ad ad

राजनीति


१५ ‘हेभीवेट’ नेता, जसले २०७४ मा हारे

१५ ‘हेभीवेट’ नेता, जसले २०७४ मा हारे

सागर न्यौपाने
साउन २७, २०७९ शुक्रबार २२:१७, काठमाडौँ

प्रतिनिधिसभाको चुनाव आउन सय दिन पुग–नपुग बाँकी रहँदा शीर्ष नेतालाई हराउने अभियान सामाजिक सञ्जालमा चर्कन थालेको छ। उता सत्ता गठबन्धनका नेताहरुले शीर्षनेतालाई सुरक्षित रुपमा जिताउने रणनीति बनाएका छन्।

प्रतिनिधि सभाका लागि चुनावी मिति तय भएसँगै उम्मेदवारका विषयमा पनि चर्चा चल्न थालेको छ। यसपटक (४ मंसिर २०७९) मा एकै चरणमा चुनाव हुँदैछ। चुनावमा कति नेताले उम्मेदवारी दिन्छन्? कतिले टिकट पाउँछन्, त्यो प्रष्ट भइसकेको छैन। तर, केही अपवादबाहेक विगतमा उठेकै नेताहरुले दोहोर्याएर टिकट पाउने लगभग निश्चित छ।

आउँदो चुनावमा मात्रै होइन, विगत २०७४ को चुनावमा पनि धेरैजना ठूला नेताहरुले हार व्यहोरेका थिए। चुनावमा कसैले जित्नु वा हार्नु सामान्य कुरा नै हो।

मंसिर ४ को चुनावमा उठ्ने नेताहरुको चर्चा गर्नअघि पाँच वर्षअघि केही चर्चित नेताहरुको पराजयको विषय जान्नु आवश्यक छ। पाँच वर्ष अघिको प्रतिनिधि सभा चुनावमा एमाले–माओवादी केन्द्रबीच तालमेल थियो। स्थायी सरकार बनाउने उनीहरुले बाचा गरेका थिए। त्यही कारण जनताले मत दिँदा कांग्रेसका केही चर्चित नेता पराजित हुन पुगे।  गठबन्धनमै भए पनि एमाले र माओवादी केन्द्रका पनि केही चर्चित नेताले हारेका थिए।

विगततिर फर्केर हेर्ने हो भने कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा, केपी शर्मा ओली र माधव नेपालले समेत चुनाव हारेको इतिहास पाइन्छ। तर, धेरै टाढा नजाऔं, गत ०७४ को चुनावमा कोको ठूला नेताले हारेका थिए, त्यसको चर्चा गरौं–

७५३ मतले हारे वामदेव गौतम
तत्कालिन एमाले उपाध्यक्ष वामदेव गौतम २०७४ को प्रतिनिधि सभा चुनावमा जम्मा ७५३ मतले कांग्रेससँग पराजित भए र प्रनिनिधि सभा पुग्न सकेनन्। 

बर्दिया १ बाट उम्मेदवारी दिएका गौतम गठबन्धनका उम्मेदवार भएपनि कांग्रेसका सञ्जय गौतमसँग हार्न पुगे। सञ्जयले ४४ हजार ८२९ मत ल्याउँदा वामदेवले ४४ हजार ७६ मत ल्याए।

शेखर कोइरालालाई ६७५ मत पुगेन
नेपाली कांग्रेसका प्रभावशाली नेतामा पर्छन् शेखर कोइराला। सुशील कोइरालाको मृत्युपछि कांग्रेसमा कोइरालाको बिँडो आफैंले थामेको शेखरको दाबी छ। उनी कांग्रेसको १४ औं महाधिवेनमा सभापतिका उम्मेदवार थिए। तर, शेरबहादुर देउवासँग पराजित हुन पुगे।

शेखरको निर्वाचन क्षेत्र मोरङ– ६ हो। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनी एमाले नेता लालबाबु पण्डितसँग ६७५ मतले हार्न पुगे।

माओवादीको समेत साथ पाएका पण्डितले ३३ हजार ९४१ मत ल्याएर जित्दा शेखरले ३३ हजार २६६ मत पाए। मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कोइराला फेरि सोही क्षेत्रबाट उम्मेदवार बन्ने निश्चित छ।

८१९ मतले हारे रवीन्द्र मिश्र
पत्रकारिता छोडेर वैकल्पिक राजनीतिमा आएका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भए।

काठमाडौं– १ बाट प्रतिनधिसभामा उम्मेदवारी दिएका मिश्र  सिंहसँग ८ सय १९ मतले हारेका हुन्। सिंहले १० हजार ९ सय ३७ मत ल्याई विजयी हुँदा मिश्रले १० हजार ११८ मत पाए।

रमेश लेखकलाई २५८ मत पुगेन
कञ्चनपुर ४ बाट उम्मेदवार बनेका कांग्रेस नेता रमेश लेखक एमालेका दीपकप्रकाश भट्टसँग हारे। भट्ट २६ हजार ३६४ मत ल्याएर विजयी हुँदा लेखकले २६ हजार एक सय ६ मत मात्र प्राप्त गरे। उनीहरुबीचको अन्तर २५८ मत रह्यो। यसपटकको चुनावमा लेखक सोही क्षेत्रमा उम्मेदवार बन्ने निश्चित छ।

कृष्णप्रसाद सिटौला १३ हजार बढी मतले पराजित  
नेपाली काँग्रेसका प्रभावशाली मध्येमा पर्छन् कृष्णप्रसाद सिटौला। उनी महामन्त्रीसमेत भइसकेका छन्। अहिले गठबन्धनको टिकट बाँडफाँट गर्ने महत्वपूर्ण जिम्मेवारीमा छन्।

तर, २०७४ को चुनावमा सिटौला झापा क्षेत्र नम्बर ३ मा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भए। लिङदेनलाई एमाले माओवादीको समेत साथ रहेकाले सिटौलाको जोर नचलेको हो।

लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याउँदा  कांग्रेस नेता सिटौलाले ३१ हजार १ सय ५९ मत ल्याए। लिङदेनले सिटौलालाई १३ हजार ४ सय ५५ मत अन्तरले हराए। यसपटक पनि सिटौला सोही क्षेत्रबाट उम्मेदवार बन्दैछन्। सो क्षेत्रमा एमालेबाट मेडिकल व्यवसायी दुर्गा सिटौलाको नाम चर्चामा छ।

विमलेन्द्र निधि २९१४ मतान्तरले हारे
नेपाली काँग्रेसका तत्कालीन उपसभापति एवं प्रभावशाली नेता विमलेन्द्र निधिले पनि ०७४ को प्रतिनिधि सभा चुनावमा धनुषाबाट हारे। निधिलाई तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले धनुषा ३ मा हराएका हुन्।  

महतो ३० हजार ७४२ मत ल्याई विजय हुँदा कांग्रेस नेता निधिले २७ हजार ८२८ मत पाएका थिए। महतोले निधिलाई २ हजार ९१४ मतान्तरले हराएका हुन्।

बाबुरामले हराए नारायणकाजी
वाम गठबन्धनबाटै पराजित हुने चर्चित एवं प्रभावशाली नेताको सूचीमा नम्बरमा पर्छन्, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ। वामदेव गौतमजस्तै श्रेष्ठले पनि चुनाव हारेका थिए। अहिले दुबैजना राष्ट्रियसभाको सदस्य छन्। र, राजीनामा दिएर फेरि प्रतिनिधिसभामै लड्ने तयारी गरिरहेका छन्।

२०७४ को चुनावमा गोरखा–२ बाट उम्मेदवार बनेका माओवादी नेता श्रेष्ठलाई नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फराकिलो मतान्तरले पराजित गरेका हुन्।

डा. भट्टराईले ३१ हजार ८०७ मत ल्याउँदा श्रेष्ठले २४ हजार ९३३ मत पाएका थिए।

रामचन्द्र पौडेललाई किसानले हराए
नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् रामचन्द्र पौडेल। उनी तनहुँ–१ बाट पटक–पटक जितिरहेका थिए तर, २०७४ को चुनावमा एमालेका कृष्णकुमार (किसान) श्रेष्ठसँग पराजित भए। एमाले छाडेर मन्त्री बनेका किसान यतिबेला माधव नेपालको पार्टीमा छन् र उनी फेरि तनहुँबाटै चुनाव लड्ने तयारीमा छन्।

कांग्रेस नेता पौडेललाई किसानले ६ हजार ४१४ मतान्तरले हराएका थिए। श्रेष्ठ ३४ हजार ४८९ मत ल्याएर विजयी हुँदा पौडेलले २७ हजार ६७५ मत प्राप्त गरेका थिए।

२०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा पौडेलले किसानलाई पराजित गरेका थिए।

मोदीले हराए महेश आचार्य
नेपाली काँग्रेसका चर्चित नेता तथा पूर्वमन्त्री महेश आचार्य गत चुनावमा मोरङ ४ बाट पराजित भएए। माओवादी केन्द्रका अमनलाल मोदीसँग उनी पराजित भएका हुन्।

बाम गठबन्धनका उम्मेदवार मोदी ३३ हजार ५२९ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका आचार्यले २६ हजार ८ सय मत ल्याएका थिए। यसपटक माओवादीले जितेको क्षेत्र नछोडे आचार्यले के गर्छन्, प्रष्ट भइसकेको छैन।

झापामा विश्व प्रकाशको हार
नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार (राम) कार्कीले झापा– १ बाट कांग्रेसका चर्चित युवा नेता विश्वप्रकाश शर्मालाई ०७४ को चुनावमा पराजित गरेका थिए। वाम गठबन्धनका साझा उम्मेदवार कार्कीले ३६ हजार १ सय ७३ मत ल्याई विजयी हुँदा शर्माले ३३ हजार ३ सय १० मत ल्याएका थिए।

अहिले विश्वप्रकाश महामन्त्री छन्। १४ औं महाधिवेशनबाट उनी महामन्त्री निर्वाचित भएका हुन्। कार्कीले मंसिरको निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवारी दिनेनदिने निश्चित भइसकेको छैन। किनकि अहिले कांग्रेससहितको पाँच दलीय गठबन्धन बनेको छ। र, महामन्त्री बनेको हुनाले चुनाव जित्नैपर्ने नैतिक दबावमा छन् विश्वप्रकाश।

आरजू राणा देउवाको पराजय
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजू राणा देउवा पनि २०७४ को प्रतिनिधि सभा चुनावमा पराजीत भएकी हुन्।

आरजू कैलाली– ५ बाट उम्मेदवार बनेकी थिइन्। तर, उनी वाम गठबन्धनबाट एमालेका उम्मेदवार नारदमुनि रानासँग ४ हजार ८८० मतान्तरले हारिन्। राना २७ हजार २०२ मत ल्याएर विजयी हुँदा  कांग्रेस नेतृ राणाले २२ हजार ३२२ मत पाएकी थिइन्। यसपटक पनि आरजूले सोही क्षेत्रबाट उम्मेदवारी दिने तयारी छ।

अर्जुननरसिंह केसी पनि हारे
नेपाली कांग्रेसका चर्चित नेता अर्जुननरसिंह केसी पनि ०७४ को प्रतिनिधि सभा चुनावमा नुवाकोटबाट पराजित भए। नुवाकोट–२ बाट जित्दै आएका केसी ०७४ मा एमालेका नारायणप्रसाद खतिवडासँग हारेका हुन्।

खतिवडाले ३६ हजार ८ सय ९२ मत ल्याउँदा कांग्रेस नेता केसीले २६ हजार ३३५ मत पाएका थिए। ०६४ सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रमा पराजय भोगेका केसी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने विजयी भएका थिए।

रामशरण महत झण्डै १० हजारले पराजित
नेपाली कांग्रेसबाट पटक–पटक अर्थमन्त्री भइसकेका नेता हुन् रामशरण महत। नुवाकोट क्षेत्र–१ बाट उम्मेदवार बनेका उनलाई ०७४ सालमा माओवादी केन्द्रका हितमान तामाङले हराए।

तामाङ ३६ हजार ४७३ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा महतले २७ हजार ९२० पाए। महत पहिलो र दोस्रो संविधासभा चुनावमा सोही क्षेत्रबाट विजयी भएका थिए।

कमल थापाको पराजय
राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि २०७४ को प्रतिनिधि सभा चुनाव हार्ने ‘हेवीवेट’ नेता हुन्। मकवानपुर–१ बाट उम्मेदवारी दिएका थापालाई वाम गठबन्धनका एमाले उम्मेदवार कृष्णप्रसाद दाहालले हराएका हुन्।

दहाल ३८ हजार १७५ मत पाएर विजयी हुँदा अध्यक्ष थापाले ३१ हजार ९३० मत ल्याएका थिए। ०७० सालमा भने थापा समानुपातिक सांसद थिए।

पशुपतिसमशेर पनि रिङआउट
२०७४ को प्रतिनिधि सभा चुनावका बेला राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष थिए पशुपति शमशेर जबरा। त्यसबेला सिन्धुपाल्चोक–२ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लडेका राणा एमालेका शेरबहादुर तामाङसँग हारे।

तामाङले ८ हजार ३२ मतान्तरले राणालाई हराएका हुन्। एमालेका तामाङ ३८ हजार ४०१ मत ल्याई विजयी हुँदा राणाले ३० हजार ३६९ मत पाएका थिए। यसपटकको चुनावमा राणाले उम्मेदवारी दिनेनदिने निश्चित भइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .