेर नेतृत्व सम्हाले । 

माधव नेपालले नेतृत्व सम्हालेकै बेलामा एमाले पहिलोचोटि सरकारमा पुग्यो । माओवादीसँग वार्ता भयो र देशमा गणतन्त्र स्थापना भयो । नेकपा एमाले एउटा बलियो पार्टीका रुपमा स्थापित भयो ।

तर, पहिलो संविधानसभामा एमाले मात्र होइन, कांग्रेस पनि खुम्चिएको थियो । माधव नेपाल मात्र होइन, केपी ओली पनि चुनाव हारेर संसदबाहिरै बसेका थिए । तथापि ओली पक्षले त्यसबेलाको हारको जिम्मेवार माधव नेपाललाई लगाउँदै आएको छ ।

माधव नेपाल र झलनाथ खनाल पक्षले भने ओलीबाट सधैं पार्टीभित्र असहयोग हुने गरेको गुनासो पोख्ने गरेका छन् ।

डेढ दशक ओलीको शक्ति आर्जन
जसरी माधवकुमार नेपालले डेढ दशकसम्म नेकपा एमालेको नेतृत्व सम्हाले, केपी शर्मा ओलीले लगभग त्यति नै समय पार्टीभित्र बलियो गुटको अभ्यास गरे । सुरुमा उनी संस्थापन पक्षको सहयोगीका रुपमा देखा परे, शक्ति आर्जन गरेपछि नेतृत्वमाथि धावा बोले ।

०३२ साल जेठमा सीपी मैनालीको नेतृत्वमा ८ सदस्यीय को–अर्डिनेसन केन्द्र (कोके) गठन हुँदा माधव नेपाल दोस्रो बरियताको पोलिटब्यूरो सदस्य थिए, केपी ओली केन्द्रीय कमिटीमै थिएनन् ।

०३५ सालमा सीपी मैनाली महासचिव र माधव नेपाल दोस्रो बरियताको पोलिटब्यूरो सदस्य रहेको कमिटी बन्दा ईश्वर पोखरेल र वामदेव गौतमसमेत अटाएको कमिटीमा केपी ओली थिएनन् ।

०४६ साल भदौमा चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुन्यो । माधव नेपाल दोस्रो बरियतामै रहे । २० सदस्यीय केन्द्रीय कमिटीमा ओली १२ औं बरियतामा देखिए । यही सालदेखि ओली केन्द्रीय सदस्य बने । ६ सदस्यीय पोलिटब्यूरोमा ओली परेनन् ।

०४७ पुसमा नेकपा माले र नेकपा मार्क्सवादीबीच एकता भई नेकपा एमाले बन्यो । ३१ सदस्ययीय संयुक्त केन्द्रीय कमिटीमा माधव नेपाल तेस्रो र केपी ओली १४ औं बरियतामा रहे । यहाँ पनि ओली पोलिटब्यूरोमा परेनन् ।

०४९ सालको पाँचौं महाधिवेशनबाट चुनिएको नेतृत्वमा अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारीपछि माधव नेपाल तेस्रो बरियतामा थिए । केपी ओली पाँचौँ बरियतासहित स्थायी कमिटीमा उक्लिए । ४४ सदस्यीय केन्द्रीय कमिटीमा नेपाल र ओलीको वीचमा जीवराज आश्रितको चौथो बरियता थियो ।

०५४ सालको छैठौं महाधिवेशन र ०५९ सालको सातौं महाधिवेशनमा केपी ओली पाँचौं र चौथो बरियतामा रहे । ०६५ साल फागुनमा बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा अध्यक्ष झलनाथ र बरिष्ठ नेता माधवकुमार नेपाल पछाडि ओली तेस्रो बरियतामा उक्लिए ।

०७१ को महाधिवेशनबाट ओली केन्द्रीय अध्यक्षमा निर्वाचित भए । ८ वर्षयता ओली नै एमालेको नेतृत्व गर्दै आएका छन् ।

इतिहासतिर फर्केर हेर्दा पार्टी नेतृत्वमा ओलीको उदय ०४६ पछि भएको देखिन्छ । ०४६ देखि ०५० सम्म उनले मदन भण्डारीलाई साथ दिए । संगठन र विचार दुबैमा उनी मदन भण्डारीका निकट थिए । माधव कुमार नेपाल पनि वैचारिक–सांगठानिक दुबै हिसाबले मदन भण्डारीकै निकट थिए । त्यसबेला पार्टीभित्रको प्रतिपक्षी धारको नेतृत्व संस्थापक महासचिव सीपी मैनालीले गरेका थिए ।

०५० को दशकमा मदन भण्डारीको निधनपछि पार्टीको सत्तामा माधव नेपालको उदय भयो भने केपी ओली संस्थापन पक्षकै सहयोगीका रुपमा रहे । वामदेव गौतमहरुले पार्टी फुटाएर जाँदा पनि ओलीले पार्टीभित्र माधव नेपाललाई दरिलो साथ दिए । यतिबेलासम्म आइपुग्दा पार्टीभित्र ओलीको गुट निकै बलियो बनिसकेको थियो । ०५२ सालमा सरकार बन्दा गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि ओली थप शक्तिशाली बने ।

पार्टीभित्र आफ्नै गुट खेलाए पनि माधव नेपाललाई लामो साथ दिएका ओलीले ०६५ सालको आठौं महाधिवेशनमा अध्यक्षका लागि झलनाथ खनालसँग ‘फाइट’ गरे । झलनाथसँग चुनाव लडिरहँदा ओलीलाई माधव नेपालले साथ दिएका थिए । अर्थात्, शुरुआती दिनदेखिको माधव–ओली गुट ०६५ सालको आठौं महाधिवेशनसम्म आपसी सहकार्यमै थियो । झलनाथलाई माधवले साथ नदिए पनि वामदेवले साथ दिएका कारण केपी ओलीले हारे, झलनाथले जिते ।

यहीबीचमा ०७१ को नवौं महाधिवेशनमा आइपुगेपछि भने माधव–केपी सम्बन्ध बिग्रियो । ओलीले पार्टीभित्र आफ्नो गुटको बर्चश्व कायम गरिसकेका थिए । यही कारणले गर्दा नवौं महाधिवेशनमा ओलीले जिते, माधव नेपालले हारे । झलनाथ खनाल माधव नेपालतिर नजिक भए भने वामदेव ओलीतिर लागे । अध्यक्ष जितेपछि ओलीले माधव, झलनाथ, वामदेव कसैलाई पनि विश्वासमा लिइरहन आवश्यक ठानेनन्, सबैलाई चिढ्याएर एक्लै अघि बढ्ने नीति लिए ।

आठौं महाधिवेशनमा नेपाल वरिष्ठ नेता चुनिएका थिए भने ओली नेता चुनिएका थिए। अध्यक्षसहित १० सदस्यलाई स्थायी कमिटीमा समावेश गरिएको थियो। ११६ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो। झलनाथ खनालसँग ओली अध्यक्षमा लडेका थिए । ओलीलाई माधव नेपालले साथ दिएका थिए । खनालको साथमा वामदेव गौतमहरु थिए ।

नवौं महाधिवेशनसम्म आइपुग्दा ओली–नेपाल सम्बन्धमा तिक्तता बढ्यो। यहीबीच ०७१ असार १९ देखि साउन १ सम्म काठमाडौंको भृकुटीमण्डपमा नवौं राष्ट्रिय महाधिवेशन भयो। केपी ओली ४४ मतको झिनो मतान्तरसहित माधव नेपाललाई हराउँदै अध्यक्षमा निर्वाचित भए। १९४ सदस्यीय केन्द्रीय कमिटी, ४५ सदस्यीय पोलिटब्यूरो, २० सदस्यीय स्थायी कमिटी र १३ सदस्यीय पदाधिकारी बन्यो।

यहीबीचमा २०७४ असोज १४ गते नेकपा (एमाले) र माओवादी केन्द्रबीच आम निर्वाचनमा गठबन्धन गरेर जाने सातबुँदे सहमति भयो।

२०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएर नेपाल कम्युनिस्ट पार्टी गठन भयो। दुई अध्यक्ष व्यवस्था हुनेगरी ओली र प्रचण्ड पहिलो र दोस्रो अध्यक्ष बने। माधव नेपाल वरिष्ठ नेताको रुपमा ९ सदस्यीय सचिवालयमा अटाए।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले अर्कै पार्टीसँग नाम मिलेको भन्दै खारेज गरिदियो। एकता बदर भएपछि पुनस्थापित भएको एमालेले २०७८ मंसिर १० देखि १४ सम्म दशौं महाधिवेशन ग¥यो। ओलीमा व्यक्तिवादी प्रवृत्ति हावि भएकादेखि अपमान बढ्दै गएको भन्दै माधव नेपाल सहितका नेताहरुले २०७८ भदौमा नेकपा (एकीकृत समाजवादी) गठन गरे।

विचार एउटै, स्वाभाव फरक
काठमाडौंमा ०५४ मा भएको पाँचौं महाधिवेशनमा ओली र नेपालको लाइन एउटै थियो। त्यसपछि बाँकेमा भएको छैठौं महाधिवेशनमा पनि उनीहरुको कार्यनीति मिल्थ्यो। छैठौं महाधिवेशनपछि बामदेव गौतमले पार्टी फुटाएपछि ०५९ सालमा भएको सातौं महाधिवेशनमा ओली–नेपालबीच सामान्य अन्तरविरोध देखिन थाल्यो।

सातौं महाधिवेशनमा ओलीले अध्यक्ष प्रणाली ल्याउने प्रस्ताव गरेका थिए। सो प्रस्ताव नेपालले अस्वीकार गरेदेखि उनीहरुको सम्बन्धमा दरार आउन थालेको एमाले नेताहरु बताउँछन्।

पद बाँडफाँटको विषयमा गम्भीर असन्तुष्टि हुन थालेपछि ओलीले संसदीय दलको नेता दाबी गरे। नेपाल महासचिव भएकै बेलामा ओलीले ल्याएको सो प्रस्तावबाट नेपालसँग ओली चिढिएको नेताहरु बताउँछन्।

अन्ततः झलनाथ खनाल पार्टीको अध्यक्ष भएका बेलामा ओलीले दलको नेतामा बाजी मारे। ‘नेतृत्व हस्तान्तरण, एक व्यक्ति एक पद, उमेर पुगेका नेताहरुको अवकाश र नयाँ पुस्तालाई अवसर’ भन्ने नाराका साथ ओली दलको चुनावमा खनालसँग भिड्न पुगेका थिए। त्यसले एमालेमा तरङ्ग ल्यायो।

०७० को संसदीय चुनावपछि ओलीको पहिलो प्रधानमन्त्री कालमा सत्ता सहयात्री तत्कालीन माओवादीले समर्थन फिर्ता लिएर अविश्वास प्रस्ताव दर्ता गरेको थियो।  त्यतिबेला नेपालले आफूलाई समर्थन नगरेको आरोप ओलीले लगाए। ओलीको कार्यशैलीगत प्रवृत्तिको प्रश्न उठाएपछि उनीहरुबीचको सम्बन्ध झनै चिढिँदै गएको थियो।

त्यसपछि नवौं महाधिवेशनमा नेपाललाई पराजित गरेपछि बढेको अन्तसंघर्ष नेकपाकालीन बेलामा पानी बाराबारकै अवस्थासम्म पुग्यो। ०७६ भदौ ५ गते ओली उपचारका लागि सिंगापुर जाने तयारीमा रहेका बेला तत्कालीन नेकपाको सचिवालय बैठकमा त उनीहरुबीच झगडाकै अवस्था सिर्जना भयो।

नेपालले ओलीलाई स्वास्थ्यलाभको कामना गर्दा माधव नेपालले ‘आफू मरोस्’ भन्ने चाहेको भन्दै ओलीले आक्रोश पोखेका थिए।

अन्ततः विचारमा एकै भएता पनि ओली र नेपालको स्वाभावजन्य भिन्नताले एमाले विभाजित बन्यो । झलनाथ खनाल र माधव नेपालले बेग्लै पार्टी बनाए । यसले ओली–नेपाल सम्बन्धमा अहिले झनै ठूलो दरार ल्याएको छ । दोस्रो पुस्ताका नेताहरुले ओली–नेपालबीच मेलामिलापका लागि गराएको भेटवार्ता पनि प्रत्युत्पादक बन्यो ।

 

अब कति सम्भव छ पुनर्मिलन?
अहिले वामपन्थी एकता र समाजवादी केन्द्र निर्माणको विषयले चर्चा पाइरहँदा एमालेकै केही नेताहरुले एमाले–समाजवादीबीच पनि एकताको चर्चा चलाउन थालेका छन्। समाजवादी केन्द्रका एक नेता ‘अलि अलि कल्पना गरिएका र अलि अलि छलफल भएको’ विषयका रुपमा यसलाई हेर्छन्।

उनी भन्छन्, ‘कार्यकर्ताहरु विचलित होलान् कि भनेर अलि अलि चर्चा पनि चलाइएको हो ।तर, बाहिर जति चर्चा भएको छ, त्यति होइन।’

समाजवादीकै अर्का एकजना नेता भने राजनीति सम्भावनै सम्भावनाको खेल भएको भन्दै जे पनि हुन सक्ने बताउँछन्। ०७४ को निर्वाचनमा पनि प्रचण्ड र ओलीको रणनीतिक मूभका कारण अन्तिम समयमा परिस्थिति फेरिएको बताउँदै यो पटक शंका गर्ने आधार रहेको उनको विश्लेषण छ।

‘अहिलेसम्म एमालेसँग नै एकता हुनेजस्तो केही सुनिएको छैन,’ ती नेता भन्छन्, ‘राजनीतिमा असंभव केही छैन्, यो असम्भावनाभित्र पनि सम्भावना भएको क्षेत्र हो।’

आगामी आम निर्वाचनसम्म सत्तारुढ गठबन्धन टुट्ने ती नेताको दाबी छ। ‘एमाले बाहेकको समाजवादी केन्द्र बनाउने कुरा फलदायी पनि देखिन्न,’ उनले भने, ‘एमालेसँग पनि अहिले मिल्ने सम्भावना निकै न्यून छ।’

एमालेमा कार्यकर्ता असन्तुष्ट भएपछि एकताको प्रचार गरेर अड्याउन खोजिएको समाजवादीका नेताहरुको बुझाइ छ।

जहाँसम्म ओली–माधव एकताको प्रश्न छ, यो तत्कालै, चुनावअघि नै सम्भव नरहेको नेताहरु बताउँछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .