ad ad

राजनीति


पाँच ठक्कर खाएपछि प्रचण्डमा पलाएको ‘बुद्धि’

पाँच ठक्कर खाएपछि प्रचण्डमा पलाएको ‘बुद्धि’

सागर न्यौपाने
भदौ २, २०७९ बिहिबार ११:०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शान्ति प्रक्रियापछिका १५ वर्षमा सबैभन्दा बढी राजनीतिक ठक्कर खाने अग्रणी नेतामा पर्छन्। शायद यही भएर हुनुपर्छ, मंगलबार डा. बाबुराम भट्टराईसँग सहमति गर्दैगर्दा प्रचण्डले ठक्कर हण्डर खानुपरेको भावनात्मक कुरो सुनाए ।

‘ठेस लागेपछि बुद्धि बढ्छ भनेजस्तै हामी दुईजना फुटेपछि हाम्रो बुद्धि फिरेको छ’, प्रचण्डले भने, ‘जीवनभर ठेस त लागिरहन्छ तर बुद्धि फिरेर हामी एक ठाउँमा उभिएका छौँ। अब चुनावपछि पार्टी एकता पनि हुन्छ।’

शान्ति प्रक्रियामा आएपछि पहिलो संविधान सभाको निर्वाचनमा अप्रत्याशित ठूलो पार्टी बनेदेखि संविधान जारी नगर्दै संविधानसभा विघटन भएको घटनाको साक्षी प्रचण्ड आफैं थिए ।

आफ्नै नेतृत्वको सरकारले प्रधानसेनापति बर्खास्त गरेको निर्णय राष्ट्रपतिबाट उल्टाइदिएर नौ महिनामै सत्ता छोड्नुपरेको पीडा छँदै थियो, २०७० को संविधान सभा चुनावअघि पार्टी विभाजनले प्रचण्डलाई झन् कमजोर बनायो।

यिनै घटनाक्रम सम्झेर हुनुपर्छ, प्रचण्डले विगतमा ठूलो हण्डर खानुपरेको स्वीकार गरेका हुन्। आफूले हण्डर ठक्कर खाएको महसुस गर्न प्रचण्डले डा. बाबुराम भट्टराईलाई एउटै चुनाव चिह्नबाट चुनाव लड्ने सहमतिसम्म आइपुग्नु पर्यो।

माओवादी पार्टी ०५२ देखि ०६२ सालसम्मको १० वर्षे जनयुद्ध र २०६२÷०६३ को जनआन्दोलन हुँदै शान्ति प्रक्रियामा आएको हो। संसदीय राजनीतिमा प्रवेश गरेपछि विभिन्न कम्युनिष्ट घटक मिलाएर नेकपा एकीकृत माओवादी बन्यो। तर, शान्ति प्रक्रिया प्रवेश माओवादीका लागि सुखद हुन सकेन।  टुटफुट र विभाजनको श्रृंखला धेरै वर्षसम्म चल्यो।

आफ्नै केन्द्रीय कार्यालयमा ३१ साउनका दिन पूर्व सहकर्मी डा. बाबुराम भट्टराईसँग माओवादी केन्द्रकै चुनाव चिह्नबाट ४ मंसिरको चुनाव लड्न सहमति गर्दा प्रचण्डले आफूले पाएका दुःखहरु सम्झिए ।

प्रचण्डलाई ठक्कर खुवाउने यी पाँच घटना–

रुकमाङगत कटुवाल प्रकरण
संविधानसभाबाट सबैभन्दा ठूलो दल बनेपछि प्रचण्डले प्रधानमन्त्री पाउनै समस्या झेले। १५ जेठ २०६५ मा नेपाल गणतन्त्रमा गएको घोषणा भयो। ३१ साउन ०६५ मा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बने।

प्रधानसेनापति रुक्माङ्गत कटुवालले कार्यकारी सरकारको निर्देशन पालना नगरेको भन्दै दुरी बढ्यो। सोही कारण सरकारले २० बैशाख, ०६६ मा प्रधानसेनापति बर्खास्त गर्ने निर्णय गरेर राष्ट्रपति रामवरण यादव समक्ष पठायो।

यादवले सरकारको निर्णय कार्यान्वयन गराएन। बरु कटुवाललाई काम गर्ने वातावरण बनाइदिए। जसले गर्दा राष्ट्रपतिसँग पनि प्रचण्डको सम्बन्ध बिग्रियो। त्यसपछि २१ वैशाख २०६६ मा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिए । उनले जम्मा ९ महिना मात्रै सरकारको नेतृत्व गरे। सरकारबाट हटेपछि माओवादीको ओरालो यात्रा शुरु भयो ।

माओवादीमा विभाजन
तत्कालीन एमाओवादीका प्रभावशाली उपाध्यक्ष मोहन वैद्यले ४ असार ०६९ मा रामबहादुर थापा बादल, पम्फा भुसाल, देव गुरुङ, सीपी गजुरेल, नेत्रविक्रम चन्दसहित बहुमत स्थायी समिति सदस्य लिएर पार्टी फुटाए।

दोस्रो संविधानसभाको मुखैमा उपाध्यक्ष वैद्यले प्रभावशाली नेताहरु लिएर नेकपा–माओवादी बनाए। यसले गर्दा प्रचण्डलाई ठूलो धक्का लाग्यो ।

त्यसअघि २०६५ सालमा नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र–मसालले नेकपा माओवादीसँग पार्टी एकता गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै माओवादीका स्थायी समिति सदस्य मातृका यादव पनि पार्टी छाडेर बाहिरिएका थिए ।

दोस्रो संविधानसभामा लज्जास्पद पराजय
एमाओवादी ठूलो भए पनि पहिलो संविधान सभाले संविधान दिन सकेन। देश अन्तरिम संविधानकै भरमा चलिरहेको थियो। १५ जेठ २०६९ मा पहिलो संविधानसभा भंग भयो।

त्यसपछि बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा ४ मंसिर २०७० मा दोस्रो संविधान सभा चुनाव भयो। एमाओवादी नराम्रोसँग पराजित भयो। पार्टी विभाजनको असर चुनावमा देखियो।

प्रत्यक्ष तर्फका २४० मध्ये माओवादीले जम्मा २६ सिट जित्यो। समानुपातिक तर्फ जम्मा १४ लाख ३९ हजार ७ सय २६ मत मात्र पायो। अघिल्लो ०६४ को चुनावमा माओवादीले प्रत्यक्षतर्फ १२१ र समानुपातिकमा सय सिट जितेको थियो।

माओवादीलाई हराउन मुख्य भूमिका पार्टी फुट नै भएको प्रचण्डले विश्लेषण गरेका थिए। तर, दोस्रो संविधान सभाले संविधान जारी गर्न सफल भयो। माओवादीका एजेण्डाहरु संविधानमा धेरै समेटिन सकेनन् र प्रचण्डले सोचेको जस्तो कार्यकारी राष्ट्रपति वा पहिचानमा आधारित संघीयता सहितको संविधान बन्न सकेन ।

बाबुरामले पार्टी छोडे
३ असोज ०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भयो। संविधान जारी भएलगत्तै वरिष्ठ उपाध्यक्ष बाबुराम भट्टराई  १० असोज ०७२ मा एमाओवादीलाई भत्केको घरको संज्ञा दिँदै पार्टी छोडेर नयाँ शक्ति बनाउनतिर लागे।

लामो समयदेखि प्रचण्डलाई राजनीतिक–वैचारिकरुपमा साथ दिँदै आएका डा. भट्टराईले साथ छाडेपछि प्रचण्ड थप कमजोर बने । वैचारिक नेता मोहन वैद्यले उनलाई छाडेर हिँडिसकेका थिए । तसर्थ, बाबुरामको पार्टी परित्याग प्रचण्डका लागि ठूलो धक्का बन्न पुग्यो ।

नेकपा विघटन
दोस्रो संविधान सभामा पराजयको झड्कापछि एमाओवादी अध्यक्ष प्रचण्ड पार्टी एकता अभियानमा लागे।३ असोज २०७२ मा संविधान जारी भएपछि उनको सबै ध्यान पार्टी एकीकरणमा लगाएको घटनाक्रमले पुष्टि गर्छ। रामबहादुर थापा बादल, पम्फा भुसाल, देव गुरुङ, हितमान शाक्य, कुलप्रसाद केसी लगायतका प्रभावशाली नेताहरु २ जेठ २०७३ मा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट अलग्गिए। र ७ जेठ २०७३ मा एमाओवादीसँग एकतामा आए।

त्यहीबेला मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टी, मातृका यादवको नेकपा (माओवादी)लगायतको एकता भई एमाओवादीको नाम परिवर्तन भएर नेकपा माओवादी केन्द्र बन्यो। प्रचण्डले केही शान्तिको सास फेरे ।

२०७४ मा स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव भयो। स्थानीय चुनावमा केही ठाउँमा कांग्रेससँग तालमेल गरेको माओवादी केन्द्रले प्रदेश र प्रतिनिधि सभाको चुनावमा एमालेसँग तालमेल ग¥यो। प्रचण्डको यो ट्रिकले सकारात्मक नतिजा दियो। चुनावमा माओवादीले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सीट जित्यो । पछि एमालेसँग पार्टी एकतामा जाने निर्णय प्रचण्डले गरे। ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो।

पार्टीमा केपी ओली र प्रचण्ड अध्यक्ष चयन भए। ९ सदस्यीय सचिवालय बनाइयो। तर, ५ पुस २०७७ मा संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमले नेकपाभित्र गम्भीर समस्या ल्यायो। त्यसले नेकपामा ओली कमजोर हुँदै गए। उनको विकल्प नेतृत्व तयार हुँदै थियो तर, २३ फागुन २०७७ मा सर्वाेच्च अदालतले नेकपा भंग गर्ने फैसला गरिदियो। दुई पार्टी पहिलाकै अवस्थामा आइपुगे।

नेकपा भंग भएपछि माओवादी केन्द्र छाडेर रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, र प्रभु साहहरु एमालेमै बसे । ०६२ सालतिरै माओवादीबाट विद्रोह गरेर पछि घर फर्किएका मणि थापा पनि एमालेतिरै लागे।

३१ साउन २०७९ समय दिउँसोबाट ७ वर्षपछि बाबुराम भट्टराई माओवादी केन्द्रसँग एकता गर्ने गरी चुनाव चिह्नमा उम्मेदवारी दिन तयार भए।

यिनै राजनीतिक उतार चढावका कारण प्रचण्डले निकै हण्डर÷ठक्कर खाएर आएको बताएका हुन्। उनले २०७२ सालमा बाबुरामले माओवादी छाडेर गएपछि दुवैजनाले अनेक ठक्कर खाएको र अब पार्टी एकता गर्ने बताएका छन्।

‘पार्टी फुटेर अलग अलग हिँड्दा हामीले धेरै ठक्कर खायौँ, देशले पनि दुःख पायो’, प्रचण्डले भने, ‘हामी (बाबुराम र म)  मिलेर देशलाई पनि राहत दिन सकिन्छ भनेकाले मिलेका हौँ।’

उनको दाबी छ, पार्टी फुटेर ठेस लागिसकेपछि अब बुद्धि फिरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .