ad ad

राजनीति


प्रदेशले जन्माएका १४ मुख्यमन्त्री, को को ताक्दैछन् सिंहदरबार?

प्रदेशले जन्माएका १४ मुख्यमन्त्री, को को ताक्दैछन् सिंहदरबार?

रुपक चौलागाईं
भदौ ३, २०७९ शुक्रबार ७:१८, काठमाडौँ

पाँच वर्षको अवधिमा सातवटा प्रदेशले १४ जना मुख्यमन्त्री जन्माएको छ। १४ मुख्यमन्त्रीमध्ये अधिकांश आगामी मंसिर ४ को चुनावपछि संघीय संसदमा छिर्ने योजनामा छन् भने केही चाहिँ पुनः मुख्यमन्त्रीकै दौडमा लाग्ने तर्खरमा छन् ।

देशमा पहिलोपटक संघीयताको अभ्यासअन्तर्गत प्रदेशको नेतृत्व गरिसकेका मुख्यमन्त्रीहरु संघमा जान्छन् वा जाँदैनन् भन्ने चासो हुनु स्वाभाविक हो। प्रदेशको नेतृत्व गरिसकेका यी मुख्यमन्त्रीहरूमध्ये केहीले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दाबी पेश गरिसकेका छन् भने केही अझै अलमलमा देखिन्छन्।

सात प्रदेशले जन्माएका १४ मुख्यमन्त्रीमा प्रदेश १ बाट शेरधन राई, भीम आचार्य र राजेन्द्र राई छन् ।

मधेस प्रदेशले एकजना लालबाबु राउत मात्र मुख्यमन्त्री जन्माएको छ ।

बागमती प्रदेशले पनि एक कार्यकालमा तीनजना मुख्यमन्त्री जन्माएको छ। वागमतीबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बनिसकेका छन् ।

गण्डकी प्रदेशले पाँच वर्षको अवधिमा दुईजना मुख्यमन्त्री जन्माएको छ । यहाँबाट पृथ्वीसुब्बा गुरुङ र कृष्ण पोखरेल नेपाली मुख्यमन्त्री बनिसकेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशले शंकर पोखरेल र कुलप्रसाद केसी गरी दुईजना मुख्यमन्त्री जन्माएको छ ।

कर्णाली प्रदेशले पनि पाँच वर्षको अवधिमा महेन्द्रबहादुर शाही र जीवनबहादुर शाही गरी दुईजना मुख्यमन्त्री जन्माएको छ ।

सुदुरपश्चिम प्रदेशले मधेसको जस्तै  त्रिलोचन भट्ट एकजना मात्र मुख्यमन्त्री जन्माएको छ ।

यसअघि प्रदेशमा निर्वाचित भएका अधिकांश सांसदहरु संघको टिकट पाउन दौडधुप गरिरहेका छन्। कतिपयले सिट सुरक्षित गरिसकेका छन् भने कतिपय गठबन्धन र शीर्ष नेताहरुको चेपुवामा छन्।

यसै सन्दर्भमा अहिलेसम्म मुख्यमन्त्री भइसकेकाहरूसँग हामीले अबको निर्वाचनको तयारीबारे जिज्ञासा राखेका छौं :

शेरधन राई
प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेका शेरधन राई यो पटकको निर्वाचनमा प्रतिनिधिसभाबाट उम्मेदवारी दिँदैछन्। राईले आफू भोजपुरबाट प्रतिनिधिसभा निर्वाचनका लागि लड्ने तयारी भएको नेपालखबरलाई जानकारी दिए।

‘प्रदेशमा दोहोरिएर काम गर्ने वातावरण छैन्, योपटक संघमा जाने फाइनल भइसकेको छ,’ राईले भने।

धेरै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन आग्रह भएको भए पनि अहिले भोजपुर छाड्ने अवस्था नभएको उनले बताए। ०७४ को निर्वाचनमा भोजपुर, प्रदेशसभा–२ बाट राई २० हजार ३ सय ३४ मतसहित निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्द बहादुर कार्कीले ७ हजार १ सय ५ मत ल्याएका थिए।

भीम आचार्य
प्रदेश १ को दोस्रो मुख्यमन्त्री बनेका भीम आचार्य यो पटक सुनसरीबाटै निर्वाचन लड्ने तयारीमा छन्।  सकेसम्म प्रतिनिधिसभाकै टिकट ल्याउनेगरी केन्द्रमा दौडधुप गरिरहेका छन्।

०७४ को निर्वाचनमा सुनसरी, क्षेत्र नम्बर १ को प्रदेश (ख) बाट आचार्य २० हजार २ सय ११ मतसहित विजयी भएका थिए। आचार्यका प्रतिस्पर्धी कांग्रेसका बुद्धिबहादुर कटुवालले १२ हजार ९ सय ६४ मत ल्याएका थिए।

माधव नेपाल समूहमा रहेर पछि एमालेमा बसेका आचार्य तेस्रो धारका नेता हुन् ।

राजेन्द्र राई
प्रदेश १ का बहालवाला मुख्यमन्त्री राजेन्द्र राई भोजपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन्। उनी भोजपुर क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए।

उनी अहिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा छन्। गठबन्धनकै भागवण्डामा मुख्यमन्त्री बनेका राई यो पटक प्रतिनिधिसभा लड्ने तयारीमा रहेको उनी निकट नेताहरु बताउँछन्।

तर, गठबन्धनभित्रको भागवण्डाले उनलाई संघको टिकट पाउन भने मुस्किल छ। किनभने संघमा भोजपुरबाट सुदन किराती गठबन्धनका दाबेदार हुन् ।

गत चुनावमा मुख्यमन्त्री राईले भोजपुरबाट १९ हजार २ सय ९७ मत ल्याएर प्रदेशसभामा जितेका थिए। उनका प्रतिस्पर्धी तत्कालिन संघीय समाजवादी फोरमका अनम्बर राई काङमाङले ११ हजार ५ सय ४१ मत ल्याएका थिए।

लालबाबु राउत
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत योपटक पनि प्रदेशसभाबाटै निर्वाचन लड्ने मुडमा छन्। राउतको निजी सचिवालयले दिएको जानकारी अनुसार यो निर्वाचनमा प्रदेशबाटै निर्वाचन लड्ने तयारी भइरहेको छ।

स्वकीय सचिव दीपक यादवले मुख्यमन्त्री राउत यो पटक प्रदेशबाटै निर्वाचनमा सहभागी हुने जानकारी दिए।

‘उहाँ पार्टीको कार्यकारिणी सदस्य पनि हुनुहुन्छ,’ यादवले भने, ‘पार्टीले अन्य निर्णय गरेको खण्डमा पुनर्विचार होला, नत्र प्रदेशमै निर्वाचन लड्ने तयारी छ।’

पर्सा क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट ०७४ को निर्वाचनमा राउत निर्वाचित भएका थिए। तत्कालीन संघीय समाजवादी फोरमबाट ९ हजार ८ सय ४ मतसहित राउत निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय कुमार सरौफले ६ हजार ८ सय २९ मत ल्याएका थिए।

डोरमणि पौडेल
बागमती प्रदेशमा पहिलो मुख्यमन्त्रीको कार्यकाल सम्हालेका एमालेका डोरमणि पौडेल यो पटकको निर्वाचनमा आफू सहभागी नहुने बताउँछन्। प्रदेश र प्रतिनिधिसभा दुवैतिर आफ्नो दाबी नभएको भन्दै अबको निर्वाचनमा युवालाई स्थान दिनपर्ने पौडेलले तर्क गरे।

‘मेरो अन्तरमनदेखि नै भन्दैछु, यो पटकको निर्वाचनमा मेरो कहीँ पनि उम्मेदवारी रहँदैन,’ पौडेलले नेपालखबरसँग भने, ‘कतैबाट पनि दबाब भएर होइन, अब हामी अभिभावक भएर युवालाई स्थान दिनुपर्छ भन्ने लागेको छ।’

पौडेल ०७४ को निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए। नेकपा एमालेबाट निर्वाचित भएका पौडेलले २० हजार ७ सय ३ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अशोकराज शाक्यले १६ हजार ५ सय ८१ मत ल्याएका थिए।

अष्टलक्ष्मी शाक्य
बागमती प्रदेशको दोस्रो तथा देशकै पहिलो महिला मुख्यमन्त्री हुन्, अष्टलक्ष्मी शाक्य। ०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ प्रदेशसभा (क) बाट निर्वाचित भएकी शाक्य यो पटक पार्टी निर्णय कुरेर बसेकी छिन्।

सकेसम्म यो निर्वाचनमा उम्मेदवारी नदिने र युवालाई नै साथ दिने पक्षमा रहेको शाक्यले नेपालखबरलाई बताइन्। ‘उमेर पनि ढल्कँदो छ, यो पटकको निर्वाचनमा उम्मेदवारी दिइँदैन होला,’ शाक्यले नेपालखबरसँग भनिन्, ‘विस्तृतमा अध्यक्षसँग छलफल गर्नै बाँकी छ।’

तर, निर्वाचनमा उम्मेदवारी दिएको खण्डमा प्रदेशसभामा भने नदोहोरिने उनले बताइन्। ‘पार्टीले आवश्यकता देखेर उठ्नपर्छ भनेको खण्डमा प्रदेशसभा नै दोहोरिने सोच छैन,’ उनले भनिन्, ‘त्यो अवस्थामा प्रतिनिधिसभामा नै हुन्छ।’

०७४ को निर्वाचनमा शाक्य ५ हजार १६९ मत ल्याएर विजयी भएकी थिइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवरत्न डंगोलले ३ हजार ६६९ मत पाएका थिए।

राजेन्द्र प्रसाद पाण्डे
बागमती प्रदेशका बहालवाला मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे भने यो पटक प्रतिनिधिसभामा आफ्नो उम्मेदवारी दाबी गर्ने लाइनमा छन्। आफूले प्रतिनिधिसभा निर्वाचनमा लड्ने तयारी गरेको पाण्डेले बताए।

आफू धादिङ क्षेत्र नम्बर १ बाटै उम्मेदवार हुने तयारीमा रहेको उनले बताए। यद्यपि पार्टी र गठबन्धनका नेताहरुको स्पिरिट अनुसार चल्ने पाण्डे बताउँछन्।

‘मेरो स्वाभाविक दाबी प्रतिनिधिसभामा रहन्छ, यसबारे पार्टीमा छलफल गर्न पाएको छैन्,’ पाण्डेले भने।

पाण्डे अहिले नेकपा एकीकृत समाजवादीको तर्फबाट बागमती प्रदेशका मुख्यमन्त्री बनेका हुन्। गत ०७४ को निर्वाचनमा भने उनी एमालेबाट निर्वाचित भएका थिए।

धादिङ क्षेत्र नम्बर १ प्रदेससभा (क)बाट निर्वाचित भएका पाण्डेले त्यतिबेला २७ हजार ३ सय ३२ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका मदु कुमार श्रेष्ठले १३ हजार ६ सय ४७ मत प्राप्त गरेका छन्।

पृथ्वीसुब्बा गुरुङ
नेकपा एमालेका प्रभावशाली नेतामध्येका एक हुन्, पृथ्वीसुब्बा गुरुङ। गुरुङले संघीयता कार्यान्वयनका सवालमा बेला बेलामा प्रश्न उठाइरहेका हुन्छन्। ०७४ को निर्वाचनमा लमजुङ क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका थिए।

गण्डकीको पहिलो कार्यकाल मुख्यमन्त्रीको रुपमा चलाइसकेका गुरुङले यो पटक प्रतिनिधिसभामै प्रतिस्पर्धा गर्ने योजनामा छन्।

उनले ०७४ मा २३ हजार ८८ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी कृष्णप्रसाद कोइरालाले १५ हजार १ सय २ मत प्राप्त गरेका थिए।

कृष्ण पोखरेल नेपाली
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण पोखरेल नेपाली नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ (क)बाट निर्वाचित भएका हुन्।

उनी यो पटक प्रतिनिधिसभा निर्वाचनमा लड्ने तयारीमा छन्। तर, गठबन्धनको भागवण्डा नमिलेको खण्डमा प्रदेशसभामै बस्न पनि तयार रहेको उनले बताएका छन्।

०७४ को निर्वाचनमा पोखरेल एमाले माओवादीको वाम गठबन्धनलाई हराएर निर्वाचित भएका थिए। उनले १७ हजार ६८३ मत ल्याउँदा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सूर्यप्रसाद न्यौपानेले १७ हजार ३८१ मत ल्याएका थिए।

पोखरेल आफ्नो क्षेत्रमा बलियो भएका कारणले पनि यो पटक उनलाई प्रतिनिधसभा निर्वाचनको टिकट हात पार्न सहज हुने नेताहरुको अनुमान छ।

शंकर पोखरेल
लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री एवं एमाले महासचिव शंकर पोखरेल ०७४ कै निर्वाचनमा प्रतिनिधिसभामा उठ्न चाहन्थे। तर, वाम गठबन्धनको चेपुवामा परेर उनी दाङ क्षेत्र नम्बर २ (क) मा झरेका थिए।

पोखरेलको सचिवालयका एक सदस्यका अनुसार यो पटक उनले कुनै हालतमा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनेछन्। ‘पहिला पनि चाहेर प्रदेशमा जानुभएको होइन,’ ती सदस्यले नेपालखबरसँग भने, ‘यो पटक प्रदेशसभामा उठ्ने कुनै सम्भावना छैन।’

एमाले महासचिव पोखरेलले यो पटक दाङ क्षेत्र नम्बर २ बाटै प्रतिनिधिसभामा उम्मेदवारी दिँदैछन्।

०७४ को निर्वाचनमा पोखरेल २० हजार ७ सय २३ मत प्राप्त गरेर विजयी भएका थिए।  उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कमलकिशोर शर्मा घिमिरेले ११ हजार १ सय ७२ मत ल्याएका थिए।

कुलप्रसाद केसी
लुम्बिनी प्रदेशका बहालवाला मुख्यमन्त्री कुलप्रसाद केसी यो पटको निर्वाचनमा छड्के दाउ हेरेर बसिरहेका छन्। सत्ता गठबन्धनले गरेको निर्णयका आधारमा आफ्नो निर्वाचन क्षेत्र तय गर्ने तयारीमा केसी छन्। उनी ०७४ को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए।

‘सत्ता गठबन्धनको भागबण्डामा लुम्बिनी प्रदेश माओवादीले राखेको खण्डमा उहाँ प्रदेशमै लड्नुहुन्छ,’ केसी निकट एक नेताले भने, ‘अन्यथा प्रतिनिधिसभामा पनि जाने सम्भावना छ।’

त्यसो त रोल्पामा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन प्रतिनिधिसभामा उठ्नेछन्। एउटा मात्र निर्वाचन क्षेत्र भएका कारणले रोल्पा छाडेर लुम्बिनी प्रदेशको अन्य जिल्लाबाट केसीले चुनाव लड्न सक्ने ती नेताले बताए।

केसीले ०७४ को निर्वाचनमा १८ हजार ५ सय १२ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शेरबहादुर महराले १० हजार ४ सय १ मत प्राप्त गरेका थिए।

महेन्द्रबहादुर शाही
कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्र बहादुर शाही यो पटक सिंहदरबार छिर्ने योजनामा छन्। मुख्यमन्त्री हुँदा उनकै सचिवालयमा बसेर काम गरेका ध्रुब बुढाथोकी अनुसार शाही कालिकोटबाट प्रतिनिधिसभा निर्वाचनमा उठ्नेछन्।

‘उहाँ प्रदेशसभामा फर्कने कुरा छैन,’ उनले नेपालखबरसँग भने, ‘यो पटक आफ्नै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा लड्ने तयारी छ’

०७४ को निर्वाचनमा शाही कालिकोट क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित भएका थिए। १२ हजार १५३ मतसहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीबहादुर शाहीले ९ हजार ३४२ मत प्राप्त गरेका थिए।

पूर्वमुख्यमन्त्री शाही ०७४ को चुनावअघि संघीय सरकारको उर्जामन्त्री बनिसकेका नेता हुन् ।

जीवनबहादुर शाही
कर्णाली प्रदेशका बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही आम निर्वाचनमा के गर्ने भन्नेबारे पार्टीको निर्णय कुरेर बसिरहेको बताउँछन्।

प्रदेशसभामा एकपटक निर्वाचित भएर सरकारमा समेत काम गरिसकेको भन्दै प्रतिनिधिसभामा आफ्नो दाबी स्वाभाविक भएको शाही बताउँछन्। तर, केन्द्रबाट गठबन्धनलाई सहज हुनेगरी भएको निर्णय स्वीकार गर्ने उनले बताए।

‘मैले यहाँ नै लड्छु भनेर दाबी गरेको छैन,’ शाहीले नेपालखबरसँग भने, ‘केन्द्रमा भागवण्डाको विषयमा छलफल भइरहेको छ, मेरो स्वाभाविक दाबी त प्रतिनिधिसभामै रहन्छ।’

०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट हुम्ला क्षेत्र नम्बर १ (ख) मा शाही निर्वाचित भएका थिए। उनले ४ हजार ५१९ मत ल्याएका थिए भने प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विजय भण्डारीले ३ हजार ९९५ मत पाएका थिए।

त्रिलोचन भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन्। उनी यो पटक प्रतिनिधिसभाबाट उठ्ने तयारीमा छन्। उनको निर्वाचन क्षेत्रमा कांग्रेसको मत पनि कमजोर छैन। ०७४ को निर्वाचनमा भट्टले १६ हजार ९१ मत ल्याउँदा कांग्रेसका योगेन्द्रबहादुर शाहीले १३ हजार ४९५ मत प्राप्त गरेका थिए।

०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो भने कांग्रेस एक्लै मैदानमा थियो।

‘गठबन्धनमा भागवण्डा मिलेको खण्डमा डोटी वा अन्य कुनै जिल्लाबाट पनि प्रतिनिधिसभामा उठ्न सक्नुहुन्छ,’ भट्ट निकट भएर काम गरेका एक नेताले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .