ad ad

राजनीति


गृहजिल्ला झापामा व्यस्त ओली

‘एमालेलाई हराएर के पाउनु भो?’
गृहजिल्ला झापामा व्यस्त ओली

सुमन पुरी
साउन १३, २०७९ शुक्रबार १३:१८, विराटनगर

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली साउन ११ गते बुधबारदेखि  गृह जिल्ला झापामा छन्। 

स्थानीय तहको निर्वाचनपछि यति लामो बसाइका लागि गृह जिल्ला आएका अध्यक्ष ओली १४ गते शनिबारसम्म झापामा व्यस्त रहने छन्। 

उनको झापा बसाइलाई आगामी निर्वाचनको तयारीका रुपमा हेरिएको छ। 

उनले आफू सहभागी कार्यक्रममा पनि निर्वाचन लक्षित अभिव्यक्ति र निर्देशन दिएका छन्। 

यसले आसन्न संघीय र प्रदेश सभाको निर्वाचनको तयारीका रुपमा ओलीको झापा बसाइलाई हेरिएको छ। 

अध्यक्ष ओलीले निर्वाचन लड्ने झापा क्षेत्र नम्बर ५ मा स्थानीय तहको निर्वाचनमा एमाले कमजोर देखिएको छ।

बढी  मतदाता रहेको दमक नगरपालिकाको प्रमुख र उपप्रमुख पद एमालेले गुमाएको छ  भने कमल गाँउपालिका अध्यक्ष पनि एमालेले हारेको छ।

४ स्थानीय तहमध्ये  गौरीगन्ज पनि प्रमुख पदमा एमाले हार्दा गौरादहमा मात्रै मेयर-उपमेयर जितेको छ। 

यसरी आफ्नो निर्वाचन क्षेत्रका ४ मध्ये ३ स्थानीय तहको प्रमुख पद गुमाउँदा ओलीले आगामी निर्वाचनको तयारी बेलैमा थालेको एमाले नेता/कार्यकर्ता बताउँछन्। 

अध्यक्ष ओलीको हार-जितलाई पार्टीको हार-जितका रुपमा व्याख्या गरिने भएकाले कार्यकर्ताको मागबमोजिम ओली झापा बसाइका लागि आएको एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाले बताए।

यसअघि ७४ को स्थानीय तहको निर्वाचन एमालेले दमक नगरपालिका र कमल गाँउपालिका जितेको थियो।

गौरादहमा पनि उपमेयर पद जितेको थियो। गौरीगन्जमा भने दुवै  एमालेले यसअघि दुवै पद गुमाएको थियो। यसपटक गौरीगन्जमा भने एमालले उपाध्यक्ष जितेको छ। 

‘एमालेलाई हराएर के पाउनु भो?’

गृहजिल्ला बसाइका क्रममा एमाले अध्यक्ष ओली जनवर्गीय संगठनका नेता/कार्यकर्तासँग भेटघाट, जातीय संस्थाका प्रतिनिधिसँगको भेटवार्ता र अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी भए।

उनी  आफ्नो निर्वाचन क्षेत्रका ४ वटै  स्थानीय तहमा बेग्लाबेग्लै रुपमा अगुवा कार्यकर्ताहरूसँग भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सहभागी भए।

भेटघाटका क्रममा प्रशिक्षणसमेत दिएका अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनको परिणामप्रति असन्तुष्टि व्यक्त गरे। 

उनले कार्यकर्ता भेटघाट कार्यक्रममा भने, 'एमालेले हार्न नसक्ने स्थानमा यसपटक कसरी हार्यो?’

दमकमा भएको कार्यक्रममा उनले भने, 'विभिन्न हिसाबले विरोधीलाई सघाउने काम मात्र भयो भने हामी उनीहरुका भरिया मात्र हुन्छौं।'

उनले एमाले कार्यकर्ताले नै  विरोधीलाई भोट दिएर जिताएको र विरोधीको झण्डा बोकेका कारण अहिले एमालेले  गाली सहनुपर्ने अवस्था आएको बताए। 

राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिका हार्नुको कारण के हो भनेर प्रश्न गरे।

भेलामा सहभागी एक नेताका अनुसार अध्यक्ष ओलीले एमालेलाई हराएर के पाउनु भो भन्दै प्रश्नसमेत गरेका थिए।

उनले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा हारको गल्तीबाट पाठ सिकेर आगामी निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए। 

‘व्यक्तिसँग असन्तुष्टि हुन सक्छ। व्यक्तिसँगको असन्तुष्टिलाई मतपत्रमा पोखेर के पाउनु भो’, उनले भने, उनले भने, ‘पार्टीले उठाएपछि पार्टीको मान्छे हो। असन्तुष्टि  पोख्ने ठाउँ मत पत्र नभएर अन्य ठाउँ हाे।’ 

उनले झापा क्षेत्र नम्बर ५ लाई राष्ट्रिय राजनीतिको केन्द्रका रुपमा हेरिएकाले यहाँ हुने हारले समग्र पार्टीको हारसँग जोडिने बताए। 

ओलीको कार्यतालिका 

एमाले अध्यक्ष ओली साउन ११ गते भद्रपुर विमानस्थलमा उत्रिएसँगै राजनीतिक र सामाजिक भेटघाटमा व्यस्त छन्।

उनले सोही दिन नेपाल उत्पीडित जातीय मुक्ति समाजको भेलालाई सम्बोधन गरे। एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारीसँग छलफल गरे। यसपछि उनले जनवर्गीय संगठनका नेता/कार्यकर्तासँग जिल्लाको अवस्थाबारे रिर्पोटिङ लिए।

नेताहरुको रिर्पोटिङ सुनेपछि अध्यक्ष ओलीले केही निर्देशन दिए।

सो दिन झापाको बिर्तामोडमा बसेका ओली भोलिपल्ट अर्थात् १२ गते भने आफ्नो निर्वाचन क्षेत्रका पालिकाहरुको कार्यक्रममा केन्द्रित भए। 

सुरुमा सबै पालिकाका अगुवा कार्यकर्ताहरूलाई दमकमा बोलाउने र भेटघाट गर्ने कार्यक्रम तय गरिएको भए पनि पछि छुट्टाछुट्टै कार्यक्रम गरिएको निर्वाचन क्षेत्र नम्बर ५ का सांसद प्रतिनिधि होमबहादुर थापाले बताए। 

कार्यकर्ताहरूले पालिकामै आउन आग्रह गरेपछि दमक र गौरादह नगरपालिका तथा कमल र गौरीगन्ज गाँउपालिकामा अगुवा कार्यकर्ता भेटघाट र प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो। 

१२ गते राति दमक बसेका अध्यक्ष ओलीले बिहानै भेटघाट सुरु गरेका छन्। 

उनले धिमालहरुको जातीय सस्थासँग भेटघाट गरे भने पार्टीनिकट व्यापारीसँग पनि भेटवार्ता गरे।

त्यसपछि ओली दमकमै भएको पार्टी प्रवेश कार्यक्रममा सहभागी भए भने दिउँसो बिर्तामोडमा जिल्लास्तरीय अगुवा कार्यकर्तासँग भेटघाट र प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्। 

१४ गते उनले इलामको चरमचुलीमा हुने अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .