विचार


इजरायल प्यालेस्टाइनीहरुलाई किन यतिधेरै घृणा गर्छ?

इजरायल प्यालेस्टाइनीहरुलाई किन यतिधेरै घृणा गर्छ?

मारवान बिसारा
साउन २६ , काठमाडौँ

इजरायललाई घृणा गर्न प्यालेस्टाइनीहरुसँग पर्याप्त कारण छन्। इजरायल उनीहरुको मातृभूमिमा खडा भएको उपनिवेशवादी रंगभेदी राज्य हो। तर, इजरायल चाहिँ प्यालेस्टाइनीहरुलाई यति धेरै घृणा किन गर्छ? इजरायलले परपीडक शैलीमा उनीहरुको जीवन र जीविका नियन्त्रणमा लिनुका साथै आधारभूत अधिकार र स्वतन्त्रता खोसेर तिनलाई बकायदा आतंकित तुल्याएको छ। नाकाबन्दी गरेको छ। बन्दी बनाएको छ।

यसको उत्तर जे आउँछ, त्यो सही नहुन सक्छ। हो, इजरायल प्यालेस्टाइनीहरुको हिंसा र आतंकवादलाई घृणा गर्छ, जसले थुप्रै इजरायलीहरुलाई प्रभावित पारेको छ। तर, त्यो हिंसा इजरायलले प्यालेस्टाइनीहरुमाथि थोपरेको थोक हिंसा र राज्य आतंकको तुलनामा केही पनि होइन। गएको साताजस्तै इजरायलले बारम्बार बदला र आफूमाथि आक्रमण हुँदैछ भन्ने अनुमानको भरमा हमला गर्ने गरेको छ।

मेरो विचारमा प्यालेस्टाइनीप्रति इजरायलको यो घृणालाई तीन आधारभूत भावनाले आकार दिएको छः डर, डाह र रिस।

डर प्रमुख पक्ष हो। यो असंगत हुनसक्छ तर यो निर्णायक छ।

इजरायलले प्यालेस्टाइनीहरुको सम्पूर्ण भूमि कब्जा गरिसकेको छ। ऊ बलियो क्षेत्रीय शक्ति र आणविक हतियार सम्पन्न पनि भइसकेको छ। तैपनि इजरायल प्यालेस्टाइनीहरुसँग डराइरहेको छ। यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन। किनभने प्यालेस्टाइनीसँग इजरायलको डर शारीरिक र भौतिक मात्र होइन, अस्तित्वसँग सम्बन्धित छ।

२०१४ मा एक इजरायली स्तम्भकारले एक लेख लेखेकी थिइन्, जसको शीर्षक थियो– ‘यसकारण सारा इजरायली कायर हुन्।’ जसमा उनले कस्तो समाजले त्यस्ता कायर सैनिक उत्पादन गर्छ, जसले टाढैबाट निहत्था प्यालेस्टाइनीहरुलाई गोली ठोक्ने गर्छ भनेर चर्चा गरेकी थिइन्। त्यसको चार वर्षपछि २०१८ मा इजरायली सेनाले किल्लाबन्दीको पछाडि लुकेर सयौँ निहत्था प्यालेस्टाइनी प्रदर्शनकारीमाथि कयौँ दिनसम्म गोली ठोकिरहे। त्यो दृश्य वास्तवमै अविश्वसनीय थियो।

इजरायल २००५ मा डरले गाजाबाट भाग्यो। र, त्यहाँका करिब २० लाख मानिसमाथि अमानवीय नाकाबन्दी लगायो, जसमध्ये धेरैजसो शरणार्थी छन्।

प्यालेस्टाइनी दृढता, प्यालेस्टाइनी एकता, प्यालेस्टाइनी लोकतन्त्र, प्यालेस्टाइनी कविता, सबैसबैसँग इजरायल डराउँछ। हरेक प्यालेस्टाइनी प्रतीकहरुसँग इजरायल डराउँछ। प्यालेस्टाइनी झण्डालाई प्रतिबन्ध लगाउने प्रयास इजरायल गरिरहेको छ। खासगरी इजरायल नयाँनयाँ बच्चा जन्माउने प्यालेस्टाइनी आमाहरुसँग डराउँछ। जसलाई ऊ ‘जनसांख्यिक खतरा’ भन्ने गर्छ। प्यालेस्टाइनीहरुको प्रजननप्रति इजरायलको यो राष्ट्रिय सनकलाई चित्रित गर्दै १२ वर्षअघि एक इतिहासकारले चेतावनी दिएका थिए– यहुदी राज्यको जीवनका लागि जनसंख्या आणविक हतियार सम्पन्न इरानजत्तिकै ठूलो खतरा हो। किनभने उनको नजरमा प्यालेस्टाइनीहरु २०४०–५० को बीचमा बहुसंख्यक हुन सक्छन्।

इजरायलजस्तो सैन्य प्रधान मुलुकमा डर महत्वपूर्ण हुन्छ। उनीहरु यसलाई ‘मुलुक जोडिएको सेना’ भन्ने गर्छन्। इजरायलको दशकौँ लामो अनुभवलाई एक अमेरिकी पत्रकारले आफ्नो पुस्तकमा यसरी वर्णन गरेका छन्, ‘आजको सरकार डर फैल्याउँछ। तीमध्ये धेरैजसो डर काल्पनिक र कम्तीमा अत्यन्त बढाइचढाइ गरिएको हुन्छ। सरकारले इजरायललाई एक्लो, धम्क्याइएको, सानो मुलुकका रुपमा चित्रित गर्छ, जो सधैँ रक्षात्मक हुन्छ, सधैँ घृणाको संकेत खोजिरहेको हुन्छ, ज्यादा प्रतिक्रिया दिन इच्छुक भएर।’

निष्कर्षमा भन्दा डरले घृणा पैदा गर्छ। किनभने अर्का एक इजरायलीको शब्दमा सधैँ डराइराख्ने मुलुक स्वतन्त्र हुन सक्दैन। कुनै भूमिको आदिवासीविरुद्ध लडिरहेको उग्र मसिहावाद र कुरुप जातिवादले आकार दिएको राज्य साँचो अर्थमा स्वतन्त्र हुन सक्दैन।

इजरायल प्यालेस्टाइनीहरुसँग जहिल्यै रिसाइरहेको हुन्छ। किनभने प्यालेस्टाइनीहरुले आत्मसमर्पण गर्न अस्वीकार गरेका छन्। टाढा, निकै टाढा भागेर जान अस्वीकार गरेका छन्। इजरायलले १९४८ यता हरेक युद्ध जितेको छ। उदेश्य पुरा गरेको छ। त्यसैले ऊ क्षेत्रीय महाशक्ति बनेको छ। अरब मुलुकहरुलाई अपमानजनक रुपमा उसका सामु झुक्न बाध्य बनाएको छ। तैपनि प्यालेस्टाइनीहरुले प्रतिरोधलाई निरन्तरता दिइरहेका छन् र इजरायललाई जित दाबी गर्न दिएका छैनन्। तिनले हार मान्ने छैनन्। तिनले आत्मसमर्पण गर्ने छैनन्। बरु, जे आउँछ, त्यसको प्रतिरोध गर्नेछन्।

इजरायललाई विश्वका शक्तिशाली मुलुकहरुको साथ छ। अमेरिका उसको गोजीमै छ। युरोप उसको पछाडि छ। अरब मुलुकहरु उसको पछि लाग्न बाध्य हुँदैछन्। तर, प्यालेस्टाइनीहरु एक्लो छन्। उनीहरुलाई सबैले बिर्सेका छन्। तैपनि तिनले आफ्नो आधारभूत अधिकार सुम्पिएका छैनन्, हार स्वीकार गर्नु त परको कुरा। त्यत्रा निर्दोषको रगत आफ्नो हातमा लाग्नु, अनि चाहेको कुरा पनि पुरा नहुनु, पक्कै पनि यो इजरायलका लागि निकै रिसउठ्दो कुरा हुनुपर्छ। 

प्यालेस्टाइनीहरुलाई जे प्यारो छ, इजरायल त्यसलाई मार्छ, यातना दिन्छ, शोषण गर्छ, लुट्छ। तर, प्यालेस्टाइनीहरुले चुपचाप त्यसलाई स्वीकार्ने छैनन्। इजरायलले दस लाखभन्दा बढीलाई बन्दी बनाएको छ। तैपनि प्यालेस्टाइनीहरु हात उठाउँदैनन्। उनीहरु स्वतन्त्रताका लागि संघर्षको इच्छा राखिरहन्छन्। कतिपय त उपनिवेशवादी इजरायल राज्यको मृत्यु भइछाड्छ पनि भन्छन्।

इजरायल प्यालेस्टाइनीहरुको भित्री शक्ति र बाहिरी गौरवको डाह पनि गर्छ। उनीहरुको बलियो विश्वास र बलिदानको तयारी देखेर इजरायल जल्छ। जसले इजरायलीहरुलाई सुरुवाती यहुदीवादीहरुको याद दिलाउँदो हो। आज सुविधासम्पन्न रोबोटजस्ता इजरायली सैनिक नांगो छाती भएका प्यालेस्टाइनीहरुको वीरतासँग जुध्नुपरेको छ। उनीहरु आफ्नो बख्तरबन्द सवारीसाधन पछाडि बसेर कायरतापूर्वक प्यालेस्टाइनीहरुमाथि गोली दाग्छन्।

सबैभन्दा बढी इजरायल प्यालेस्टाइनसँग प्यालेस्टाइनीहरुको ऐतिहासिक र सांस्कृतिक सम्बन्धको डाह गर्छ। त्यो जमिनसँग उनीहरुको जोडाइसँग। यहुदीहरुलाई उपनिवेशवादी बनाउन यहुदीवादले त्यस्तै जोडाइ उब्जाउनुपरेको थियो। प्यालेस्टाइनीहरु इतिहास, भूगोल र त्यहाँको प्रकृतिसँग यति अभिन्न हुनुलाई इजरायल घृणा गर्छ। जसलाई ऊ आफ्नो दाबी गर्छ। आफ्नो अस्तित्वको औचित्य साबित गर्न इजरायलले लामो समयदेखि धर्म र मिथकको सहारा लिनुपरेको छ। जबकि प्यालेस्टाइनीहरुलाई त्यस्तो औचित्य पुष्टि गर्न आवश्यक छैन। उनीहरु बिनाप्रयास, सहजै र स्वाभाविक रुपले त्यहीँका हुन्।

प्यालेस्टाइनी अस्तित्वको सबै चिह्नहरुलाई इजरायलले मेटाउने कोसिस गरेको छ। उसले गल्ली, बस्ती र सहरको नाम समेत बदलेको छ। एक इजरायली इतिहासकारको शब्दमा ‘विजेताले प्रार्थनास्थललाई पुनःअभिषेक गरेको समानता खोज्नुपर्दा स्पेन वा १५ औँ शताब्दीको मध्यको बाइजान्टाइन साम्राज्यमै पुग्नुपर्छ।’

यहुदीवादको आधार मिथक हो, हिंसा र उपनिवेशवाद हो भन्ने कुराको जीवित प्रमाण भएकोमा प्यालेस्टाइनीहरुलाई घृणा गर्छ इजरायल। सो मिथकले भन्छ– भूमिविहीन मानिसहरु मानिसविहीन भूमिमा स्थापित भए। समग्र प्यालेस्टाइनमाथि यहुदीवादी सपना फैल्याउन रोकेकोमा इजरायल उनीहरुलाई घृणा गर्छ। र, त्यो सपनालाई दुस्वप्नमा बदलिदिएकोमा खासगरी गाजाका बासिन्दालाई घृणा गर्छ।

तथापि, यी कुनै पनि कुराको महिमा गाउनु गलत हुन जान्छ। प्रेम जहिले पनि घृणाभन्दा उत्तम हुन्छ। घृणा विनाशकारी हुन्छ र यसले थप घृणा जन्माउँछ। घृणाले घृणा गर्ने र घृणा प्राप्त गर्ने दुवैलाई सखाप पार्छ। यी सारा घृणालाई अझै पनि इजरायल सहिष्णुतामा बदल्न सक्छ, डाहलाई सराहना र रिसलाई सहानुभूतिमा बदल्न सक्छ। तर, त्यसका लागि उसले आफ्नो हिंसात्मक अतीतको प्रायश्चित गर्ने हिम्मत जुटाउनुपर्छ। आफ्ना अपराधहरुका लागि माफी माग्नुपर्छ, पीडा सहेका प्यालेस्टाइनीहरुलाई क्षतिपूर्ति दिनुपर्छ र उनीहरुलाई सम्मानका साथ व्यवहार गर्नुपर्छ। उनीहरु समान हुन लायक छन्। अझ विशेषाधिकारका लागि पनि लायक छन्। किनभने उनीहरु आफ्नो मातृभूमिमा छन्। इजरायलको घृणाले प्यालेस्टाइनीहरुलाई बाहिर लखेट्न सक्दैन। बरु, त्यसले यहुदीहरुलाई त्यहाँबाट लखेट्न सक्छ।

(अल जजिराबाट) 

साउन २८, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad