ad ad

राजनीति


हर्क साम्पाङको नगरक्षेत्रबाट अशोक राई उम्मेदवार बन्ने

हर्क साम्पाङको नगरक्षेत्रबाट अशोक राई उम्मेदवार बन्ने

नेपालखबर
साउन २४, २०७९ मंगलबार २०:५३, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष अशोक राई मंसिर ४ को निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन्।

सुनसरी– १ निर्वाचन क्षेत्रमा धरान उपमहानगरपालिका, रामधुनी नगरपालिकाको दुईवटा वडा र बराह नगरपालिकाका ५ वटा वडा समेटिएका छन्।

नेपालखबरसँग कुरा गर्दै नेता राईले आफू सुनसरी–१ बाट उम्मेदवार बन्न चाहेको बताए। तर, गठबन्धनको निर्णय कुरिरहेको उनको भनाइ छ।

‘गठबन्धनबाटै हामी चुनाव लड्ने हो,’ राईले नेपालखबरसँग भने, ‘मलाई इच्छा लागेको ठाउँ सुनसरी–१ हो, गठबन्धनले त्यहीँ उठाउँछ भन्ने विश्वास छ।’

तर, गठबन्धनले निर्णय गरेपछि टुंगो लाग्ने उनले बताए। उनले भने ‘अब सिटका बारेमा छलफल हुन्छ, त्यसले के गर्छ हेरौं, हाम्रो पार्टीबाट मेरो उम्मेदवारी यही क्षेत्रबाट गर्न प्रयास हुन्छ,’ राईले थपे।

राईले २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवारी दिएका थिए।

एमाले–माओवादी गठबन्धनसँग उनी झण्डै दोब्बर मतले पराजित भए। त्यसबेला संघीय समाजवादी पार्टी र कांग्रेसबीच तालमेल थियो ।

एमालेको जसकुमार राईले नेकपा माओवादी केन्द्रको समेत गरेर ४४ हजार ५ सय २८ भोट ल्याउँदा संघीय समाजवादीका अशोक राईले २२ हजार १ सय २३ मत ल्याएका थिए।

पाँच वर्ष पछि उनै राईले उम्मेदवारी दिने तयारी गर्दा परिस्थिति भने फेरिएको छ। अहिले कांग्रेस, राई आबद्ध दल जनता समाजवादी पार्टी (जसपा) सहित पाँच दलबीच गठबन्धन छ। यही गठबन्धनको आडमा चुनाव जित्ने उनको योजना देखिन्छ।

राईलाई जिताउन निर्णायक होला धरान?
एक उपमहानगर र दुई नगरपालिकाका केही क्षेत्र समेट्ने सुनसरी–१ मा रोचक प्रतिस्पर्धा हुने स्थानीय तहको चुनावी नतिजाले देखाउँछ।

धरान उपमहानगरको मेयर (प्रमुख) स्वतन्त्रबाट हर्क साम्पाङले जितेका छन्। हर्कले २० हजार ८ सय २१ मत ल्याएर प्रमुख जित्दा कांग्रेसले १६ हजार ५९ मत ल्याएर दोस्रो भएको थियो। एमालेकी मञ्जु भण्डारीले १२ हजार २ सय २५ मत ल्याएर तेस्रो भएकी थिइन्।

सुनसरी–१ को अधिकांश भाग धरानमै पर्छ। स्थानीय तहमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा एमालेको ३३ हजार ४ सय ५३ मत पाएको छ। कांग्रेसले २६ हजार ६ सय ६४, माओवादीको ७ हजार १८,  राप्रपाको ४ हजार ७८ मत पाएको छ।

गठबन्धन बनेर राईले टिकट पाएको अवस्थामा एमाले र गठबन्धनको बराबर मत देखिन्छ। त्यसबेला निर्णायक राप्रपा हुनेछ। किनकि राप्रपासँग स्थानीय तहको मतलाई आधार मान्दा ४ हजार बढी मत देखिन्छ।

राईले कांग्रेस–माओवादी र उनको दल जसपाबाट मत पाएर जित्ने आंकलन गरेका हुनसक्छन्। तर, सुनसरी– १ मै रामधुनी नगरपालिको वडा नम्बर ६ र ७ तथा बराह नगरपालिकाको १,२,३,४,५ नम्बर वडा पनि पर्छ। जसले नतिजालाई फरक बनाइदिन सक्छ।

रामधुनीको ६ नम्बर वडा कांग्रेसले जितेको छ। ७ नम्बर वडा भने एमालेले जितेको छ।

यहाँ बुझ्नुपर्ने तथ्य के छ भने, दुबै वडाको मत जोड्दा एमालेको बढी छ र अगाडि पनि छ। त्यसैगरी बराह नगरपालिकाको १, २ र ४ गरी ३ वडा एमालेले र ३ र ५ गरी २ वटा वडा कांग्रेसले जितेको छ।

हर्कले पाएको मत अशोक राईले पाए पनि बराह र रामुधनीबाट एमालेले निर्णायक मत लिन सकेको अवस्थामा परिणाम अर्कै निस्कन सक्ने छ।

देशैभर गठबन्धनको पक्षमा माहोल बनेको अवस्थामा भने नतिजा सोचेजस्तै आउने सुनसरीबासीबीच चर्चा छ। राई अघिल्लो चुनावमा हारेकै कारण यसपटक उठे भने उनैले जित्ने सम्भावना उत्तिकै रहेको पनि बताउँछन्।

तर, विश्लेषणको अर्को पाटो पनि छ । गत स्थानीय चुनावमा एमाले तेस्रो बनेको, माओवादी र समाजवादीको मत पनि पर्याप्त रहेको, एमालेविरोध स्वतन्त्र मत पर्याप्त रहेको र पहिचान पक्षधरहरुको सहर भएका कारण नेता राईका लागि धरान आशाको क्षेत्र बन्न सक्छ ।

जसपा नेता राई नेकपा एमालेका पूर्वउपाध्यक्ष भइरहेका वरिष्ठ नेता हुन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .