NepalKhabar NepalKhabar

ब्लग


एसईई : ‘बधाई’ दिइएका तपाईंका सन्तान मात्रै अब्बल हुन्?

एसईई : ‘बधाई’ दिइएका तपाईंका सन्तान मात्रै अब्बल हुन्?

जस्मिन ओझा
साउन १४ , काठमाडौँ

मान्छेहरूले भन्ने गर्थे– एसएलसी फलामको गेट हो। 

बा, काका, दाइ, दिदीका एसएलसी अनुभव सुन्दा लाग्थ्यो– यो फलामे गेट पार गर्न फलामकै चिउरा चपाउनुपर्छ। अर्को रोमाञ्चकता पनि सँगै थियो– कहिले एसएलसी पास गरेर दाइ, दिदीजस्तै कलेज पढ्न जाने होला? हरेक वर्ष कक्षा बढ्दै जाँदा एसएलसीको प्रतीक्षा पनि उत्तिकै व्यग्रताका साथ हुन्थ्यो। 

जब कक्षा १० पुगेँ, वर्षौं रोमाञ्चक बनाइरहने त्यो एसएलसी एसएलसी रहेन। म एसईईको पहिलो ब्याच भएँ। एसईईपछि मैले जीवनमा कति परीक्षा दिएँ, हिसाब छैन। तर अग्रजले भनेजस्तो फलामे गेटभन्दा दरिलो जीवनको परीक्षा दिएर आइसकेकी छु। कतिपय परीक्षामा ए प्लस ल्याएँ हुँला, कतिपय परीक्षामा डी माइनस पनि भएँ हुँला। 

जे नतिजा ल्याए पनि, जस्तो ग्रेडिङ ल्याए पनि अन्ततः जीवनको परीक्षा हरकोहीले दिनैपर्छ। हरेक परीक्षाले एसईईमा जस्तो ग्रेडिङमा रिजल्ट माग्दैन, मार्कसिट माग्दैन। जीवनका ती तमाम परीक्षाले त मान्छेको जिम्मेवारी, उत्तरदायित्व बोक्न सक्ने साहस र हिम्मत माग्छ। असफलतामा पनि नडगमगाउने धैर्यता, गतिशीलता र निरन्तरता माग्छ। 

पक्तिंकारले क्लिष्टजस्तो लाग्ने माथिका गन्थन-मन्थन लेखिरहनु खासै आवश्यक त थिएन। झट्ट पढ्दा प्रवचनजस्ता लाग्ने कमजोर वाक्य गठन गर्न खासै रहर पनि थिएन। तर अस्ति मात्रै फलामे गेट भनेर मानसिक त्रास सिर्जना गरिएको एसईईको नतिजा सार्वजनिक भयो। र, गन्थन-मन्थन लेख्न बाध्य भएँ।

भर्खरै सपनाप्रति, भविष्यप्रति थोरै चासो राख्न सुरु गरेका कलिला किशोर–किशोरीलाई एसईई अथवा एसएलसी पास गर्नु फलामे ढोका फोड्नुसरह हो भनेर मानसिक यातना दिने हर्कतको सुरुवात कसले गर्यो? त्यो उनीहरू नै जानुन्। तर किशोर मस्तिष्कमा सभ्य मानिस भएर जिउने कला सिकाउनुको साटो मार्कसिट हेरेर रुनु र आत्महत्या गर्ने बनाउनु डरलाग्दो विषय हो। 

अस्ति लगभग साँझको ६ः३० बजेको थियो। म दिनभरिको दौडधुप र धपेडीले गलेको थिएँ। सामाजिक न्याय, महिलाका मुद्दा,  उत्पीडित तथा किनारीकृतका सवालमा दैनिक तातो सडकमा बोल्नुपर्छ, बोलेको राज्यले सुनेन भने चिच्याउनुपर्छ।

हुन त समतामूलक समाज निर्माणको यो यात्रामा शारीरिक थकान केही पनि होइन। त्यही पनि लड्नु त छँदै छ। यही लडाकु दिनचर्याले ज्यान फतक्क गलाउँछ। 

म यही हाल लिएर घर पुगेको मात्रै के थिएँ– भाइको अँध्यारो अनुहार मेरा आँखामा ठोक्कियो। मैले थाहा पाइहालेँ– पक्कै एसईईको रिजल्ट आयो। सधैंभरि केही न केही नयाँ काम गर्न उज्यालो भइरहने भाइको त्यो अनुहार मलिन देखेपछि थाहापाइहालेँ–रिजल्ट पक्कै राम्रो आएन।

भाइको मनस्थिति थाहा पाएपछि नतिजा कस्तो आयो भनेर सोध्न मन लागेन।

प्रसंग अन्तै मोड्न लागेको थिएँ, भाइले फयाट्टै भनिहाल्यो– ‘मेरो ‘ए’ आएछ दिदी!’

‘राम्रो छ त यत्तिको रिजल्ट। किन निरास भएको?’ 

भाइले निराशाजनक आवाजमा भन्यो, ‘ए प्लस आउँछ भनेको, ए मात्र आएछ।’

यत्तिको राम्रो नतिजा आउँदा पनि भर्खरै १६ वर्ष टेकेको भाइ किन निराश भयो? प्रश्नहरू मनभरि खेलिरहे। कुनै मार्कसिटमा देखिने मार्क आखिर केका लागि? कलिलो मस्तिष्कमा राम्रो मार्क ल्याउनु नै अब्बलताको प्रतीक हो भनेर कसले सिकायो? हामी बालबच्चालाई सही शिक्षा त दिइरहेको छौं?

राम्रो मार्क ल्याएर पनि निराश मेरो भाइले स्कुलको प्रांगण नै टेक्न नपाएका उसको पुस्ताका ऊजस्तै साथीभाइ भेट्दा कस्तो व्यवहार गर्ला? खराब नतिजा ल्याएका साथीभाइसँग भेट हुँदा कस्तो व्यवहार गर्ला? यस सवालको जवाफ खोज्न धेरै सोचिरहनु पर्दैन, हाम्रै जिब्रोमा ‘फिक्स्ड’ छ। 

यी सबै परिस्थितिको जिम्मेवार हामी नै हौं। हामीले अब्बलताको मानक नै राम्रो नम्बरलाई बनायौं, प्रतिभालाई हैन। राम्रो फुटबल खेल्ने प्रतिभावान् बच्चालाई पनि अब्बलता भनेको तीन घण्टा उत्तरपुस्तिकामा लेखेर आउने उत्कृष्ट नम्बर नै हो भन्ने बनायौं। राम्रो पेन्टिङ गर्ने बच्चालाई हामीले पाब्लो पिकासो र लियोनार्दो दा भिन्ची पढाएनौं, उनीहरूलाई पनि नम्बर नै सबथोक हो भनिदियौ। राजनीतिमा रूचि भएका बच्चालाई मार्क्स, लेनिन, गान्धी, मार्टिन लुथर किङ आदि पढाउने प्रयास गरेनौं चाहेनौं, नम्बर नै सबथोक हो भनिदियौँ। 

हाम्रा यस्ता प्रवृत्तिले कोही प्रतिभावान बच्चालाई कहाँ कहाँ निरुत्साहन गर्छ, हामीले गम्भीर भएर आत्मालोचना गर्नुपर्छ कि पर्दैन?

निराश भएको भाइलाई सम्झाउन मेरो बुताले नभ्याउन सक्ला। त्यही पनि भाइलाई भनेँ, ‘तीन घण्टाको प्रश्न पत्रले तिम्रो क्षमता मापन गर्न सक्दैन। हामी नतिजा होइन, परीक्षाको बेला हतारिनुपर्छ, यसै पनि तिम्रो नतिजा राम्रो आएको छ। तिमी आफूभन्दा धेरै अंक ल्याउनेहरूबाट प्रेरणा लिँदै कम अंक ल्याउनेहरूका लागि हौसलाको स्रोत बन्नुपर्छ।’

भाइको यो निराशा एउटा प्रतिनीधि प्रसंग मात्रै हो।

हरेक घर–घरमा खोज्दै जाने हो भने अनगिन्ति भाइबहिनीहरू भेटिने छन्, जसलाई एसईईको नतिजाले निराश बनाएको छ। सामाजिक सञ्जालमा राम्रो मार्क ल्याएका सन्तानलाई बधाईको ओइरो लागेको छ तर हामीले कहिले सोच्यौं– बधाईका लागि खर्चिएका दुई/चार वाक्य पढेर राम्रो नतिजा ल्याउन नसकेका विद्यार्थी र उसका अभिभावकलाई कहाँ कहाँ चोट पर्न सक्छ? 

केही वर्षअघि मेरो एक आफन्तको घरमा भयानक दुर्घटना भयो। दुर्घटनाको प्रंसग यस्तो छ : ती आफन्तकी छोरी एसईई दिने तयारीमा थिइन्। परिवारले उनलाई निरन्तर मानसिक यातना हुनेगरी दबाब दिइरह्यो - जसरी पनि ‘ए प्लस’ जीपीए ल्याउनैपर्छ। परिवारका सदस्यले छरछिमेकमा राम्रा मार्क ल्याएकाहरूको प्रसंग निरन्तर उप्काइरहे। यसले ती विद्यार्थीलाई ‘डिमोटिभेट’ मात्रै गरेन, अन्त्यमा उनले एसईई नै हापिन् र घरको सिलिङमा झुन्डिइन्!

अहिले नेपालको परीक्षा केन्द्रित शिक्षा प्रणाली सही हो त? सैद्धान्तिक  बहस आवश्यक भएको छ। शिक्षाविद्हरूले नेपालको शिक्षा प्रणालीलाई वस्तुपरक र समय चेत अनुरूप पुनःसंरचना गर्नुपर्ने आवश्यकता देखिएको छ। 

पहिला एसएलसी हुँदासम्म ‘फस्ट डिभिजन, सेकेन्ड डिभिजन’ हुन्थ्यो। त्यसले कतिपय विद्यार्थीलाई निरुत्साहन गर्ने मात्र हैन, पास, फेल भनेर सुनाउँदा आत्महत्या गरेको घटना प्रशस्त सुनिएकै हुन्। पास, फेलको सिस्टम अहिले हट्यो। तर हटाउँदा पनि विद्यार्थीहरूलाई दिइने दबाब र यातना कम गर्न नयाँ सिस्टम वा पद्धतिले खासै भूमिका खेलेको छैन।

अभिभावकदेखि विद्यालयसम्मले यति ग्रेड, जीपीए ल्याउनैपर्छ भनेर दबाब थोपर्ने पद्धतिमा रत्ति भर पनि परिवर्तन भएको देखिँदैन। यसले एउटा ठूलो हाउगुजीको रूप लिँदै गएको छ। एसईईको रिजल्ट निस्कियो भन्दा जीवन नै बर्बाद भयो भन्ने मनोविज्ञान बालबालिका, किशोर–किशोरीमा उत्पन्न भएको छ। विद्यार्थीका अध्ययन, परीक्षा र नतिजा क्षमता अभिवृद्धिका लागि हुनुपर्छ, मनोवैज्ञानिक यातना र त्रास सिर्जना गर्न होइन। यसकारण शिक्षा प्रणालीलाई नयाँ शिराबाट पुनः अवलोकन गर्नुपर्ने आजको टड्कारो आवश्यकता बनेको छ। 

साउन १३, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.