सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावपछि एकता हुने बताएका छन्।
२०७२ सालमा माओवादीलाई भत्किएको घर भनेर नयाँ शक्ति पार्टी खोलेका बाबुराम ९ वर्षपछि माओवादीकै चुनाव चिह्नबाट उठ्न तयार भएपछि प्रचण्डले यस्तो भनेका हुन्।
प्रचण्डले जनता समाजवादी पार्टीमा हुँदा बाबुरामहरू पाँच दलीय गठबन्धनमै रहेको बताउँदै नयाँ पार्टी खोलेपछि पनि समेटेर लैजान छलफल भइरहेको बताएका छन्।
'उहाँहरु (बाबुराम) ले गठबन्धन छाडेको होइन। जनता समाजवादी पार्टीमा हुँदा बाबुरामजीहरु गठबन्धनमै हुनुहुन्थ्यो', उनले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार पत्रकारहरुलाई भने, 'बाबुरामजीहरुलाई गठबन्धनबाट निकालिएको थिएन।'
प्रचण्डले बाबुरामहरुलाई गठबन्धनमा समेटेरै लैजानका लागि माधव नेपाल र शेरबहादुर देउवासँग पनि सल्लाह भइरहेको बताएका छन्।
उनले बाबुराम र प्रचण्डसँगै उभिनुको ठूलो अर्थ र महत्व रहेको पनि बताए। 'बाबुरामजी र म एक ठाउँमा उभिनुको ठूलो राजनीतिक अर्थ छ। अब हामी उभियौँ', उनले भने, 'अहिले नै पार्टी एकता भएको होइन। चुनावपछाडि पार्टी एकताको कुरा अघि बढ्छ। चुनाव चिह्न र साझा घोषणा पत्र एकै भएपछि अब हामी एक ठाउँ उभियौँ।'
उनले यो निर्णयको निकै ठूलो महत्व रहेको पनि बताएका छन्। 'यसको निकै ठूलो महत्व छ। हाम्रो लक्ष्य यति नै होइन', उनले भने, 'चुनावपछाडि हामी पार्टी एकता गर्छौँ। अहिलेलाई माओवादीको चुनाव चिह्नबाट लड्ने सहमति भएको छ।'
Shares

प्रतिक्रिया