ad ad

राजनीति


रुपन्देही : विष्णु पौडेललाई सजिलो छैन, फेरि भिड्न सक्छन् बालकृष्ण र घनश्याम

स्थानीयको परिणामले बढायो एमालेको चुनौती
रुपन्देही : विष्णु पौडेललाई सजिलो छैन,  फेरि भिड्न सक्छन् बालकृष्ण र घनश्याम

सुदीप भण्डारी
साउन २७, २०७९ शुक्रबार १३:५९, बुटवल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता एवम् बालकृष्ण खाण रुपन्देहीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेता हुन्।

पार्टीको केन्द्रीय संयन्त्र र संसदीय राजनीतिमा यी तीन नेतासँग लामो अनुभव छ।

आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि उम्मेदवारका रूपमा रुपन्देहीमा यी नेताकै चर्चा/परिचर्चा सुरु भएको छ। पौडेल, भुसाल र खाणबीचको टक्करले राष्ट्रिय चर्चा पनि पाउने गरेको छ। 

बुटवल र आसपासको भूगोल समेटिएको रुपन्देही क्षेत्र नम्बर २ बाट विष्णु पौडेल चौथो पटक सांसद बन्ने प्रयासमा छन्। वर्तमान संघीय सांसद उनी फेरि उम्मेदवार बन्ने पक्का जस्तै छ।

२०७४ सालको चुनावमा पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट ४४ हजार ९ मत प्राप्त गरेका थिए। प्रतिस्पर्धी कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत ल्याएका थिए। 

पाँच वर्षअघि २२ हजारको फराकिलो मतान्तरले विजयी पौडेललाई आगामी चुनाव जित्न भने सहज छैन। २०७४ मा वाम गठबन्धनबाट जितेका पौडेलका लागि यस पटक वाम-लोकतान्त्रिक गठबन्धन चुनौती बनेको छ। अर्कातिर एमाले फुटेर बनेको एकीकृत समाजवादीले पनि उनको भोट काट्छ।

निर्णायक बुटवल
लगातार तीनवटा संसदीय चुनाव र एउटा स्थानीय चुनाव जितेको बुटवल उपमहानगरपालिका क्षेत्रलाई एमालेले लामो समयदेखि आफ्नो गढ ठानेको थियो।

तर वैशाख ३० को स्थानीय तह निर्वाचनमा कांग्रेसले एमालेको गढ भत्काउँदै उपमहानगरको मेयरमा मात्रै जित निकालेन, धेरै वडामा पनि पकड जमायो। यसले पौडेलको आगामी चुनावी यात्रामा धक्का लागेको छ। 

बुटवलका १९ वडामध्ये १३ वटा पौडेलको क्षेत्र अर्थात् रुपन्देही २ मा पर्छन्। १३ वडामध्ये दुईवटामा मात्रै एमालेले यो पटक जितेको छ।

८ वटा वडामा कांग्रेस विजयी भएको छ। कांग्रेसका बागी, माओवादी केन्द्र (रुख चिह्नबाट) र एकीकृत समाजवादीले एक/एक वडा हात पारेका छन्। 

स्थानीय तहको जस्तै भोट संसदीय निर्वाचनमा पनि झरेको अवस्थामा पौडेलका लागि यो पटक नतिजा आफ्नो पक्षमा राख्न सजिलो छैन।

अर्कातिर प्रदेश ५ (हालको लुम्बिनी प्रदेश) को स्थायी राजधानी बुटवलमै राख्ने एजेन्डा अघिल्लो पटक बनाएका पौडेललाई यो पटक मतदातामाझ पुग्दा असजिलो हुन सक्छ।

एमालेबाटै मुख्यमन्त्री बनेका शंकर पोखरेलसँगको तानातानमा पौडेल बुटवलमा स्थायी राजधानी राखिरहन असफल भए। पोखरेलले आफ्नो गृहजिल्ला दाङको देउखुरीमा स्थायी राजधानी लगे। जहाँ अहिले धमाधम पूर्वाधार बनिरहेका छन्।

तिलोत्तमा र सैनामैनाको हिसाब
यस्तै तिलोत्तमा नगरपालिकाका ६ वडा पौडेलकै क्षेत्रमा पर्छन्। यीमध्ये २ वटा वडाध्यक्ष मात्रै यो पटकको स्थानीय निर्वाचनमा एमालेले जितेको छ।

४ वटा वडामा कांग्रेस विजयी भएको छ। सैनामैनाका नगरपालिकामा उनकै क्षेत्रअन्तर्गत पर्ने ४ वटा वडामध्ये २ वटाको अध्यक्ष मात्रै एमालेले जितेको छ। एउटामा कांग्रेस र अर्कोमा माओवादी केन्द्र विजयी भएका छन्।  

पौडेलको निर्वाचन क्षेत्रमा पर्ने २५ वटा वडाको कूल मत जोड्दा कांग्रेसले सबैभन्दा बढी ३४ हजार ९२९ मत पाएको छ। एमालेले ३३ हजार १४७ मत ल्याएको छ। माओवादी केन्द्रले ३ हजार १८८ मत पाएको छ।  

स्थानीय निर्वाचनको मत आँकडा र परिणाम हेर्ने हो भने विष्णु पौडेलका लागि चुनौतीको पहाड खडा भएको छ। २०७४ मा भन्दा २०७९ मा पौडेलको क्षेत्रमा एमालेको मत निकै घटेको छ।

त्यसमाथि कांग्रेससहितको वाम-लोकतान्त्रिक गठबन्धन भइरहे पौडेललाई नतिजा आफ्नो पक्षमा पार्न झन् कठिन हुनेछ।

राष्ट्रिय रूपमा बालुवाटारस्थित ललिता निवासको जग्गा काण्डदेखि गृहजिल्लामै प्रदेश राजधानी राख्न नसकेकाले उनले कडा आलोचना  खेपेका छन्। चुनावमा उनले यी प्रश्नको सामना गर्दै मतदाता फकाउनुपर्ने चुनौती छ।

बलियो पक्ष
यी चुनौती हुँदाहुँदै पौडेललाई संसदीय निर्वाचनमा मत तान्न सघाउने केही आधार छन्। स्थानीय चुनावमा धक्का खाए पनि बुटवलमा एमालेको संगठन कांग्रेसको भन्दा व्यवस्थित छ। 

अर्कातर्फ एमालेबाट पौडेल हाई प्रोफाइलका उम्मेदवार हुँदा उनलाई चुनौती दिन सक्ने उम्मेदवार कांग्रेसले पाइसकेको छैन। साझा रूपमा स्वीकार्न सक्ने स्थानीय रूपमा लोकप्रिय छवि बनाएको उम्मेदवार कांग्रेसमा देखिएका छैनन्। 

अघिल्लो चुनावमा विष्णु पौडेलसँग पराजित युवराज गिरी, प्रदेश सदस्य रामबहादुर कार्की, बालकुमारी भण्डारी, दीर्घ कुमार केसी, महाधिवेशन प्रतिनिधि रोमणीप्रसाद पाठक, गोकर्ण पौडेलले आगामी चुनावमा उम्मेदवारको आकांक्षा राखेका छन्। तर संसदीय राजनीतिमा उनीहरू परीक्षण नभएका पात्र हुन्।

कांग्रेसमा केन्द्रीय उपसभापतिमा पराजित चन्द्र भण्डारी गुल्मी छाडेर रुपन्देहीको बुटवल क्षेत्रबाट चुनाव लड्ने चर्चा केही समयअघि चलेको थियो। तर, त्यसबारेमा कांग्रेसभित्र गहिरो छलफल भएको जानकारी आएको छैन।

सत्ता गठबन्धन दलबीच भागबण्डा हुँदा यो क्षेत्र कांग्रेसले छाड्न सक्ने चर्चा पनि गरिएको छ। 

त्यसो भएमा पौडेलको क्षेत्र एकीकृत समाजवादी वा माओवादी केन्द्रलाई पर्न सक्छ। एकीकृत समाजवादीले यो क्षेत्र पाएमा प्रदेश सचिव राजु गुरुङ गठबन्धनबाट उम्मेदवार बन्ने छन्। माओवादी केन्द्रका तर्फबाट वामदेव क्षेत्री र विनोद पहाडी उम्मेदवार बन्ने चर्चा छ। 

खाण र भुसाल फेरि भिड्लान्?
२०७० सालको संविधान सभाको चुनावमा तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ मा कांग्रेस नेता बालकृष्ण खाण र एमाले नेता तथा पूर्व उपमहासचिव घनश्याम भुसालबीच कडा प्रतिस्पर्धा भएको थियो। त्यसबेला सयभन्दा कम मतको अन्तरमा खाणले भुसाललाई हराएका थिए।

२०७४ सालको चुनावमा घनश्याम भुसाल रुपन्देही क्षेत्र नम्बर ३ बाट चुनिएर प्रतिनिधि सभाका सदस्य बनेका हुन्।

खाण समानुपातिक तर्फबाट सांसद बने। भुसालसँग प्रतिस्पर्धाका लागि कांग्रेसले राप्रपासँग तालमेल गरेर दीपक बोहोरालाई समर्थन गरेको थियो। 

नौ वर्षअघि जस्तै यसपटक पनि भुसाल र खाण आमनेसामने हुने सम्भावना छ। त्यसो भएमा भैरहवा र आसपासका क्षेत्र समेटिएको रुपन्देही ३ मा दुई केन्द्रीय नेताबीच रोचक प्रतिस्पर्धा हुने छ। 

पाँच वर्षअघिको चुनावमा भुसाल ३२ हजार ८६६ मतका साथ विजयी हुँदा कांग्रेसको समर्थनमा दीपक बोहोराले २७ हजार ४२२ मत पाएका थिए।

यो क्षेत्रमा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिकाका सबै वडा, बुटवल उपमहानगरका ६ वटा, तिलोत्तमा नगरपालिकाका दुईवटा, सियारी गाउँपालिकाका ५ वटा, मायादेवी गाउँपालिकाका २ वटा र ओमसतिया गाउँपालिकाका एउटा वडा पर्छन्। 

कसलाई कति सजिलो?
गत वैशाखमा भएको स्थानीय तहको चुनावमा यो क्षेत्रअन्तर्गत पर्ने वडाअध्यक्षहरूको मतका आधारमा कांग्रेसको कूल ३४ हजार १५३ मत, एमालेको २९ हजार ४८ र राप्रपाको १३ हजार ३९७ मत छ।

यो मतले बालकृष्ण खाणलाई जित्न सहज देखिएको छ। गठबन्धनका अन्य दलको मत थपिँदा एमालेका भुसाललाई दोहोरिन थप कठिन हुने छ। तर एमालेलाई राप्रपाको साथ भए भुसाललाई सजिलो हुन सक्छ।

रुपन्देही ३ मा अहिलेसम्म कांग्रेसबाट गृहमन्त्री खाणको मात्रै चर्चा छ। पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीका आलोचक भुसाललाई पाखा लगाउने अनुमान पनि छ। भुसालको विकल्पमा एमालेबाट यो क्षेत्रबाट तिलोत्तमाका पूर्व मेयर वासुदेव घिमिरेको पनि चर्चा छ।  

यस्तै रुपन्देही क्षेत्र नम्बर १ मा अघिल्लो पटक जस्तै एमाले सचिव छविलाल विश्वकर्माले कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकसँग प्रतिस्पर्धा गर्ने सम्भावना छ।

२०७० मा विश्वकर्मालाई हराउँदै रज्जाक विजयी भएका थिए। २०७४ मा नजिता उल्ट्याउँदै विश्वकर्मा विजयी भएका थिए। वडाध्यक्षको मतका आधारमा यहाँ एमालेभन्दा कांग्रेस बलियो देखिन्छ।

रुपन्देही क्षेत्र नम्बर ५ मा कांग्रेस नेता भरतकुमार शाहसँग चुनाव लड्न खिमलाल भट्टराईले तयारी तीव्र पारेका छन्।

२०७० र २०७४ दुवै चुनावमा शाह विजयी भएको यो क्षेत्रमा वडाको मतका आधारमा एमाले केही अगाडि छ।

अघिल्लो पटक कांग्रेसले बाजी मारेको रुपन्देही ४ मा गत स्थानीय चुनावमा लोसपा अगाडि छ। कांग्रेस केही पछि परेको छ। रुपन्देहीका ५ क्षेत्रमध्ये २०७४ को संसदीय चुनावमा एमाले ३ वटा र कांग्रेसले दुई क्षेत्र जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .